काठमाडौं। नेपालका वरिष्ठ लायन नेता राजन लम्साल लायन्स अन्तर्राष्ट्रियको अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा निर्वाचित हुने औपचारिक प्रक्रियामा सहभागी हुन बिहीबार हङकङ प्रस्थान गरेका छन्। जुलाई ३ देखि ७ सम्म हङकङमा आयोजना हुने लायन्स अन्तर्राष्ट्रियको १०८औँ अन्तर्राष्ट्रिय कन्भेन्सनबाट उनी सन् २०२६–२०२८ कार्यकालका लागि अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचित हुनेछन्।
लम्सालको निर्वाचनलाई नेपाली लायनिज्मका लागि अर्को ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। नेपालमा लायन्स अभियान सुरु भएको पाँच दशकभन्दा बढी समयपछि उनी लायन्स अन्तर्राष्ट्रियका तेस्रो नेपाली अन्तर्राष्ट्रिय डाइरेक्टर बन्न लागेका हुन्। यसअघि सन् २०१५–२०१७ कार्यकालमा पीआईडी संजय खेतान र सन् २०२३–२०२५ कार्यकालमा पीआईडी बालकृष्ण बुर्लाकोटीले उक्त प्रतिष्ठित जिम्मेवारी निर्वाह गरिसकेका छन्। लम्सालको आगमनसँगै अन्तर्राष्ट्रिय नेतृत्वमा नेपालको उपस्थिति थप बलियो हुने विश्वास गरिएको छ।
हङकङ प्रस्थानअघि आयोजित बिदाइ कार्यक्रममा लम्सालले आफूलाई प्राप्त भएको अवसरलाई व्यक्तिगत सम्मानभन्दा सम्पूर्ण नेपाली लायन्स परिवारको साझा गौरवका रूपमा लिएको बताए। उनले अन्तर्राष्ट्रिय डाइरेक्टरको जिम्मेवारी सम्हालेपछि नेपालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, युवा सशक्तीकरण तथा सामुदायिक विकासका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले विशेषगरी लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन (LCIF) लगायत अन्तर्राष्ट्रिय स्रोतबाट नेपालमा थप अनुदान, प्राविधिक सहयोग र साझेदारी भित्र्याउन आफ्नो प्राथमिकता रहने उल्लेख गरे। “नेपालको लायनिज्मलाई अन्तर्राष्ट्रिय रूपमा अझ प्रभावकारी, सशक्त र परिणाममुखी बनाउने मेरो प्रमुख लक्ष्य हुनेछ,” उनले भने।
हाल नेपालभर करिब ५० हजारभन्दा बढी लायन्स सदस्य विभिन्न क्लबमार्फत सामाजिक सेवामा सक्रिय छन्। लम्साल अन्तर्राष्ट्रिय नेतृत्वमा पुगेपछि विश्वका करिब २१० देश तथा भौगोलिक क्षेत्रमा फैलिएको लायन्सको विश्वव्यापी सञ्जालसँग नेपालको सहकार्य अझ विस्तार हुने विश्वास गरिएको छ। यसबाट नेपालमा सञ्चालन हुने मानवीय सेवाका परियोजना, स्वास्थ्य शिविर, दृष्टि संरक्षण, वातावरणीय अभियान, विपद् राहत तथा सामुदायिक विकासका कार्यक्रमले थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्ने अपेक्षा गरिएको छ।
लायन्स क्षेत्रका जानकारहरूका अनुसार लम्सालको अन्तर्राष्ट्रिय डाइरेक्टरमा प्रवेशले नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा सामाजिक सेवामा विश्वव्यापी सहकार्य बढाउन पनि सकारात्मक योगदान पुग्नेछ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै उनले नेपाली लायनिज्मको अनुभव, क्षमता र योगदानलाई विश्वसामु अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ।
हङकङमा हुने अन्तर्राष्ट्रिय कन्भेन्सनमा लम्सालसँगै उनकी जीवनसाथी तथा पूर्व डिस्ट्रिक्ट गभर्नर इन्दु लम्साल, पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टरद्वय पीआईडी बालकृष्ण बुर्लाकोटी र पीआईडी संजय खेतान, साथै नेपालका १५ वटै लायन्स डिस्ट्रिक्टका डिस्ट्रिक्ट गभर्नर, प्रथम र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर तथा वरिष्ठ लायन नेतृत्वको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।
यसैबीच, लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालकी निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै लम्सालको अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचन नेपाली लायनिज्मका लागि गौरवको विषय भएको उल्लेख गरेकी छन्। उनले सम्मेलनमा सहभागी सम्पूर्ण नेपाली प्रतिनिधिमण्डलको यात्रा सफल, सुरक्षित र उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छासमेत व्यक्त गरेकी छन्।
विश्वकै सबैभन्दा ठूलो मानवीय सेवा संस्थामध्ये एक लायन्स अन्तर्राष्ट्रियको अन्तर्राष्ट्रिय नेतृत्वमा नेपाली प्रतिनिधित्व निरन्तर बढ्दै जानुलाई नेपालको सामाजिक सेवा अभियानका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। लम्सालको नेतृत्वले आगामी दिनमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार, सेवा परियोजनाको प्रभावकारिता अभिवृद्धि तथा नेपालमा थप स्रोत, अवसर र साझेदारी भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया