काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ मा रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ । वैदेशिक रोजगार विभागको सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा सात लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन् । अघिल्लो आर्थिक वर्षमा १५१ देशमा जानका लागि आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेहरूको संख्या ५० हजारको हारहारीमा घटेको छ । यो संख्या अघिलो वर्षभन्दा ४७ हजार ७९ ले कम हो । यो वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति प्रप्त गर्नेमा ६ लाख ९७ हजार ९६ पुरुष रहेका छन् भने ९५ हजार ९१ महिला छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा श्रम स्वीकृति प्राप्त गर्ने महिलाको संख्या भने झण्डै एक हजारले बढेको छ । संस्थागत रूपमा म्यानपावर कम्पनीमार्फत विदेश जाने श्रमिकको संख्यामा उल्लेख्य गिरावट आएको तथ्यांकले प्रस्तुत गरेको छ । गत आर्थिक वर्ष म्यानपावर कम्पनीमार्फत दुई लाख ६८ हजार ९९० जना विदेश प्रलायन भएका छन् । व्यक्तिगत श्रम स्वीकृतिमार्फत एक लाख २८ हजार ५२० जना वैदेशिक रोजगारीमा गएका छन् भने सरकार-सरकार (जी-टु-जी) प्रणालीबाट आठ हजार १९७ जना विदेश गएका छन् । अघिल्लो आर्थिक वर्षमा भने म्यानपावर कम्पनीमार्फत तीन लाख ५९ हजार ६७५ जना श्रमिक विदेश गएका थिए । त्यसको तुलनामा गत आर्थिक वर्ष यस्तो संख्या ९० हजार ६८५ ले घटेको विभागको विवरणमा उल्लेख छ ।
दक्ष जनशक्ति विदेशिने क्रम बढ्यो
वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै दक्ष जनशक्ति रहेका छन् । दक्ष श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेहरूको संख्या मात्रै चार लाख ८२ हजार ६४३ रहेको छ भने एक हजार ९६ जना उच्च सीप भएका व्यक्तिहरूले श्रम स्वीकृति लिएर विदेश गएका छन् साथै पछिल्लो समय प्रोफेसनल व्यक्तिहरू पनि विदेशिने क्रम बढेको विभागको तथ्यांकले देखाएको छ । गएको आर्थिक वर्षमा मात्रै तीन हजार ५७० जना प्रोफेसनल व्यक्तिहरू विदेशिएका हुन् । श्रम स्वीकृति लिएर विदेशिनेमा अर्धदक्ष श्रमिकहरूको संख्या एक लाख १४ हजार ६१४ रहेको छ भने एक लाख ९० हजार २६४ जना अदक्ष श्रमिक रहेका छन् ।
युएई बन्यो पहिलो गन्तव्य
गन्तव्य मुलुकका आधारमा हेर्दा पहिलो रोजाई संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । विभागको तथ्यांकअनुसार पहिलो पटक जाने र बिदामा आएर फर्किने समेतको तथ्यांक जोड्दा एक वर्षको अवधिमा एक लाख ८३ हजार ५८० जना पुगेको छ । युएईपछि मलेसिया र कतार दोस्रो गन्तव्य बनेका छन् । यो एक वर्षको अवधिमा मलेसिया जानका लागि एक लाख ३२ हजार ६४६ जनाले श्रम स्वीकृति लिएका छन र खाडीको देश कतार जानका लागि एक लाख ३२ हजार ५१ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै, साउदी अरेबिया जानका लागि एक लाख २४ हजार ५८३ रहेको छ भने कुवेत जानका लागि ४३ हजार ३६० जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि प्रस्थान गरेको विभागको तथ्यांकले प्रस्तुत गरेको छ ।
युरोपेली देशमा जानेहरूको संख्या बढ्दो
केही वर्ष अघिसम्म नेपालबाट रोजगारीमा जानेहरूको प्रमुख गन्तव्य युएई, कतार, साउदी, मलेसिया र कुवेतपछि युरोपेली देश रोमानिया रोजाइमा परेको तथ्यांकमा उल्लेख गरिएको छ । एक वर्षमा ३३ हजार ९२० जनाले रोमानिया जानका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । रोमानियापछि श्रम जापान जानेहरूको संख्या धेरै रहेको छ । श्रम स्वीकृति लिएर कामकै लागि एक वर्षमा २२ हजार २६६ जना नेपाली जापान गएका छन् । रोमानियासँगै साइप्रस, क्रोयसिया, टर्की, मसिसस, माल्टा, पोर्चुगल, सर्बिया, बुल्गेरिया, ग्रिस, पोल्याण्ड, अस्ट्रिया जस्ता देशमा जाने नेपालीको संख्या पनि बढ्न थालेको तथ्यांकले देखाएको छ । एक वर्षको अवधिमा ११ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् भने क्रोयसिया जानका लागि सात हजार ६६२ जनाले, टर्की जानका लागि ६ हजार ३७०, मरिसस जानका लागि ६ हजार ३३४, टर्कीका लागि ६ हजार ११० जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो संख्या पहिलो पटक विदेश जाने र बिदामा आएर फर्किनेहरूको समेत हो ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया