जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेशको संसदीय दलको नेतामा पूर्व मुख्यमन्त्री सरोजकुमार यादव चयन हुनुभएको छ ।
संसदीय दलको आज बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।
जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बीचमा एकता भए पनि मधेश प्रदेशमा एकता नभएका कारण दुवै दलको छुट्टाछुट्टै संसदीय दलका नेता तथा कार्यालयहरू रहेका थिए ।
सङ्घमा एक भएजस्तै प्रदेश स्तरमा समेत दुवै दलबीच एकताको टुङ्गो लागिसकेपछि मधेश प्रदेशको दलको नेतामा पूर्व मुख्यमन्त्री यादव सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।
मधेस प्रदेशसभामा जसपा तथा लोसपा एक भएर जसपा नेपाल भएपछि मधेश प्रदेशमा २६ प्रदेशसभा सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ ।
जसपा नेपालका दुई जना प्रदेशसभा सदस्य हाल निलम्बनमा छन् । एक जनामाथि भ्रष्टाचारको मुद्दा र अर्का एक जनामाथि मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको फैसलापछि निलम्बनमा हुनुहुन्छ ।
यसअघि मधेशमा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले अब २४ जना प्रदेशसभा सदस्यसहित दोस्रो ठूलो दल बनेको छ भने नेपाली कांग्रेस २२ जना प्रदेशसभा सदस्य सहित तेस्रो ठूलो दल बनेको छ । नेपाली कम्युनिष्ट पार्टी १५ प्रदेशसभा सदस्यसहित चौथो, जनमतका १२ प्रदेशसभा सदस्यसहित पाँचौँ दल बनेको छ ।
प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एक÷एक जना प्रदेशसभा सदस्य छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया