श्रावण ५, २०८३ मंगलबार July 21, 2026

प्रदेशमा वाम गठबन्धनको कसरत

केन्द्रको निर्णयअनुसार प्रदेशले निर्णय गरेर जाने कांग्रेस–एमाले दुवै दलका प्रदेशस्तरीय नेताहरूले बताएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : डेढ वर्षदेखि चलिरहेको कांग्रेस–एमाले प्रदेश सत्ता गठबन्धन भत्किने स्थिति आएपछि दुवै दल नेपाली कम्युनिस्ट पार्टीलाई आफूतर्फ तान्न प्रयास गरिरहेका छन् । नेकपाले भने नयाँ गठबन्धन बनाउन दुवैतर्फ ढोका खोलेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेश सरकार ढल्ने स्थितिमा पुगे पनि अरू प्रदेशमा कांग्रेस, एमाले र नेकपा पार्टी केन्द्रको निर्णय पर्खेर बसेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले श्रीलंकाको भ्रमण सकेर स्वदेश फर्केलगत्तै राजनीतिक संवाद बढाएका हुन् । श्रीलंका जानुअघि उनले कांग्रेसका सभापति गगन थापासँग छलफल गरेका थिए । गगन–प्रचण्ड भेटपछि नै कांग्रेसले पदाधिकारी बैठकबाट एमालेसँग गठबन्धन तोड्ने निर्णय गरेको थियो । सोहीअनुसार, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कांग्रेस र नेकपा मिलेर अविश्वास प्रस्ताव दर्ता गराएका छन् । त्यस्तै, सुदूरपश्चिममा सत्ता संकटमा परेका मुख्यमन्त्रीलाई नेकपाले मत दिने स्थानीय समझदारी बनेको छ । सुदूरमा नेकपा र कर्णाली सरकार कांग्रेसले नेतृत्व गर्ने सहमति भइसक्दा नेकपाभित्र वामपन्थी गठबन्धनका लागि दबाब बढेको छ । सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेतलगायत नेताहरू एमालेसँग सत्ता साझेदारी गर्नुपर्ने पक्षमा उभिएपछि प्रचण्डले पुनः छलफल थालेका हुन् ।  स्वदेश फर्किएपछि सोमबार बिहानै उनले पार्टी सहसंयोजक नेपाललाई भेटेर प्रदेशमा नयाँ सत्ता सहकार्यबारे परामर्श लिए । लगत्तै एमालेसँग संवादमा रहेका नेताहरू प्रमेश हमाल, वर्षमान पुनलगायत नेताहरूलाई भेटेर ब्रिफिङ लिए ।

प्रचण्ड र नेपालबीच समग्र राजनीतिक अवस्था, सरकारले गरिरहेका गतिविधि तथा प्रदेशस्तरमा फेरिएको समीकरणबारे छलफल भएको नेताहरूले बताएका छन् । प्रचण्ड–माधव भेटवार्तामा कांग्रेस र एमाले दुवैसँग संवाद गरेर ‘कम्फर्टेबल’ अवस्थामा सहकार्यको हात अघि बढाउने छलफल भएको नेता वर्षमान पुनले जानकारी दिए ।

प्रचण्ड श्रीलंकामा रहँदा नेता नेपालले पुन र हमाललाई नयाँ समीकरणबारे संवाद गर्ने जिम्मेवारी दिएका थिए । यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सत्ता सहकार्यको विषय टुंगो लगाउने कुरा भएको पुनले बताए । ‘कांग्रेस र एमालेबीचको सत्ता सहकार्य अन्त्य भएकै हो भने प्रदेशलाई हामीले सरकारविहीनताको अवस्था हुन दिदैनौँ,’ उनले मध्यान्हसँग भने, ‘छलफलले आकार लिइसकेको छैन, तर हामी कांग्रेस र एमाले दुवै दलसँग आवश्यक संवादमै छौं ।’

करिब दुई वर्षदेखि सत्ता सहकार्यमा रहेका कांग्रेस–एमालेबीच सुदूरपश्चिम प्रदेशबाट समस्या उत्पन्न भएको थियो । अहिले सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिएपछि कांग्रेस अल्पमतमा छ भने कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि कर्णालीमा एमाले सरकार अल्पमतमा छ । लुम्बिनी, बागमती र कोशीमा दलहरू केन्द्रको निर्णय पर्खेर बसेका छन् ।

प्रदेशमा तीनै दल मिलेर सरकार चलाउन सकिनेबारे पनि नेकपाले प्रस्ताव गरेको छ । तर, कांग्रेस सबै दल मिलेर सरकार बनाउने पक्षमा नरहेको प्रस्ट पारिसकेको छ । उपसभापति विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेशसभाको कल्पना नगरेको बताए । सत्ताका लागि तीन दल मिलेर जाने अवस्था नरहेको जिकिर गर्दै उनले भने, ‘हामी प्रतिपक्षमा बस्न तयार छौं, तर प्रतिपक्षीविहीन प्रदेशसभाको परिकल्पना कांग्रेसले गरेको छैन । प्रतिपक्षसहितको प्रदेश सरकार हाम्रो बटमलाइन हो ।’ वर्तमान संविधान निर्माण गर्दै गर्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले आजको प्रतिकूल परिस्थितिमा संविधान संशोधनको छलफल पनि चलिरहेको बेलामा त्यसको मूल मर्मलाई भंग गर्न नमिल्ने शर्माको तर्क छ । ‘प्रदेशगत सरकारहरूको सन्दर्भमा नागरिकको अभिमतभन्दा बाहिर गएर सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता कांग्रेसले राख्दैन,’ उनले भने ।

केही प्रदेशमा कुरा नमिले पनि संघीयताको मर्मअनुसार कुरा मिल्ने दलहरूबीच प्रदेशस्तरमै छलफल गरेर सरकार बनाउन सक्ने बाटो खुला रहेको कांग्रेसले जनाएको छ । नेकपा र एमालेले भने कम्युनिस्ट पार्टीहरूबीच सत्ता सहकार्य गरेर जान सके आगामी दिनमा वाम गठबन्धन पनि सहज हुने अपेक्षा गरेका छन् । एमाले अध्यक्ष ओली लचिलो भएर नेकपासँग सहकार्य गर्न खोजे संवाद बढाउन नेकपा सकारात्मक रहेको नेता प्रमेश हमालले बताए । ‘पछिल्लो समय ओली प्रचण्डसँग लचिलो भएर थप छलफल गर्न लागेको बुझिएको छ,’ उनले भने, ‘यदि ओली लचिलो भएमा नेकपा र एमालेबीच प्रदेशको सत्ता समीकरणबारे संवाद हुन्छ, र आगामी कम्युनिस्ट एकताको विषयसमेत अघि बढ्न सहज हुन्छ ।’

नेकपाका नेता झलनाथ खनालले कांग्रेससँग सहकार्य नगर्न पार्टीलाई यसअघि नै सुझाव दिइसकेका थिए । ‘वामपन्थीहरूले आपसका आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर एकताको पहल गर्नुपर्छ,’ खनालको भनाइ थियो ।

सोमबार नै प्रचण्डले ओलीलाई भेट्न तयार भए पनि एमालेको बैठकलगायत कारण भेट नभएको नेताहरूले बताएका छन् । प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यले नेताहरूबीच भेटवार्ता गर्ने योजना भए पनि समयअभावका कारण ओलीसँग भेट नभएको बताए ।

कांग्रेस सभापति थापासँग पनि सम्भावित सत्ता समीकरणबारे प्रचण्डले फोन संवाद गरिरहेका छन् । तर, प्रचण्डले एमालेसँग गठबन्धन तोडेको औपचारिक निर्णय भएपछि मात्रै कांग्रेससँग थप संवादलाई मूर्त रूप दिने नेकपाका नेता देवप्रसाद गुरुङले बताए । उनले भने, ‘अहिले कांग्रेस र एमालेको सत्ता सहकार्य छँदै छ । यो अवस्थामा हामीले राजनीतिक अस्थिरताको कुरा गर्दैनौं । तर, कांग्रेसले औपचारिक रूपमा गठबन्धन फुटेको निर्णय नै गरेको हो भने सत्ता सहकार्यको विषयमा छलफल अघि बढाउँछौं ।’

कांग्रेसले पनि सबै प्रदेशमा एमालेसँगको सहकार्य नटुटाएको बताएको छ । कांग्रेस महामन्त्री गुरुराज घिमिरेले भने, ‘केही प्रदेशमा त्यहाँकै साथीहरूबीच कुरा नमिल्दा सहकार्य अन्त्य भएको हो । तर, सबै प्रदेशमा एमालेसँगको सत्ता सहयात्रा टुटाएका छैनौं ।’ एमालेले पनि आफ्नो मुख्यमन्त्री भएका प्रदेशमा कांग्रेसका नेताहरूलाई फकाउने र कांग्रेसका मुख्यमन्त्री भएका प्रदेशमा समेत तत्कालै सरकारबाट नबाहिरिने नीति लिएको छ । केन्द्रको निर्णयअनुसार प्रदेशले निर्णय गरेर जाने कांग्रेस–एमाले दुवै दलका प्रदेशस्तरीय नेताहरूले बताएका छन् । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार
देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिले पठाए समवेदना सन्देश
२०८३ श्रावण ५, मंगलबार
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
२०८३ श्रावण ५, मंगलबार
नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन : नेता पुन
२०८३ श्रावण ५, मंगलबार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
२०८३ श्रावण ५, मंगलबार
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ श्रावण ५, मंगलबार