धनगढी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारविरुद्ध आन्दोलनको वातावरण तयार पारिरहेको बताएका छन्। धनगढीमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको प्रथम एकता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारका गतिविधिविरुद्ध विभिन्न राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई आन्दोलनका लागि संगठित गरिरहेको दाबी गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले देशका विभिन्न स्थानमा भइरहेको सुकुम्बासी आन्दोलन स्वतःस्फूर्त नभई आफ्नो पार्टीको पहल र सक्रियतामा भइरहेको उल्लेख गरे। उनले सरकारले भारतबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा कर लगाउने निर्णय गरेर सीमावर्ती क्षेत्रका गरिब तथा निमुखा नागरिकमाथि अन्याय गरेको आरोप लगाए।
उनले वर्तमान सरकारले जनताको दैनिक जीवनसँग जोडिएका विषयमा असंवेदनशील ढंगले निर्णय गरिरहेको आरोप लगाउँदै सीमामा आश्रित नागरिकको जीवनयापन थप कठिन बनाइएको बताए। दाहालले यस्तो निर्णयले सामान्य नागरिक प्रत्यक्ष मारमा परेको जिकिर गरे।
यसैगरी उनले सरकारमाथि न्यायालयमा हस्तक्षेप गर्न खोजेको आरोप पनि लगाए। न्यायपालिका स्वतन्त्र हुनुपर्ने भन्दै उनले सरकारको गतिविधिले लोकतान्त्रिक मूल्य र संस्थामाथि दबाब सिर्जना भएको दाबी गरे।
दाहालले विद्यार्थी संगठन र ट्रेड युनियनको लोकतान्त्रिक अधिकारमाथि पनि सरकारले अंकुश लगाउने प्रयास गरिरहेको आरोप लगाए। उनले लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप भइरहेकाले त्यसविरुद्ध व्यापक आन्दोलनको आवश्यकता रहेको बताए।
उनका अनुसार सरकारको पछिल्लो कार्यशैलीका कारण विभिन्न राजनीतिक शक्ति, नागरिक समाज र आम नागरिकमा असन्तुष्टि बढ्दै गएको छ। यही असन्तुष्टिलाई संगठित गर्दै आन्दोलनलाई सशक्त बनाउने तयारी भइरहेको दाहालले बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया