असार २०, २०८३ शनिबार July 4, 2026

जगदुल्ला जलविद्युत्को सुरुङ निर्माण सुरु

परियोजनाको कुल ऋण लगानी करिब १६ अर्ब ६६ करोड रुपियाँ स्वदेशी बैङ्क तथा वित्तीय संस्थाबाट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २० गते । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण थालनी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४, इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको आरम्भ गर्नुभएको हो ।

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत सङ्घ प्रदेश र स्थानीय तहको संयुक्त लगानी तथा स्वमित्वमा निर्माण भइरहेको यो आयोजना पूर्णतः स्वदेशी लगानीमा निर्माण हुन लागेको हो । कम्पनीले डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका क्षेत्रमा १०६ मेगावाटको जगदुल्ला तथा १२४.३५ मेगावाटको जगदुल्ला–ए गरी कुल २३०.३५ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त आयोजना विकास गरिरहेको जनाएको छ ।

आयोजनाले विद्युत् उत्पादनसँगै डोल्पाको भौतिक पूर्वाधार विकासमा पनि उल्लेखनीय योगदान दिएको कम्पनीको दाबी छ । कम्पनीले आफ्नै लगानीमा भेरी नदीमाथि एक सय मिटर लामो पक्की पुल, त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डमा पहुँच मार्ग तथा १० वटा बेली पुल निर्माण गरिसकेको छ । सडक पहुँच विस्तारसँगै डोल्पाको यातायात अवस्थामै उल्लेखनीय परिवर्तन आएको कम्पनीले जनाएको छ । विगतमा नेपालगन्जबाट डोल्पा पुग्न तीन दिनभन्दा बढी लाग्ने अवस्था रहेकोमा अहिले एकैदिनमा यात्रा सम्भव भएको छ भने दुनै–काठमाडौँ रात्रिबस सञ्चालनको वातावरणसमेत बनेको छ ।

सरकारी निकायको बहुमत स्वामित्वमा निर्माण हुन लागेको यस परियोजनामा सरकारी निकाय, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहको संयुक्त ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहने व्यवस्था गरिएको छ ।

स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर सुरक्षित गरिएको छ भने प्रसारण लाइनको मार्गाधिकारभित्र पर्ने जग्गाधनीलाई थप तीन प्रतिशत सेयर उपलब्ध गराइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

परियोजनाको कुल ऋण लगानी करिब १६ अर्ब ६६ करोड रुपियाँ स्वदेशी बैङ्क तथा वित्तीय संस्थाबाट जुटाइएको छ । नबिल बैङ्क, कर्मचारी सञ्चय कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल), लक्ष्मी सनराइज बैङ्क, एभरेस्ट बैङ्क र एनआइसी एसिया बैङ्कको सहलगानीमा वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया