असार २५, २०८३ बिहिबार July 9, 2026

घरजग्गा कारोबारमा उत्साह

तेस्रो त्रैमाससम्म १८३ अर्ब ९० करोडको कारोबार, काठमाडौंमा उच्च आकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा देशभरको घरजग्गा कारोबारमा उल्लेख्य सुधार भएको छ ।

नेपाल राष्ट्र बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागले रियल–स्टेट कर्जासम्बन्धी तथ्यांकमा आधारित भएर निकालेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति विषयक प्रतिवेदनले घरजग्गाको कारोबारमा उत्साह देखाएको हो । यो अवधिमा राष्ट्रियस्तरमा घरजग्गा कारोबारको कुल संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ४२ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष यस्तो कारोबार ४ दशमलव ५२ प्रतिशतले घटेको थियो । तथ्यांकअनुसार काठमाडौंमा १ सय ४ प्रतिशतभन्दा बढी कारोबार वृद्धि भएको छ भने कुल १ खर्ब ८४ अर्ब रुपैयाँको कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ७ अर्ब रुपैयाँको मात्र कारोबार भएको थियो ।

राष्ट्र बैंकको तथ्यांकले देखाएअनुसार समीक्षा अवधिमा लिखत पारित कारोबार संख्या शून्य दशमलव ६२ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार संख्या १२ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । कारोबार भएको कुल क्षेत्रफल पनि १ दशमलव ६० प्रतिशतले बढेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारबाट संकलित राजस्व २३ दशमलव ७२ प्रतिशतले बढेको छ । विभागका अनुसार पुँजीगत लाभकर ३१ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ । आयकर ऐन २०५८ बमोजिम सरकारले घरजग्गा बिक्रीबाट प्राप्त नाफामा ५ वर्षभन्दा कम अवधिमा २५ प्रतिशत र ५ वर्ष वा बढी होल्डिङमा १५ प्रतिशत कर लिने गर्दछ ।

बैंकहरूबाट आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जा पनि ५ दशमलव ५५ प्रतिशतले बढेको छ ।

विभागका अनुसार घरजग्गा कारोबारमा बागमती प्रदेशले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ । यो प्रदेशमा राजीनामा कारोबार संख्या ३३ दशमलव ०१ प्रतिशतले बढेको छ । मधेश प्रदेशमा भने केही गिरावट आएको छ तर अन्य प्रदेशहरूमा भने सकारात्मक वृद्धि कायम छ । बागमती प्रदेशमा कारोबारको कुल मूल्य १३१ दशमलव ५२ प्रतिशतले बढेको हो । क्षेत्रफलको आधारमा गण्डकी प्रदेश अघि रहे पनि बागमतीको समग्र योगदान अत्यन्त ठूलो रहेको छ । विभागका अनुसार देशभरि नै २ दशमलव ५ देखि १० आना क्षेत्रफलका प्लटहरूमा सबैभन्दा धेरै कारोबार भएको छ ।

सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य बढेको भए तापनि मधेश प्रदेशमा सबैभन्दा कम अर्थात् २२ दशमलव ६७ प्रतिशतले मात्र वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षमा मधेश प्रदेशमा २ कठ्ठाभन्दा बढी क्षेत्रफल भएका ठूला प्लटको कारोबार बढी हुने गरेकोमा यस वर्ष ससाना धुरका प्लटहरूको कारोबार बढी भएको छ ।

कर्जा प्रवाहमा आएको सहजताकै कारण अघिल्लो वर्ष ४ दशमलव ५२ प्रतिशतले घटेको घरजग्गाको कुल कारोबार संख्या यस वर्ष ६ दशमलव ४२ प्रतिशतले बढ्न सफल भएको छ ।

सातवटै प्रदेशमध्ये गण्डकी प्रदेशमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल सबैभन्दा धेरै २४ दशमलव ८४ प्रतिशतले बढेको छ ।

गण्डकी प्रदेशको राजधानी र प्रमुख सहर पोखरा महानगरपालिकामा घरजग्गा कारोबार संख्यामा ८२ दशमलव १५ प्रतिशतको उच्च वृद्धि भएको छ । गण्डकी प्रदेशमा पनि अन्य प्रदेशहरूमा झैँ साढे २ आनादेखि १० आना क्षेत्रफल भएका प्लटहरूको कारोबार सबैभन्दा धेरै भएको छ ।

आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रयमासमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३ दशमलव ०१ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ४ दशमलव ७९ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा यस्तो कारोबार संख्या बढेको छ ।

घरजग्गाको कारोबार भएको कूल क्षेत्रफल अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४ दशमलव ८४ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा सबैभन्दा धेरै ९ दशमलव ३३ प्रतिशतले घटेको छ ।

सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा धेरै १३१ दशमलव ५२ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम २२ दशमलव ६७ प्रतिशतले कारोबारको कुल मूल्य बढेको छ ।

केन्द्रीय बैंकको अध्ययनअनुसार काठमाडौं जिल्ला र महानगरपालिकाको स्थिति अझ प्रभावशाली छ । काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या १०४ दशमलव ४२ प्रतिशतले बढेको छ । कारोबार भएको कुल क्षेत्रफल ११८ दशमलव ७८ प्रतिशतले र कुल कारोबार मूल्य २२३ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ ।

काठमाडौंमा भएको उच्च मूल्यवृद्धिले राजस्व तथा लाभकर संकलनमा ठूलो योगदान पु¥याएको छ । यद्यपि कारोबार मूल्यको वृद्धिदर राजस्व वृद्धिदरभन्दा उच्च रहेको छ जसले कर प्रशासनमा थप सुधारको आवश्यकता देखाएको छ ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार काठमाडौंमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढ्नुको प्रमुख कारणमा बैंकिङ कर्जामा सहजता भएको ठम्याइएको छ ।

आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रयमासमा ६ वटै महानगरपालिकाहरुमध्ये काठमाडौं महानगरपालिकामा घरजग्गाको कुल कारोबारको संख्या सबैभन्दा धेरै १०८ दशमलव ४२ प्रतिशतले बढेको हो । त्यसपछि क्रमशः पोखरामा ८२ दशमलव १५ प्रतिशत, ललितपुरमा ७३ दशमलव ८१ प्रतिशत, वीरगन्जमा ३१ दशमलव ०७ प्रतिशत, भरतपुरमा २९ दशमलव २१ प्रतिशत र विराटनगर महानगरपालिका २७ दशमलव ९२ प्रतिशतले बढेको छ ।

घरजग्गा कारोबारको कूल मूल्य ६ वटै महानगरपालिकामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै २२३ दशमलव १२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रयमासमा कलैया उप–महानगरपालिका बाहेक सबै उप–महानगरपालिकाहरूमा घरजग्गा कारोबारको संख्या बढेको छ । बुटवल उप–महानगरपालिकामा सबैभन्दा धेरै ५६ दशमलव ७९ प्रतिशतले बढेको छ । कलैया उप–महानगरपालिकामा भने यस्तो कारोबार संख्या ६ दशमलव ९५ प्रतिशतले घटेको छ ।

कुल क्षेत्रफल कलैया उपमहानगरपालिका र नेपालगन्ज उप–महानगरपालिकामा बाहेक सबै उपमहानगरपालिकामा बढेको छ । तुलसीपुर उप–हानगरपालिकामा सबैभन्दा धेरै ४२ दशमलव ७४ प्रतिशतले बढेको छ । नेपालगन्ज उपमहानगरपालिकामा भने कारोबार भएको कुल क्षेत्रफल ६८ दशमलव २९ प्रतिशतले घटेको छ ।

घरजग्गा कारोबारको कूल मूल्य ११ वटै उपमहानगरपालिकामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा धेरै १३४ दशमलव ४६ प्रतिशतले बढेको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया