काठमाडौँ, असार ५ गते । अमेरिका र इरानबिच युद्ध अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेस्कियनले शान्ति सम्झौतामा बेग्लाबेग्लै हस्ताक्षर गर्नुभएको छ ।
अमेरिकाले इजरायलसँग मिलेर गत फेबु्रअरी २८ मा इरानमाथि आक्रमण गरेसँगै भीषण युद्ध सुरु भएको हो । यो युद्धमा इरानले उच्च नेतृत्व गुमाउनुका साथै ठुलो जनधनको क्षति भोगेको छ ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले फ्रान्सको भर्साइल्स दरबारमा बुधबार आयोजित रात्रिभोजमा शान्ति सम्झौतामा डिजिटल हस्ताक्षर गर्नुभयो । त्यसलगत्तै इरानका राष्ट्रपति पेजेस्कियनले तेहरानमा डिजिटल हस्ताक्षर गर्नुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । शान्ति सम्झौताले शत्रुताको स्थायी अन्त्यको आह्वान गरेको छ ।
भर्साइल त्यही दरबार हो, जहाँ शताब्दीयौँदेखि युद्ध वा क्षेत्रीय विवादहरू अन्त्य गर्न धेरै ऐतिहासिक सम्झौतामा हस्ताक्षर भइसकेका छन् । ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई छेउमा राखेर शान्ति सम्झौताको प्रतिलिपिमा हस्ताक्षर गर्नुभयो । त्यसपछि ट्रम्पले कागजात र कलम अमेरिकाका विदेशमन्त्री मार्को रुबियोलाई हस्तान्तरण गर्नुभयो । अनि रात्रिभोजमा उपस्थित भएका सबैले ताली बजाए । रात्रिभोजबाट बाहिरिँदै गर्दा राष्ट्रपति ट्रम्पले शान्ति सम्झौतामा हस्ताक्षर भइसकेको पुष्टि गर्नुभयो ।
यसअघि शुक्रबार स्विजरल्यान्डको जेनेभामा दुवै देशका प्रतिनिधिहरूले शान्ति सम्झौतामा हस्ताक्षर गर्नेसम्बन्धी समाचार सम्प्रेषण गरेका थिए । तर ट्रम्पले फ्रान्समा सम्पन्न जी–७ सम्मेलनकै क्रममा सात प्रमुख औद्योगिक राष्ट्रका नेताहरूकै रोहबरमा हस्ताक्षर गर्नुभएको हो । ‘संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबिचको इस्लामावाद समझदारी’ नाम दिइएको उक्त शान्ति सम्झौतामा १४ वटा बुँदा दिएर विभिन्न सहमति गरिएका छन् । शान्ति सम्झौतामा तेहरानले आफ्नो उच्च स्तरमा संवर्धित युरेनियमको भण्डारलाई घटाउने र इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्ध फुकुवा गर्ने उल्लेख छ । दुवै देशद्वारा सार्वजनिक गरिएका विवरण अनुसार यसले इरानलाई तत्कालै आफ्नो तेल स्वतन्त्र रूपमा बिक्री गर्न अनुमति दिएको छ । राष्ट्रपति ट्रम्प र राष्ट्रपति पेजेस्कियनले शान्ति सम्झौतामा भर्चुअल हस्ताक्षर गरेपछि प्रारम्भिक चरणको वार्ता स्विट्जरल्यान्डमा गर्ने तयारी भइरहेको विभिन्न समाचार माध्यमले जनाइएका छन् ।
स्विट्जरल्यान्डमा वार्ताको तयारी
रोयटर्सका अनुसार शुक्रबार स्विट्जरल्यान्डको बुर्गेनस्टक माउन्टेन्टप रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ । वार्ताको तालिका र विवरण भने सार्वजनिक गरिएको छैन । त्यहाँको विदेश मन्त्रालयले पश्चिम एसियाको शान्ति र सुरक्षालाई आफ्नो विदेश नीतिको प्राथमिकता भन्दै विज्ञप्ति जारी गरेको छ ।
राष्ट्रपति ट्रम्प र राष्ट्रपति पेजेस्कियनले दुई देशबिचको शत्रुता अन्त्य गर्ने, हर्मुज जलमार्ग पुन: खोल्ने र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता गर्न ६० दिनको प्रक्रिया सुरु गर्ने उद्देश्यले १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको सिएनएनले जनाइएको छ ।
पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले अमेरिका र इरानबिचको शान्ति सम्झौतामा दुवै देशका नेताले विद्युतीय हस्ताक्षर गरेको जनाउँदै यसको प्रभाव तत्काल देखिन थालेको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री सरिफले उक्त शान्ति सम्झौतामा अमेरिका र इरानका राष्ट्रपतिले हस्ताक्षर गरेको र मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानले समर्थन गरेको उल्लेख गर्नुभएको हो ।
इस्लामाबाद एमओयुले इरानले तुरुन्तै हर्मुजको जलमार्ग पुन: खोल्ने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले अमेरिकाले शान्ति सम्झौताको कार्यान्वयनपछि प्रारम्भिक चरणमा हर्मुज जलमार्गबाट आफ्नो सेना र नाकाबन्दी हटाउने पुष्टि गर्नुभएको छ ।
सम्बन्धित पक्षको सरकारको उच्च स्तरबाट यो सम्झौतामा भएको हस्ताक्षरले द्वन्द्वको कूटनीतिक समाधानका लागि दुवै पक्षको प्रतिबद्धता देखाएको सरिफले बताउनुभएको छ । पाकिस्तानले सहमध्यस्थकर्ता कतारको सहयोगमा शुक्रबार स्विट्जरल्यान्डमा सम्झौताको सम्झना गर्न र दुई पक्षबिच प्राविधिक स्तरको वार्ता सुरु गर्न आधिकारिक समारोहको आयोजना गर्ने उहाँले पुष्टि गर्नुभएको छ ।
प्रधानमन्त्री सरिफले कतारको सहमध्यस्थकर्ताको नेतृत्वको रचनात्मक संलग्नतालाई स्वीकार गर्दै सम्झौतालाई सहज बनाउन साउदी अरेबिया, टर्की र इजिप्टको योगदानको समेत प्रशंसा गर्नुभएको छ । उहाँले यो शान्ति सम्झौताले बृहत्तर समझदारी, आपसी सम्मान र साझा समृद्धिका लागि स्थायी आधारका रूपमा काम गर्ने आशासमेत व्यक्त गर्नुभएको छ ।
इरानको सरकारी समाचार संस्था इर्नाले जनाए अनुसार राष्ट्रपति पेजेस्कियनले इरानका तर्फबाट शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सो समाचार संस्थाले पेजेस्कियन र ट्रम्पको हस्ताक्षरसहितको शान्ति सम्झौतापत्र पनि सार्वजनिक गरेको छ ।
विश्व बजारमा उत्साह
अमेरिका र इरानका राष्ट्रपतिले शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै विश्ववासीले राहतको अनुभव गरेका छन् । बजारमा उत्साह देखिएको छ । करिब चार महिना लामो युद्ध समाप्त हुने र रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुन: खुल्ने निश्चित भएपछि विश्वव्यापी आर्थिक सूचकहरू सकारात्मक देखिएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । इरानी तेल बजारमा फर्कने र आपूर्ति शृङ्खला सहज हुने आशामा तेलको मूल्य बहु–महिनाकै न्यून विन्दुमा झरेको छ । विश्वव्यापी सेयर बजारमा उत्साह थपिएको छ । युद्ध अन्त्यको खबरले लगानीकर्ताको आत्मविश्वास बढाउँदा विश्वभरका प्रमुख सेयर बजारहरू ऐतिहासिक उचाइतर्फ अगाडि बढेका छन् । हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउँदा विश्वव्यापी व्यापार मार्ग स्थिर हुने छ । यसले गर्दा इन्धनको ढुवानी लागत घट्ने र युद्धका कारण बढ्दै गएको वैश्विक आर्थिक मन्दी तथा महँगीको खतरा टर्ने विश्वास विश्लेषकहरूले गरेका छन् ।
शान्ति सम्झौताका मुख्य बुँदा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया