काठमाडौं, असार २५ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के, नेपालले नयाँ लायन वर्ष २०२६/२०२७ का लागि नेतृत्व सम्हालेको टोलीलाई भव्य स्वागत गर्दै आगामी कार्यकाललाई सेवा, नेतृत्व विकास, सदस्यता विस्तार र संस्थागत सुदृढीकरणको वर्षका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
लायन्स इन्टरनेशनलको १०८औँ अन्तर्राष्ट्रिय कन्भेन्सन मा सहभागिता जनाएर स्वदेश फर्किएका डिस्ट्रिक्ट ३२५ के, नेपालका अभिभावक तथा पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक्ट एक्जिक्युटिभ काउन्सिलर ज्ञानु बुर्लाकोटी, डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी तथा फर्स्ट लेडी पूजा अधिकारी, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाँल तथा स्पाउस अप्सरा फुयाँल लगायतको नेतृत्व टोलीलाई बुधबार राति करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वागत कक्षमा भव्य स्वागत गरिएको हो।
स्वागत कार्यक्रममा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर हसन कुमार गोपाली, क्याबिनेट सेक्रेटरी गणेश जिसी, क्याबिनेट कोषाध्यक्ष चुडामणी सिलवाल, पीआरओ–इन–चिफ सुरेन्द्र बाबु श्रेष्ठ, डिजी थिम चिफ श्रीकृष्ण मानन्धर, मिसन १.५ चिफ महाप्रसाद पाण्डे सहित डिस्ट्रिक्ट क्याबिनेटका पदाधिकारी, विभिन्न लायन्स क्लबका अध्यक्ष, पदाधिकारी तथा ठूलो संख्यामा उपस्थित लायन्स सदस्यहरूले खादा, फूलमाला र शुभकामना आदानप्रदान गर्दै नेतृत्व टोलीलाई आत्मीय स्वागत गरेका थिए। विमानस्थल परिसर लायन्स सदस्यहरूको उत्साहपूर्ण उपस्थितिले भरिएको थियो।
“Leading With Purpose” भन्ने मूल नारासहित नयाँ नेतृत्वले आगामी कार्यकालमा स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, दृष्टि संरक्षण, मधुमेह नियन्त्रण, भोकमरी न्यूनीकरण, विपद् व्यवस्थापन तथा मानवीय सेवाका कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्य लिएको जनाएको छ।
स्वागत समारोहमा बोल्दै नेतृत्व टोलीले सदस्यता विस्तार, नयाँ क्लब स्थापना, युवा नेतृत्व विकास, महिला सशक्तीकरण तथा समुदायमा प्रत्यक्ष प्रभाव पार्ने सेवामूलक परियोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको थियो। साथै, अन्तर्राष्ट्रिय कन्भेन्सनबाट प्राप्त अनुभव, नीति तथा नवीन कार्यक्रमलाई नेपालभर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
यस वर्ष लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के, नेपालले विश्वमै सबैभन्दा धेरै नयाँ क्लब स्थापना गर्ने डिस्ट्रिक्ट बन्न सफल भएको जनाइएको छ। लायन्स इन्टरनेशनलले दिएको लक्ष्यभन्दा बढी क्लब स्थापना गर्दै डिस्ट्रिक्टले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेको र संगठन विस्तारमा नयाँ कीर्तिमान कायम गरेको बताइएको छ।
विश्वकै सबैभन्दा ठूलो स्वयंसेवी सेवामूलक संस्था लायन्स इन्टरनेशनल अन्तर्गत रहेको डिस्ट्रिक्ट ३२५ के, नेपालले देशभरका विभिन्न क्लबमार्फत स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, रक्तदान, वृक्षारोपण, विपद् राहत तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्वको आगमनसँगै आगामी कार्यकालमा सेवाका गतिविधिलाई अझ व्यापक, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया