असार ३०, २०८३ मंगलबार July 14, 2026

सरकार र सत्तारूढ दलबीच बढ्दो असमझदारी

धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्तिको विषयमा पनि प्रधानमन्त्री असन्तुष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच असमझदारी बढ्दै गएको छ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावबाट झण्डै दुईतिहाइ (१८२) सिट जितेको रास्वपाले पार्टीका तत्कालीन वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा चैत १३ गते सरकार गठन भएको थियो । गठनको केही समयसम्म सरकार र पार्टीबीचको सम्बन्ध ठिकठाक ढंगले चले पनि पछिल्ला केही दिनदेखि सरकारका काम कारबाहीप्रति पार्टीभित्रबाट चर्को असन्तुष्टिका स्वरहरू सार्वजनिक हुन थालेका छन् । अर्कोतर्फ, गठनको मधुमास पूरा हुँदासम्म सरकार र सरकारको नेतृत्व गरिरहेको दल रास्वपाबीच सार्वजनिक रूपमै देखिने गरी असमझदारी बढेको छ । मुख्यगरी पार्टी सभापति रवि लामिछाने सरकार र प्रधानमन्त्रीका पछिल्ला केही कदम र निर्णयले रुष्ट बन्नुभएको छ । सुकुम्बासीलाई हठात् विकल्पबिनै बासस्थानबाट उठाउने कदम र पासपोर्ट छपाइमा प्रधानमन्त्री बालेन्द्रको सचिवालयबाट भएको अनावश्यक हस्तक्षेपप्रति लामिछाने रुष्ट बन्नुभएको हो ।

विगतको सरकारले असहयोग गरेको ठान्नुभएका बालेन्द्रले योजनाबद्ध रूपमा नभई ‘इगो’का आधारमा सुकुम्बासीसम्बन्धी कदम चालेको हुनसक्ने लामिछानेको बुझाइ छ । त्यस्तै, पासपोर्ट छपाइका विषयमा प्रधानमन्त्रीको सचिवालयबाट गरिएको अमर्यादित व्यवहारले पनि रवि लामिछाने असन्तुष्ट बनेको निकट नेताहरूले जानकारी दिएका छन् । जर्मन कम्पनीलाई दिइएको पासपोर्ट छपाइको ठेक्का रद्द गराएर फ्रान्सेली कम्पनीलाई ठेक्का दिलाउन बालेन्द्रको सचिवालयका असीम शाह, विवेक मिश्र र माधव खनाल लागेको सार्वजनिक भएको थियो । असार १ गते परराष्ट्र सचिव अमृतकुमार राई र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका आयुक्तलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर बन्धक बनाई मिश्र र खनालले अभद्र व्यवहार गरेका थिए ।

यस्तै, प्रधानमन्त्रीभन्दा पनि हरेक निर्णयमा सचिवालय हावी भएको भन्दै लामिछानेले बेलाबेला प्रश्न पनि उठाउने गर्नुभएको छ । रास्वपा स्रोतका अनुसार अराजनीतिक र अनिर्वाचित समूह हावी भएको लामिछानेले आफूनिकटका नेताहरूलाई बताउने गर्नुभएको छ । सरकारले पछिल्ला दिनमा गरेका नियुक्तिप्रति पनि सभापति लामिछानेको असहमति छ । पूर्वकर्मचारीहरू हावी हुनेगरी नियुक्ति गरेको, प्रधानमन्त्री कार्यालयबाट मन्त्री र सांसदहरूमाथि अस्वाभाविक निगरानी बढाएको प्रति पनि लामिछाने असन्तुष्ट बन्नुभएको छ ।

सरकार र पार्टीबीच असमझदारीको खाडल बढ्दै जाँदा प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेबीच शनिबार र आइतबार लगातार छलफल भएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित लामिछानेको निवासमा आइतबार दुई नेताबीच चार घण्टासम्म वार्ता भएको बताइएको छ । दुई नेताबीच सरकारको सय दिनको समीक्षा, पार्टी पदाधिकारी मनोनयन, मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयमा कुराकानी भएको थियो । लामिछाने र बालेन्द्रबीच मनोनीतहरूको सन्दर्भ र मन्त्रीहरू हेरफेरको कुरामा सहमति जुटेको छैन ।

बालेन्द्र मनोनीत छिटो गराउन चाहँदा लामिछानेको जोड भने मन्त्रीहरू हेरफेरमा छ । मन्त्री हेरफेर गर्न प्रधानमन्त्रीले चासो नदिएपछि लामिछानेले पनि मनोनीतमा चासो राख्नुभएको छैन । सभापति लामिछानेले महामन्त्रीमा भूपदेव शाहलाई सिफारिस नगरेको प्रति चासो राख्नुभएको छ । पार्टी विधानका विषयमा पनि रवि–बालेनबीच असन्तुष्टि पैदा भएको छ । संसदीय दलका नेता फेरबदल गर्ने र चाहेजति वरिष्ठ नेता बनाउन पाउने प्रावधानप्रति बालेन पक्षले असन्तुष्टि जनाएका छन् । विधानअनुसार सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा संसदीय दलको नेताको पद रिक्त हुने व्यवस्था गरिएको छ ।

सरकारका काम कारबाहीप्रति प्रश्न

सुकुम्बासी व्यवस्थापनमा भएको लापरबाहीका कारण सरकार र पार्टीको शाख गिरेको भन्दै सभापति रविले प्रधानमन्त्री बालेन्द्रसँग चासो राख्नुभएको छ । सुकुम्बासी समस्या समाधान नहुँदा संसद्मा दैनिक कुरा उठिरहेको र आफूले पनि प्रश्नको सामना गर्नु परेको रविको भनाइ छ । पासपोर्ट छपाइका क्रममा राज्यका अंगबीच द्वन्द्व सृजना हुने काम भएको बारेमा रविले बालेनसँग गम्भीर चासो राख्नुभएको छ ।

संविधान संशोधन बहसपत्र तयारीका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको समितिबाट मूलधारका राजनीतिक दल बाहिरिएको बारेमा समेत रविले प्रधानमन्त्रीसँग चासो राख्नुभएको छ । दलाई लामाको जन्मदिन मनाउन प्रशासनबाट अनुमति दिइएको विषयमा समेत रविले गम्भीर चासो राख्नुभएको स्रोतको भनाइ छ । दलाई लामाको जन्मदिन मनाउन दिने कुराले भूराजनीतिक सन्तुलन खलबलिएको भन्दै रविले गम्भीर चासो व्यक्त गरेका थिए ।

सरकारले उद्योगी व्यवसायीलाई आतंकित पार्नेगरी चारैतिर फायर खोल्दा भएको क्षतिबारे रविले चासो राखेका थिए । सरकार गठनको सय दिनमै कैयौँ प्रश्न उठिरहेको र रास्वपालाई मत दिएका मतदाताले समेत प्रश्न गरिरहेकोमा रविले बालेनको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्रीको जवाफ

सभापति लामिछानेले राखेको चासोमा प्रधानमन्त्री बालेन्द्रले सुकुम्बासी समस्या हल हुने दिशामै रहे पनि कर्मचारीहरूको एउटा पंक्ति, अनि स्थानीय तहबाट पर्याप्त सहयोग नपाएको बताउनुभएको छ । समाधान गर्न बाँकी सुकुम्बासीबाट सूचीकरणलगायत काममा जतिसक्दो छिटो समन्वयमा सहयोग हुन्छ त्यति नै छिटो सरकारले प्रक्रिया अघि बढाउने भन्दै अलमलमा नपर्न आग्रह गर्नुभएको स्रोतको भनाइ छ । उहाँले रास्वपाभित्रै यस विषयलाई लिएर मतान्तर देखिन थालेकामा उल्टै सभापति लामिछानेको ध्यानाकर्षण गराउनुभएको थियो । तर, सभापति लामिछानेले यो राजनीतिकभन्दा बढी मानवीय विषय भएकाले ढिलासुस्ती नहोस् भन्ने मात्र मनशाय रहेको बताउनुभएको थियो ।

स्वर्णिम वाग्लेको भूमिकालाई लिएर असन्तुष्टि

प्रधानमन्त्री बालेन्द्र र सभापति लामिछानेबीच सरकारका केही मन्त्रीको कार्यसम्पादन र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको भूमिकाबारे गम्भीर समीक्षा भएको बताइएको छ । अर्थमन्त्रीकै कारण सेयर बजार समस्याग्रस्त बनेको, पुँजी निर्माणभन्दा वैदेशिक ऋणमा बढी जोड दिएको तथा अर्थतन्त्रमा उत्साह ल्याउने खालको बजेट ल्याउन नसकेको विषयमा प्रधानमन्त्रीले सभापति लामिछानेसँग असन्तुष्टि जनाउनुभएको स्रोतको दाबी छ । धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्तिको विषयमा पनि प्रधानमन्त्री असन्तुष्ट रहेको बताइएको छ । बजेट जारी गर्ने बेला करका दर हेरफेरलगायत विषयमा अर्थमन्त्री वाग्लेबाट त्रुटि भएको प्रधानमन्त्री टिमको बुझाइ छ । प्रधानमन्त्री बालेन्द्रले संस्थापननिकट वाग्लेप्रति प्रश्न उठाउँदा सभापति लामिछानेले पनि मन्त्रीहरूको भूमिकामाथि प्रश्न उठाउनुभएको छ । सभापति लामिछाने स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, महिला, बालबालिका मन्त्री सीता बादी, पर्यटनमन्त्री खड्कराज पौडेल र कृषिमन्त्री गीता चौधरीको कार्यसम्पादनबारे प्रश्न उठाउनुभएको बताइएको छ । प्रधानमन्त्रीबाट मन्त्रालयहरूको काममा अनावश्यक हस्तक्षेप बढेको गुनासो आएको समेत रविले अवगत गराउनुभएको थियो ।

प्रधानमन्त्रीमाथि दबाब

प्रधानमन्त्री बालेन्द्र सभापति लामिछानेसँग भेट गर्न निवासमा पुगेको विषय चर्चाको विषय बन्न पुगेको छ । सामान्यतः प्रधानमन्त्री बालेन्द्रले अहिलेसम्म अरूलाई भेट्न निस्किने गर्नुभएको छैन । काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखिकै बालेन्द्रको प्रवृत्ति अरूलाई भेट्न जाने होइन । रास्वपाको वरिष्ठ नेताको हैसियतमा विगतमा उहाँको अभ्यास पनि सभापतिलाई भेट्नेभन्दा पनि बोलाउने थियो । त्यसैले, आइतबार सभापति लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेको विषयले चर्चा पाएको हो । रास्वपाकै नेताहरूको बुझाइमा अहिले प्रधानमन्त्री बालेन्द्रले चारवटा विषयमा दबाब महसुस गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्रले सरकारविरुद्ध सडकको विरोध, गणेश नेपालीको आत्मदाह र त्यसपछि सडकमा पोखिएको आक्रोश पनि प्रधानमन्त्रीको टाउको दुःखाइको विषय बनेको छ । पार्टीभित्रको समीकरण र सरकार गठनको छोटो अवधिमै सत्तारूढ दलका सांसदहरूले सदनमा सुरु गरेको सरकारको विरोध पनि प्रधानमन्त्रीको टाउको दुःखाइको विषय बनेको छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया