श्रावण ४, २०८३ सोमबार July 20, 2026

संयुक्त सरकार गठन गर्ने प्रस्तावमा कांग्रेसको अस्वीकार

युक्त सरकार बनाउँदा लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने तर्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशमा प्रमुख तीन दल मिलेर संयुक्त सरकार गठन गर्ने प्रस्ताव अस्वीकार गरेको छ । कांग्रेसले प्रदेशसभामा रहेको प्रमुख दलहरू नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग मिलेर संयुक्त सरकार नबनाउने स्पष्ट अडान राखेको हो । प्रमुख दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने भन्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असहमति जनाउनुभएको हो ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले संयुक्त सरकार बनाउँदा लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने तर्क पनि गर्नुभएको छ ।

सभापति थापाले तीन दलीय सरकार बनाउनु जनताले दिएको म्याण्डेटविपरीत हुने र कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभएको छ । विगतमा सत्ताकै लागि पार्टीले गल्ती गरेको स्वीकार गर्नुभएका सभापति थापाले अब सिद्धान्तमा सम्झौता नगर्ने दाबी गर्दै भन्नुभयो, ‘प्रदेश सरकारको सन्दर्भमा धेरैले हाम्रो भूमिका के हुन्छ ? भनेर सोध्नुहुन्छ । परिणाम जे भए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन । विगतका गल्ती दोहोर्‍याउँदैनौँ । तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ । तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु हो ।’

सत्तालाई नै सबैथोक मान्ने सोचका कारण ०७२ सालयता राजनीति अस्थिर र दिशाहीन बनेको थापाको टिप्पणी छ । राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै उहाँले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने अवस्थाले गर्दा राजनीतिको शाख गिरेको दाबी गर्नुभयो । सत्ता नै सबै कुरा हो भन्ने मान्यताले कांग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको सभापति थापाको बुझाइ छ ।

चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको जिकिर गर्नुभएका सभापति थापाले कांग्रेस अब सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा नलागी आधारभूत सिद्धान्त र नागरिकको अपेक्षाप्रति इमानदार रहनुपर्नेमा जोड दिनुभयो । अहिलेको कांग्रेस नेतृत्वले पार्टीका भवन वा अनुहार नभई सोच र प्राथमिकता परिवर्तन गर्न खोजेको दाबी गर्दै सभापति थापाले भन्नुभयो, ‘हामीले बदल्ने भनेको हाम्रो सोच्ने तरिका र प्राथमिकता हो । एउटासँग मिलेर चुनाव लड्यौँ, चुनावपछि अर्कोसँग सरकार बनायौँ । को सरकार पक्ष हो, को प्रतिपक्ष हो भन्ने अवस्था नै रहेन । आज बिहानसम्म सत्ता पक्षमा रहेको भोलिपल्ट प्रतिपक्षमा पुग्ने र प्रतिपक्षमा रहेको सत्ता पक्ष बन्ने अवस्था सिर्जना भयो ।’

पार्टीका संस्थापक तथा अग्रज नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर राणा लगायतले कठिन परिस्थितिमा पार्टी सञ्चालन गरेको अनुभवबाट सिक्दै कांग्रेसलाई आगामी पुस्ताले गर्व गर्ने पार्टीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै सभापति थापाले भन्नुभयो, ‘अझ गाउँ–गाउँमा हुनुहुन्छ, साना–साना नेताहरू पनि हुनुहुन्छ । जिल्ला-जिल्लामा हुनुहुन्छ । उहाँहरूले हिजो अप्ठ्यारो बेलामा नेपाली कांग्रेस पार्टी जसरी चलाउनु भएको हो, त्यसबाट सिकेर यो बेलामा नेपाली कांग्रेस पार्टी त्यसरी मात्रै चलायौँ भने हामीले आगामी पुस्ताका निम्ति सबैभन्दा गौरव गर्ने पार्टी कांग्रेसलाई बनाउन सक्छौँ ।’

युवा प्रतिनिधित्व बढाउने दाबी

सभापति थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताउनुभएको छ । सबै निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीनजना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको उल्लेख गर्दै भन्नुभयो, ‘यस पटक पार्टीको वैधानिक संरचनामा हामीले प्रत्येक वडाबाट प्रतिनिधिहरू छानेर आउँदै गर्दाखेरी ३० वर्षभन्दा मुनिको यति संख्यामा हुनैपर्छ भनेर हामीले क्रियाशीलबाट छानिने प्रतिनिधिहरूबाटै छानेर बनाएका छौँ । त्यस्तै, ३५ वर्षभन्दा मुनिको एउटा निर्वाचन क्षेत्रबाट तीनजना महाधिवेशन प्रतिनिधि अनिवार्य रूपमा हुनेगरी, अहिले जो हामी पहिला २५ भन्छौँ । हामीले अहिले थपेर ३१ बनाएका छौँ र त्यहाँ तीनजना साथीहरू ३५ वर्षभन्दा मुनिको आउनुहुन्छ ।’ सभापति थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’ को उपाधि कहिल्यै ननासिने बताउनुभएको छ । कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आइतबार नखिपोटमा आयोजना गरेको सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा उहाँले स्वतन्त्रताका लागि नेता भट्टराईले गरेको योगदानको सम्मानस्वरूप नेपाली जनताले ‘सन्तनेता’को उपाधि दिएका बताउनुभयो ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र र पर्यटन प्रवर्द्धनमा नेपाल-चीन सहकार्य विस्तार गर्ने सञ्चार मन्त्रीको प्रतिबद्धता
२०८३ श्रावण ४, सोमबार
एमाले बागमती ‘पर्ख र हेर’को नीतिमा
२०८३ श्रावण ४, सोमबार
त्रिभुवन विमानस्थलबाट अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद
२०८३ श्रावण ४, सोमबार
आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
२०८३ श्रावण ४, सोमबार
विवाद घर घरमा, मेलमिलाप पालिकामाविवाद घर घरमा, मेलमिलाप पालिकामा
२०८३ श्रावण ४, सोमबार
संयुक्त सरकार गठन गर्ने प्रस्तावमा कांग्रेसको अस्वीकार
२०८३ श्रावण ४, सोमबार
एक वर्षमा विदेशिए झण्डै आठ लाख नेपाली
२०८३ श्रावण ४, सोमबार