जेठ ११, २०८३ सोमबार May 25, 2026

सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता

राजदूत पार्कले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ११ जेठः प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । नेपालमा नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको सभामुख अर्यालले बताउनुभयो ।

नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सभामुख अर्यालले दुई देशका सांसदहरुबीच अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा लगानी गर्न आग्रहसमेत गर्नुभयो ।

सभामुख अर्यालले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवाको सिधा सिओल उडानका लागि सहजीकरण गर्न पनि कोरियाली सरकारसँग अनुरोध गर्नुभयो । नेपाल–कोरिया सम्बन्ध सरकारस्तरमा मात्र नभई जनताबीचको सम्बन्धका रूपमा समेत विकसित भएको उहाँको भनाइ थियो ।

राजदूत पार्कले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारी क्षेत्रमा सहकार्य जारी रहेको बताउनुभयो । उहाँका अनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत हालसम्म करिब एक लाख २० हजार नेपालीले कोरियामा रोजगारीको अवसर पाएका छन् भने ५० हजार नेपाली हाल त्यहाँ कार्यरत छन् ।

राजदूत पार्कले नेपाली कामदारले कोरियाको उत्पादनमूलक तथा कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै श्रमिकको स्वास्थ्य, सुरक्षा र सम्मानमा कोरिया सरकार संवेदनशील रहेको बताउनुभयो । विदेशबाट फर्किएका नेपालीलाई पुनःस्थापना तथा उद्यमशीलतामा सहयोग गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया