काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन अभियानलाई प्रभावकारी बनाउन प्रदेशस्तरबाट सुझाव संकलन प्रक्रिया सुरु गरेको छ। गत फागुन २१ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित गठन गरिएको कार्यदलले शनिबार बागमती प्रदेशबाट सुझाव संकलन अभियानको औपचारिक सुरुवात गरेको हो।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार बागमती प्रदेश सङ्गठन कमिटीको समन्वयमा सुझाव संकलन कार्यक्रम सञ्चालन गरिएको हो। शुक्रबारदेखि सुरु भएको बागमती प्रदेश सङ्गठन कमिटीको बैठकपछि आयोजित विशेष भेलामा पार्टीका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यदलले संगठनात्मक सुधार, जनसम्बन्ध विस्तार, पार्टी संरचना सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिसम्बन्धी सुझाव संकलन गरिरहेको जनाएको छ।
गत जेठ १० गते बसेको एमाले सचिवालयको आठौँ बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। जेठ २६ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको कार्यदलको पहिलो बैठकले प्रदेशस्तरीय सुझाव संकलनको कार्यतालिका तय गरेको थियो। सोही तालिकाअनुसार असार २ गते कोशी, असार ४ गते लुम्बिनी, असार ६ गते सुदूरपश्चिम, असार ८ गते कर्णाली, असार ११ गते गण्डकी, असार १३ गते मधेस, असार १६ गते राजधानी विशेष तथा असार १७ गते सम्पर्क समन्वय विशेष प्रदेशमा सुझाव संकलन गरिनेछ।
कार्यदलले प्रदेशस्तरका भेलापछि जनसंगठन, केन्द्रीय विभाग तथा विभिन्न निकायका पदाधिकारीहरूसँग पनि छलफल गरी सुझाव लिने तयारी गरेको छ। एमालेले प्राप्त सुझावका आधारमा संगठन पुनर्गठन, कार्यशैली सुधार तथा पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने योजना अघि बढाउने जनाएको छ। पार्टी नेतृत्वले यस अभियानलाई संगठन सुदृढीकरण र जनविश्वास अभिवृद्धिको महत्वपूर्ण आधारका रूपमा लिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया