श्रावण ७, २०८३ बिहिबार July 23, 2026

बीपी स्मृति दिवसमै कांग्रेसमा विग्रह

कांग्रेसको संस्थापनइतर समूहले साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा आफ्ना संस्थापक नेता बीपी (विश्वेश्वरप्रसाद) कोइरालाको स्मृति दिवसकै दिन विभाजनको विजारोपण भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवस बुधबार कांग्रेसका दुई गुटले छुट्टाछुट्टै मनाएका छन् । युगपुरुष जननायक बीपी कोइरालाको स्मृति दिवसलाई राजनीतिक वृत्तमा र विशेष गरी बीपी स्वयंले स्थापना गर्नुभएको पार्टी नेपाली कांग्रेसले टोलदेखि केन्द्रीय कार्यसमितिसम्म विभिन्न प्रकारका कार्यक्रम आयोजना गरी मनाउँदै आएको थियो । तर, यसपटक नेपाली कांग्रेसका नयाँ र पुराना संस्थापन पक्षबीचको आन्तरिक द्वन्द्वले स्वयं बीपीलाई दुई चिरामा विभाजन गरिदिएको छ । जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको हो । संस्थापन र संस्थापनइतर पक्षले बुधबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेसँगै इतर पक्षका नेताहरूले नयाँ पार्टी गठनसम्मको बहस अघि सारेका छन् ।

संस्थापनइतर पक्षले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको बीपी स्मृति सभामा बोल्ने अधिकांश नेताहरूले गगन थापाको नेतृत्वमा अघि बढ्न नसकिने धारणा राख्दै नयाँ राजनीतिक दल गठन गर्नुपर्ने आवाज उठाएका छन् । नेता मोहनबहादुर बस्नेतले अब सहमतिको सम्भावना सकिएको दाबी गर्दै नयाँ पार्टी गठनका लागि नेतृत्व पछि हट्न नहुने जिकिर गर्नुभयो । नेता नारायणप्रकाश साउदले पार्टीभित्रका सबै पक्षबीच राजनीतिक एकता कायम नभएसम्म नेपाली कांग्रेस प्रभावकारी र शक्तिशाली बन्न नसक्ने टिप्पणी गर्नुभयो ।

विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवसमा ललितपुरमा ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको थियो । ‘ग्रीन रन’ प्रतियोगितापछि जावलाखेलमा जलवायु परिवर्तनसम्बन्धी विज्ञहरूका बीचमा छलफल कार्यक्रम गरिएको थियो । बीपी स्मृति दिवसकै अवसरमा संस्थापन कांग्रेसले मानव सहायता कल्याण कोष स्थापनाको घोषणा पनि गरेको छ । पार्टीको अन्य राजनीतिक विषय तथा अभियानका बारेमा आज (बिहीबार) दिउँसो २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरिएको छ । यससँगै कांग्रेसले यस वर्ष बीपी स्मृति दिवस दुई अलग कार्यक्रममार्फत मनाएको हो ।

गत पुसको अन्तिम साता तत्कालीन केन्द्रीय समितिको असहमतिबीच भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसभित्र विवाद चरमोत्कर्षमा पुगेको छ । कांग्रेस नेताहरूकै भनाइलाई आधार मान्ने हो भने दुई पक्षका गतिविधि र क्रियाकलाप फरक-फरक पार्टीका जस्तै भइसकेका छन् । पार्टी विभाजनको घोषणा हुनमात्रै बाँकी छ । देउवा समूहको शुक्रबार बसेको बैठकले कांग्रेसभित्र सहमतिको सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्ष निकालेको थियो । त्यही निष्कर्षका आधारमा संस्थापनसँग एकताका लागि सो पक्षले पाँच बुँदे सर्त राखेको छ ।

तर, संस्थापन पक्ष त्यो सर्त मान्न तयार छैन । गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद समाधान हुन नसक्दा नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष झन् तीव्र बन्दै गएको छ । नेतृत्व चयन, संगठनात्मक निर्णय र आगामी राजनीतिक कार्यदिशालाई लिएर संस्थापन र संस्थापनइतर समूहबीचको मतभेद गहिरिँदै जाँदा पार्टी विभाजनको डिलमा उभिएको हो । दुवै पक्षले एक-अर्कामाथि पार्टीको विधि, विधान र लोकतान्त्रिक अभ्यासविपरीत अघि बढेको आरोप लगाइरहेका छन् । पछिल्लो समय संस्थापनइतर समूहले छुट्टै भेला, परामर्श र शक्ति प्रदर्शनलाई तीव्रता दिएको छ । यसले पार्टीभित्रको ध्रुवीकरण थप स्पष्ट बन्दै गएको देखाएको छ । दुवै समूहका बीचमा देखिएको अविश्वास, आरोप-प्रत्यारोप र समानान्तर गतिविधिका कारण कांग्रेस विभाजनको संघारमा पुगेको विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ ।

सभापति गगनमाथि खनिए इतरपक्षका नेता

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा कांग्रेसको संस्थापनइतर पक्षले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा सहभागी नेताहरूले सभापति गगन थापाको चर्को आलोचना गरेका छन् । इतर समूहका नेता जितजंग बस्नेतले सभापति थापाको खुट्टामा बीपी कोइरालाको नभएर सेनाको जुत्ता रहेको टिप्पणी गर्नुभएको छ । सभापति थापाले केही समय पहिले कांग्रेसभित्रको विवादका विषयमा आफूले बीपीको जुत्तामा खुट्टा हालेको अभिव्यक्ति दिनुभएको थियो । सोही प्रसंगलाई कटाक्ष गर्दै बस्नेतले भन्नुभयो, ‘गगनजीले एउटा कुरा भन्नुभो– मैले बीपीको जुत्ता लगाएको छु भनेर । मैले बेलुका यसो विचार गरेँ, बीपीको जुत्ता त होइन रहेछ । त्यो भद्रकालीको सेनाको जुत्ता लाको हो कि भन्ने मलाई याद आयो ।’ कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले गगन थापा अन्यत्र कतैबाट सञ्चालित छन् भन्ने गिरिजाप्रसाद कोइरालाको भनाइ अहिले आएर पुष्टि भइरहेको आरोप लगाउँदै भन्नुभयो, ‘हामी अहिले सम्झिन्छौँ, गिरिजाप्रसाद कोइरालाले त्यसबेला भनेको कुरा गगन थापा कहीँबाट सञ्चालित छन् भन्ने प्रमाणित हुँदै छ । नांगो आँखाले देखिँदै छ । त्यसबेला गिरिजाबाबुको विरुद्ध उनीहरूले कपाल खौरेर विरोध गरेको बिर्सन हुँदैन ।’

कांग्रेस सूदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी एकताका लागि आफूहरू लचक रहेको तर संस्थापन पक्षले यसलाई सामान्य रूपमा लिएको आरोप लगाउँदै भन्नुभयो, ‘यदि हामीलाई नजरअन्दाज गर्नुभयो, म चुनौतीका साथ भन्छु, अझै पनि हामी लक्ष्मणरेखाको भित्रै छौँ । तोडिसकेका छैनौँ, यदि हामीलाई बाध्य बनाउन थाल्नुभयो भने समय टाढा छैन । शुभमुहूर्त सुरु भएको छ ।’

निष्क्रिय बस्नेवाला छैनौँ, युवालाई अघि सारेर हिँड्दै छौँ : खड्का

कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा सम्मानका लागि कहिल्यै सम्झौता नगर्ने चेतावनी दिनुभएको छ । पार्टी संस्थापनइतर समूहले बीपी स्मृतिको अवसरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै निवर्तमान सभापति खड्काले पार्टी सभापति गगन थापाले नचाहेसम्म पार्टी एक हुन नसक्ने बताउनुभएको हो । मिलाउनेतर्फ पार्टी सभापतिसहितका नेताहरूको ध्यान नगएको आरोप लगाउँदै खड्काले भन्नुभयो, ‘कोही पनि निष्क्रिय बस्नेवाला छैनौँ । हामी युवालाई अघि सारेर युवाहरूको रक्षा कवज भएर हिँड्न तयार छौँ ।

कहीँ पनि भ्रम नहोस् । यी नेता आफैँ हुन खोजेका छन् भन्ने भ्रम नहोस् । नेपाली कांग्रेस स्थापनाकालदेखि पहिलो पटक प्रतिकूल अवस्थामा पुगेको छ । सम्मानका लागि पञ्चायतमा पनि लडियो । बरु मर्न तयार भइन्छ सम्मानमा सम्झौता गर्न सक्दैनौँ ।’ पार्टी एकताका लागि जोड दिँदा बार्गेनिङको ट्याग लगाइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘हामी विशेषलाई स्वीकार्न तयार । गगनजी नेतृत्वलाई पूर्णता दिन १४औँ को केन्द्रीय समितिलाई मिलाएर पूर्णता दिनुस्, हामीलाई जोड्नुस् भन्दा बार्गेनिङ हुन्छ ?’

शेखरको चेतावनी- ‘कांग्रेसमा हुकुमी शासन स्वीकार्य हुँदैन’

कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर हुँदा देश अराजकतातिर गइरहेको दाबी गर्नुभएको छ । बुधबार इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले भन्नुभयो, ‘संसद् छ कि छैन ? सांसदहरूलाई थाहा छैन । के हुँदै छ थाहा छैन । नेपाली कांग्रेस पनि हुकुमी शासनको हिसाबले चलिरहेको छ । वडा सभापतिहरूलाई बिना स्पष्टीकरण निकालिएको छ । त्यो हामीलाई सैह्य हुन सक्दैन । कांग्रेसभित्र निरंकुशताको जन्म भएको छ ।’ नेता कोइरालाले पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबीच राष्ट्रिय हितका लागि एकता अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वको रहेको स्पष्ट पार्दै भन्नुभयो, ‘अन्यथा पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ ।’

गगनलाई सिटौलाको आग्रह- ‘पार्टी एकताका लागि अकपट बन्नुस्’

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति गगन थापालाई पार्टी एकताको वातावरण बनाउन आग्रह गर्नुभएको छ । इतर पक्षले कुनै छलछाम नगरेको दाबी गर्दै सिटौलाले भन्नुभयो, ‘अझै पनि भन्न चाहन्छौँ, तपाईँ गगन थापा साहसी बन्नुस्, अकपट बन्नुस् । असंकोच भएर, खुला छाती राखेर मैले जोडेँ कांग्रेस भन्ने आँट गर्नुस् । तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुस्, तपाईँपट्टि आउन नदिनुस् । यति आँट छैन तपाईँमा ?’

साउनभित्र सहमति नभए नयाँ कार्यदिशामा जान्छौँ : निधि

कांग्रेस नेता विमलेन्द्र निधिले पार्टीलाई निर्वाचन आयोग र सर्वोच्च अदालतको आदेशमा विभाजित गरिएको आरोप लगाउनुभएको छ । विशेष महाधिवेशनले पार्टी विभाजन भएपछि आफूहरूले एकताको प्रयास गरिरहेको उहाँको दाबी छ । सभापति गगन थापामा नेतृत्व गर्ने क्षमता नै नभएको टिप्पणी गर्दै निधिले भन्नुभयो, ‘हामीले अघि सारेको धारणा स्वीकार गरे पार्टी एक हुन्छ, देश संकटमा छ, हामी एकताबद्ध हुनुपर्छ, हामीले साउन अन्तिममा राष्ट्रिय भेला गर्दै छौँ, साउन अन्तिमसम्ममा कुनै सहमति नभए नयाँ कार्यदिशामा जान्छौँ ।’

साउन २९ गते राष्ट्रिय भेला गर्ने कांग्रेस इतरको घोषणा

नेपाली कांग्रेसको संस्थापनइतर समूहले साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ । बुधबार बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गर्नुभएको हो । उहाँका अनुसार स्थान भने पछि तोकिने छ ।

उहाँले राष्ट्रिय भेलाबाट आवश्यक निर्णय लिइने बताउनुभयो । ‘मलाई भेट्न आउने कार्यकर्ताहरूले तपाईं नेताहरूले धेरै ढिला गर्नुभयो भनिरहेका छन्, तर हामी त्यसै सुतेर बसेका छैनौँ’, नेता सिंहले भन्नुभयो । ‘हामीले सातै प्रदेशमा भेला गरिसकेका छौँ’, उहाँले भन्नुभयो, ‘यो भेलापछि हामी आफ्नो बाटो लिन्छौँ ।’ सम्बोधनका क्रममा नेता सिंहले १५औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताउनुभयो । विशेष र नियमित महाधिवेशनको कारणले पार्टी विभाजित अवस्थामा रहेकाले एकताबद्ध हुनुपर्ने उहाँको भनाइ छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया