काठमाडौं । विगत ६ महिनादेखि जारी आन्तरिक विवादको भुमरीमा फसेको नेपाली कांग्रेस अन्ततः विभाजनको डिलमा पुगेको छ । पुसमा सम्पन्न विशेष महाधिवेशनपछि चर्किएको विवाद साम्य हुनुको सट्टा झन् बढ्दै गएको छ । संस्थापन र संस्थापनइतर समूहबीच बढ्दो अविश्वासले कांग्रेसमा विभाजनकै खाडल बन्न थालेको हो । सार्वजनिक रूपमा शीर्ष नेताहरूले पार्टी एकताप्रति प्रतिबद्ध रहेको बताइरहे पनि भित्री छलफल भने त्यसको ठीक विपरीत दिशामा अघि बढिरहेको छ । अनौपचारिक संवादमा दुवै पक्षका केही नेताहरू अहिलेको अवस्थामा एउटै संरचनाभित्र सहकार्यलाई निरन्तरता दिन कठिन बन्दै गएको स्वीकार गर्न थालेका छन् । हालसम्म कुनै पनि पक्षले पार्टी विभाजनको औपचारिक प्रस्ताव अघि सारेको छैन । तर, समानान्तर रूपमा दुवै पक्षले आफ्ना संगठनात्मक अभ्यासलाई तीव्र बनाइरहेका छन् ।
संस्थापन पक्ष इतर समूहका शीर्ष नेताहरूलाई मिलाएर लैजाने पक्षमा देखिएको छैन । इतरपक्षका अधिकांश नेताहरूले पनि संस्थापनसँग सहकार्य सम्भव नरहे विकल्प रोज्नुपर्ने धारणा राख्दै आएका छन् । तर, इतर समूहका कतिपय नेताहरू भने अझै अन्तिमसम्म सहमतिको प्रयास जारी राख्नुपर्ने पक्षमा छन् ।
नियमित महाधिवेशनको वकालत गरिरहेका नेताद्वय पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले आफ्नो अडान कायमै राखेका तर संस्थापनले कुनै प्रतिक्रिया नजनाउँदा दुई समूह मिल्ने छाँटकाट नदेखिएको हो । परिणामस्वरूप मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक दल कांग्रेस विभाजनको डिलमा पुगेको छ । पार्टीको आन्तरिक विवाद मिलाएर लैजाने विषयमा असन्तुष्ट पक्ष लचिलो देखिएको छ । तर, विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हाल्नुभएका सभापति गगनकुमार थापाले ठोस प्रतिक्रिया नदिँदा इतर समूहका नेता निराश बनेका छन् ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गरिरहनु भएका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले त आफूनिकट नेताहरूसँग ९० प्रतिशत पार्टी विभाजन भइसकेको बताउन थाल्नुभएको छ । केही दिनअघि इतर समूहका नेता एवं पूर्वमहामन्त्री डा.शशांक कोइरालाले त एक सार्वजनिक कार्यक्रममै कांग्रेस विभाजन भइसकेको बताउनुभएको थियो । इतर समूहका नेता मीन विश्वकर्माले पार्टी विभाजनको नजिक पुगिसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
बेग्लै झण्डा र चुनाव चिह्न तयार गरिएको छैन : विश्वकर्मा
नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता मीनबहादुर विश्वकर्माले बेग्लै झण्डा र चुनाव चिह्न तयार नगरिएको बताउनुभएको छ । सम्पर्क कार्यालय चुनदेवीमा पत्रकारहरूसँगको कुराकानीका क्रममा नेता विश्वकर्माले सामाजिक सञ्जालमा चर्चामा रहेको बेग्लै झण्डा र चुनाव चिह्नतर्फ लक्ष्य गर्दै भन्नुभयो, ‘त्यो झण्डा नेपाली कांग्रेसको ऐतिहासिक क्रान्ति २००७ सालको हो । झण्डा र चुनाव चिह्न तयार गर्ने भन्नेबारे अहिले हामीले सोचेका पनि छैनौँ, तयार पनि गरिएको छैन । त्यो बाध्यता नआओस् भनेरै हामी अहोरात्र काम गरिरहेका छौँ ।’ पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्ने काम संस्थापन पक्षको रहेको जिकिर गर्दै विश्वकर्माले भन्नुभयो, ‘उहाँहरूले चाहनुभयो भने चुनदेवी सम्पर्क कार्यालयले पार्टीका गतिविधि एकसाथ नै गर्नेछ, यदि सानेपा कांग्रेसले उदासीनता देखायो भने बाहिर रहेका कांग्रेसहरूले विकल्प खोज्ने अवस्था आउँछ ।’ उहाँले शक्तिशाली कांग्रेस चाहिएको भए योगदान पुर्याएका नेताहरूलाई साथसाथै लैजानुपर्नेमा जोड दिनुभएको छ । पार्टी विभाजनमा जानुभन्दा पहिले मेलमिलापको प्रयास गरिएको पनि विश्वकर्माको भनाइ छ । पछिल्लो समय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर छलफल गर्दै आएको छ । उक्त समूहको नेतृत्व निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नुभएको छ ।
गएको जेठ १६ गते कांग्रेस उपसभापति शर्माले मिलेर अघि बढ्न भन्दै इतर समूहसमक्ष एउटा प्रस्ताव पठाउनुभएको थियो । तर, इतर समूहले शर्माको प्रस्तावमा केही प्रतिक्रिया नजनाएपछि आफैँले जेठ ३१ गते प्रस्ताव सार्वजनिक गर्नुभएको थियो । त्यसपछि नेता डा.शेखर कोइरालाले नेतृत्वसमक्ष पाँचबुँदे प्रस्ताव पठाउनुभएको थियो । पूर्वकार्यवाहक सभापति खड्काले पनि आठबुँदे प्रस्ताव पठाउनुभएको थियो । त्यसयता संस्थापनले कुनै प्रतिक्रिया नजनाएको नेताहरूको जिकिर छ । यही असार २२ देखि २४ गतेसम्म बसेको इतर समूहको बैठकमा धारणा राख्ने अधिकांश नेता–कार्यकर्ताले समेत वैकल्पिक मार्गतर्फ अघि बढ्न शीर्ष नेतालाई सुझाव दिएका थिए । अबको ‘रोडम्याप’ तय गर्न पनि शीर्ष नेतालाई नै जिम्मा दिइएको छ ।
विराटनगरमा अर्थपूर्ण छलफल
संस्थापनइतर समूहबाट बीपी स्मृति दिवस कार्यक्रम तयारीको जिम्मा पाउनुभएका निवर्तमान पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले विराटनगर पुगेर डा. शेखर कोइरालासँग छलफल गर्नुभएको छ । असार २७ गते विराटनगरस्थित कोइराला निवासमा दुई नेताबीच छलफल भएको जानकारी दिँदै शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भन्नुभयो, ‘डा. साब (शेखर कोइराला) विराटनगरमा हुनुहुन्छ । ठ्याक्कै छलफलको विषयका बारेमा मलाई पनि खासै जानकारी छैन । तर, बीपी स्मृति दिवसको तयारीका विषयमा दुवै नेताबीच छलफल भएको हुनसक्छ ।’ कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले डा.कोइरालासँग केही दिनअघि भेटवार्ता गर्दा विवाद मिलाउन यही असार २५ गतेसम्मको समय दिनुभएको थियो । असार २८ भइसक्दा पनि संस्थापन पक्षले यसबारे कुनै प्रतिक्रिया नजनाएको जानकारी दिँदै थपलियाले भन्नुभयो, ‘त्यसपछि केही भएको छैन । अब आगामी रणनीति तय गरेरै अगाडि बढ्नुहुन्छ होला ।’
साउनभित्रै राष्ट्रिय भेलाको तयारी
संस्थापनइतर पक्षले आउँदो साउनभित्रै राष्ट्रिय भेला गर्ने तयारी गरेको छ । पार्टीको आन्तरिक विवादका विषयमा मिलनबिन्दुको पर्खाइमा रहेको इतर पक्षले साउन ६ गते राष्ट्रिय भेला बोलाउने तयारी गरेको हो । पूर्व-उपसभापति विमलेन्द्र निधिले भन्नुभयो, ‘साउन ६ गते बीपी स्मृति दिवस मनाउने तयारी भइरहेको छ । ६ गते नै हामी राष्ट्रिय भेलाको मिति तय गर्ने पक्षमा छौँ । साउनभित्रै राष्ट्रिय भेला गर्ने तयारी छ ।’ निवर्तमान पार्टी प्रवक्ता डा.महतले पनि साउनभित्रै राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको जानकारी दिँदै भन्नुभयो, ‘राष्ट्रिय भेला साउनभित्रै गर्ने कुरा भएको छ । मिति घोषणा भएको छैन । पार्टी मिलाउन उहाँहरू (गगन थापा) नै चाहनुभएन, हामीले त चाहेको हो । अहिलेसम्म उहाँहरूले माहौल सिर्जना गरेनन्, अब केही पनि मिलाउँदैनन् ।’ इतर समूहले बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रम गर्ने निर्णय गरिसकेको छ ।
‘जरा अभियान’साउन ६ गते समापन
कांग्रेसले आफ्नो संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने भएको छ । अभियानमा समेटिएका प्रावधानले कांग्रेसमा विवाद देखिएको थियो । जसका कारण पार्टी फुटको संघारमा पुगेको नेताहरूको जिकिर छ । पार्टीको केन्द्रीय कार्यालयले मातहतका प्रदेश, जिल्ला तथा पालिका कार्यसमितिलाई परिपत्र जारी गर्दै अभियान समापन गर्ने जानकारी गराएको हो । पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी परिपत्रअनुसार १५औँ महाधिवेशनको कार्यतालिकाअन्तर्गत क्रियाशील सदस्यता फारम वितरण र नयाँ क्रियाशील सदस्यहरूको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि साउन ३ गतेसम्मको समयावधि थप गरिएको छ । साउन ३ गतेसम्म युवा केन्द्रित विशेष अभियान अन्तर्गत जिल्ला र पालिकामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको कार्यावधि साउन ३ गतेसम्म रहनेछ । यस अवधिभित्र क्रियाशील सदस्यता वितरण लगायतका कार्यहरू सम्पन्न गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
साउन ४ गते पालिकामा खटिएका प्रतिनिधिहरूले जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिसमक्ष आफ्नो प्रतिवेदन बुझाउनु पर्नेछ । साउन ६ गते जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर जिल्ला कार्यसमितिहरूको आयोजनामा व्यापक सहभागितासहित ‘जरा अभियान’ को औपचारिक समापन कार्यक्रम गर्ने महामन्त्री पौडेलले परिपत्रमा उल्लेख गर्नुभएको छ । सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरि जरा अभियान वैशाख १ गते सुरुवात गर्नुभएको थियो । अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको थियो । जरा अभियानमार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आइडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने बताएको थियो ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया