जेठ ९, २०८३ शनिबार May 23, 2026

१५औं महाधिवेशन तयारीमा कांग्रेस : नुवाकोटमा सदस्यता अध्यावधिक अभियान सुरु

शेखर र प्रकाशशरण पक्ष एकै ठाउँमा, नुवाकोटमा रोकिएको सदस्यता प्रक्रिया सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । लामो समयदेखि विवाद, आन्तरिक रस्साकस्सी र नेतृत्व तहबीचको असमझदारीका कारण रोकिएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक तथा नवीकरण प्रक्रिया अन्ततः नुवाकोट निर्वाचन क्षेत्र नम्बर–१ मा सुरु भएको छ। यसलाई जिल्लाको कांग्रेस राजनीतिमा महत्त्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।

शनिबार लिखु गाउँपालिका–४ चौघडामा बसेको नेपाली कांग्रेस क्षेत्रीय समिति बैठकले क्रियाशील सदस्यता अध्यावधिकसहित पार्टीका सम्पूर्ण सांगठनिक गतिविधि अघि बढाउने निर्णय गरेको हो। बैठकले वडा समितिहरूलाई अध्यावधिकको काम छिटो सम्पन्न गर्न निर्देशनसमेत दिएको छ।

कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य अष्ट काव्यको प्रमुख आतिथ्यता, केन्द्रीय प्रतिनिधि रामप्रसाद अधिकारीको विशेष आतिथ्यता तथा प्राविधिक एवं नेविसंघ नेता रोशन यादवको उपस्थितिमा सम्पन्न भएको थियो। बैठकले लामो समयदेखि रोकिएको सदस्यता अध्यावधिक प्रक्रियालाई सहमतिका साथ अघि बढाउने वातावरण तयार भएको जनाएको छ।

विशेष चासोको विषय के बनेको छ भने, डा. शेखर कोइराला समूह निकट मानिने जिल्ला सभापति रमेश महत र डा. प्रकाशशरण महत निकट मानिने क्षेत्रीय सभापति धुर्व श्रेष्ठ दुवैले एउटै बैठकबाट आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गराएका छन्। कांग्रेसभित्र देखिएको समूहगत ध्रुवीकरणका बीच यी दुई नेताको एकैसाथ अध्यावधिक प्रक्रियामा सहभागी हुनु नुवाकोट कांग्रेसमा अर्थपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

जिल्ला सभापति रमेश महतले पार्टीको वैधानिक नेतृत्वले दिएको निर्देशनअनुसार आफूले सदस्यता अध्यावधिक गरेको स्पष्ट पार्दै व्यक्तिगत सम्बन्धभन्दा पार्टीको नीति र निर्णयलाई प्राथमिकता दिने बताएका छन्।

उनले भने, “व्यक्तिगत रूपमा म डा. शेखर कोइराला निकट हुन सक्छु, नुवाकोटमा रामशरण महत र प्रकाशशरण महतको भतिज पनि हुँ, तर पार्टीको निर्णय र नीति अनुसार नै अघि बढ्छु।”

त्यसैगरी, क्षेत्रीय सभापति धुर्व श्रेष्ठले पनि सोही बैठकमार्फत आफ्नो सदस्यता अध्यावधिक गराएका छन्।

May be an image of one or more people, people studying and textकार्यक्रममा बोल्दै केन्द्रीय सदस्य अष्ट काव्यले अहिले सदस्यता नवीकरण नभई अध्यावधिक मात्र गरिएको स्पष्ट पार्दै पार्टीलाई डिजिटल प्रणालीमा लैजान खोजिएको बताए। उनले सबै सदस्यलाई अनिवार्य रूपमा अध्यावधिक गर्न आग्रह गरे।

उनले भने,“अब पार्टीलाई डिजिटल प्रणालीमा लैजान खोजिएको छ। त्यसैले प्रत्येक क्रियाशील सदस्यले आफ्नो विवरण अध्यावधिक गर्नु आवश्यक छ।”

May be an image of one or more people, people smiling and treeकेन्द्रीय प्रतिनिधि रामप्रसाद अधिकारीले पनि क्रियाशील सदस्यलाई डिजिटाइजेशन प्रक्रियामा जोड्ने उद्देश्यले अध्यावधिक अभियान सञ्चालन गरिएको उल्लेख गर्दै १५औँ महाधिवेशनको तयारीकै रूपमा यसलाई लिनुपर्ने बताए। अध्यावधिक नगरेका सदस्यले आगामी महाधिवेशनमा भाग लिन नपाउने उनको भनाइ थियो।

बैठकमा क्षेत्रीय समितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा कांग्रेसका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
२०८३ जेठ ९, शनिबार
ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण
२०८३ जेठ ९, शनिबार
अन्तर्राष्ट्रिय महिला भलिबल : किर्गिस्तानमाथि नेपालको ३-० को जित
२०८३ जेठ ९, शनिबार
अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाको उल्लेखनीय योगदान छ – मुख्यमन्त्री शाह
२०८३ जेठ ९, शनिबार
१५औं महाधिवेशन तयारीमा कांग्रेस : नुवाकोटमा सदस्यता अध्यावधिक अभियान सुरु
२०८३ जेठ ९, शनिबार
जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या घट्यो
२०८३ जेठ ९, शनिबार
इबोला सङ्क्रमीत मुलुकबाट अमेरिका प्रवेशमा प्रतिवन्द
२०८३ जेठ ९, शनिबार