काठमाडौं, जेठ १५ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको बताएका हुन् । उनले भनेका छन्, ‘नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो। यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि हो। तसर्थ, संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई छैन।’
उनले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै, राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
उनले भनेका छन्, ‘संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै, राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता हो। जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हो। ‘गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो।’ त्यसका लागि समावेशी, पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्दै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई झनै मजबुत बनाउनु अपरिहार्य छ।’
उनले मुलुकलाई समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच एकता आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्, ‘आज देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच एकता आवश्यक छ। सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण गर्नु हाम्रो साझा राष्ट्रिय संकल्प हो । हामीबीच राजनीतिक मतभेद हुनसक्छन्, संसदीय परिपाटीमा संख्यात्मक अंकगणित फरक हुनसक्छ, तर राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ। संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो। परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति हामी सचेत रहनुपर्छ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया