असार २८, २०८३ आइतबार July 12, 2026

मल खोज्दै किसान, आश्वासन बाँड्दै सरकार

कतै सहकारीमा मल पुगेको छैन भने कतै पुगेको मल केही घण्टामै सकिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कृषिप्रधान देश भए पनि हरेक वर्ष धान रोपाइँ सुरु हुनेबित्तिकै दोहोरिने एउटा पुरानो समस्या फेरि सतहमा आएको छ, रासायनिक मलको चरम अभाव । यसवर्ष पनि असार महिनाभर देशका अधिकांश धान उत्पादन हुने जिल्लाका किसानले डिएपी र युरिया मल नपाएर मलबिनै धान रोप्न बाध्य भएका छन् । कतै सहकारीमा मल पुगेको छैन भने कतै पुगेको मल केही घण्टामै सकिएको छ । कतिपय स्थानमा किसान घण्टौँ लाइन बसेर पनि रित्तो हात फर्किएका छन् भने सीमावर्ती क्षेत्रमा भारतीय बजारबाट मल ल्याउने प्रयास गर्दा किसान नै कानुनी झमेलामा परेका छन् । उता, सरकारले भने पर्याप्त मौज्दात रहेको, थप मल आउने क्रममा रहेको र वितरण सहज बन्दै गएको दाबी गरिरहेको छ ।

धान उत्पादनका लागि महत्त्वपूर्ण मानिने मधेस प्रदेशका सप्तरी, सर्लाहीलगायत जिल्लामा किसानले मागअनुसार मल पाउन सकेका छैनन् । सप्तरीको राजविराज नगरपालिका-१४ का किसान इन्द्रनारायण मण्डलका अनुसार आवश्यक मलको १० प्रतिशत पनि उपलब्ध हुन सकेको छैन । सहकारीमा एकपटक सीमित परिमाणमा मल आए पनि त्यसपछि आपूर्ति रोकिएको छ । परिणामस्वरूप किसान मलबिनै धान रोप्न बाध्य भएका छन् । विगतमा भारतबाट मल ल्याएर खेती गर्ने किसान अहिले सीमा क्षेत्रमा कडाइ बढेपछि त्यो विकल्पसमेत प्रयोग गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

कञ्चनरूप नगरपालिका–१२ का जनप्रतिनिधि देवीबहादुर खत्री पनि अवस्था फरक नरहेको बताउनुहुन्छ । उहाँका अनुसार करिब ११ सय घरधुरी रहेको वडामा मागको करिब १० प्रतिशत मात्र मल पुगेको छ । अधिकांश किसान अझै मलको प्रतीक्षामै छन् ।

लुम्बिनी प्रदेशको कपिलवस्तुमा पनि स्थिति उस्तै छ । कपिलवस्तु नगरपालिका र बुद्धभूमि नगरपालिकाका किसान तथा जनप्रतिनिधिहरूका अनुसार सहकारीमा आउने मल केही घण्टामै सकिने गरेको छ । हजारौँ घरधुरी रहेको क्षेत्रमा दुई-तीन सय बोरा मलले कुनै अर्थ नराख्ने उनीहरूको भनाइ छ । केही किसान भारतबाट महँगो मूल्यमा मल ल्याएर खेती गरिरहेका छन् ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा पनि किसानहरू मल नपाएर रोपाइँ पछि सार्न बाध्य भएका छन् । कतिपय सहकारी त मल माग्ने किसानको अत्यधिक भीडका कारण बन्द गर्नुपरेको अवस्था स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

देशको प्रमुख धान उत्पादन क्षेत्र कोशी प्रदेश पनि मल संकटबाट अछुतो छैन । प्रदेशमा धान खेतीका लागि आवश्यक डिएपी मलको करिब १२ प्रतिशत मात्र आपूर्ति भएको तथ्यांकले देखाउँछ । परिणामस्वरूप किसानहरूले धान रोप्ने बेलामा प्रयोग गर्नुपर्ने डिएपीको सट्टा पछि हाल्ने युरिया प्रयोग गरेर खेती जोगाउने प्रयास गरिरहेका छन् ।

कृषि सामग्री संस्थान विराटनगरका अनुसार अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा आएको अवरोध, ढुवानी समस्या तथा बढ्दो मागका कारण मागअनुसार मल उपलब्ध गराउन कठिन भइरहेको छ । कार्यालयमा किसानको दैनिक भिड लाग्ने गरेको छ भने थप मल असार अन्तिम वा साउनको पहिलो सातासम्म आइपुग्ने अपेक्षा गरिएको छ ।

सरकारको दाबी र किसानको पीडा

कृषि, वन तथा वातावरण मन्त्रालयले देशभर पर्याप्त युरिया र डिएपी मौज्दात रहेको तथा थप मल आयात हुने क्रममा रहेको जनाएको छ । मन्त्रालयका अनुसार वितरण प्रक्रियालाई थप व्यवस्थित बनाइएको छ । मन्त्री गीता चौधरीले कालोबजारी, कृत्रिम अभाव तथा मूल्यवृद्धि गर्नेविरुद्ध हटलाइनमार्फत उजुरी दिन किसानलाई आग्रह गर्दै दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको छ । तर, किसानहरूको अनुभव भने सरकारको दाबीभन्दा फरक छ । अधिकांश जिल्लामा मल आउनेबित्तिकै सकिने, पर्याप्त मात्रा नपुग्ने र सहकारीमा लामो लाइन लाग्ने अवस्था यथावत् छ । धेरै किसानले सरकारी तथ्यांकभन्दा खेतको यथार्थ फरक रहेको बताइरहेका छन् ।

यता, किसानले कालोबजारीको अर्को मार खेप्न बाध्य छन् । सर्लाहीमा सरकारले अनुदानमा उपलब्ध गराउने मल तोकिएको मूल्यभन्दा धेरै महँगोमा बिक्री भइरहेको आरोप किसानले लगाएका छन् । स्थानीय सहकारीहरूले प्रतिवोरा सयौँ रुपैयाँ बढी मूल्य असुल्ने गरेको भन्दै किसानले जिल्ला प्रशासन कार्यालयसम्म उजुरी दिएका छन् । अनुगमन टोली पुग्नुअघि नै सम्बन्धित सहकारीका सञ्चालक सम्पर्कविहीन भएको घटनाले अनुगमन प्रणालीमाथि समेत प्रश्न उठाएको छ ।

मल अभावले सीमावर्ती क्षेत्रका किसानलाई अर्को समस्यामा धकेलेको छ । आफ्नै खेतका लागि भारतबाट मल ल्याउने क्रममा सर्लाहीका दुई किसान भारतीय सुरक्षाकर्मीबाट पक्राउ परेका छन् । स्थानीय जनप्रतिनिधिले उनीहरूलाई तस्कर नभई आफ्नो खेती बचाउन मल ल्याउने किसान भएको दाबी गरेका छन् । यस घटनाले समयमै मल उपलब्ध गराउन नसक्दा किसानले भोग्नुपरेको बाध्यता थप उजागर गरेको छ ।

दीर्घकालीन समाधान किन भएन ?

नेपालमा वार्षिक करिब आठ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भए पनि आयात भने त्यसको आधा हाराहारीमा सीमित छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, ढुवानी समस्या, ढिलो खरिद प्रक्रिया, कमजोर वितरण प्रणाली र स्थानीय तहसम्म प्रभावकारी अनुगमनको अभावले प्रत्येक वर्ष एउटै समस्या दोहोरिने गरेको कृषि क्षेत्रका जानकारहरू बताउँछन् । समयमै मल उपलब्ध नहुँदा धान र मकैको उत्पादन घट्ने, खाद्य सुरक्षा प्रभावित हुने र आयातमा निर्भरता झन् बढ्ने जोखिम देखिएको छ ।

नेपालमा मलको समस्या केवल आपूर्तिको अभाव मात्र होइन, यो योजना, व्यवस्थापन, वितरण, अनुगमन र कृषि नीतिको समग्र कमजोरीको प्रतिबिम्ब बनेको छ । किसानले प्रत्येक वर्ष रोपाइँको मुखमा उही पीडा दोहोर्‍याइरहेका छन् भने सरकार हरेक वर्ष पर्याप्त मौज्दात र सहज वितरणको आश्वासन दोहोर्‍याइरहेको छ । जबसम्म उत्पादन चक्रसँग मेल खाने गरी समयमै खरिद, पारदर्शी वितरण, कालोबजारी नियन्त्रण र दीर्घकालीन मल नीति लागू हुँदैन, तबसम्म ‘कृषिप्रधान देश’ भन्ने परिचय किसानका लागि नारामै सीमित रहने खतरा कायमै रहने सम्बन्धितहरू बताउँछन् ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज
२०८३ असार २८, आइतबार
भोजपुरमा विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता
२०८३ असार २८, आइतबार
खामोनी हत्याको बदला लिने इरानका नयाँ सर्वोच्च नेताको प्रतिबद्दता
२०८३ असार २८, आइतबार
फिफा विश्वकप २०२६ : स्विट्जरल्यान्डलाई हराउदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश
२०८३ असार २८, आइतबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार २८, आइतबार
केप भर्डे फुटवलले मात्रै होइन, ‘एलजीवीटी क्यु हेभन’ले पनि उत्तिक छ चर्चित
२०८३ असार २८, आइतबार
हालै विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडनको ‘रहस्यमय मृत्यु’
२०८३ असार २८, आइतबार