श्रावण ११, २०८३ सोमबार July 27, 2026

तीन वर्षपछि पनि एनसेल सरकारीकरण हुन नदिन चलखेल

सरकारी स्वामित्वमा आइसकेको सम्पत्ति लिलामीमा १० गुणा बढी मूल्य कबोल गरेर खरिद गरिएको प्रकरणमा सिआइबीले मुद्दा दर्ताको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अबको तीन वर्षपछि अर्थात् सन् २०२९ मा निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल विद्यमान कानुनी व्यवस्थाअनुसार स्वतः सरकारीकरण हुनुपर्ने हो । नेपालको दूरसञ्चार ऐनअनुसार निजी क्षेत्रले लगानी गरेको कम्पनी २५ वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने कानुनी प्रावधान छ । एनसेलले अनुमतिपत्र पाएको सन् २०२९ मा २५ वर्ष पूरा हुँदै छ । तर, एनसेल अहिले नै सरकारसँग यो व्यवस्थाबाट पछि हट्न र आफ्नो लगानीको निरन्तरता सुनिश्चित गर्न कसरत गरिरहेको छ । यसैक्रममा कम्पनीले विभिन्न कानुनी छिद्र, राजनीतिक प्रभाव र तर्कहरूको सहारा लिँदै सरकारीकरण टार्ने खेल तीव्र पारेको हो ।

एनसेलले २५ वर्षपछि पनि अनुमतिपत्रको निरन्तरता पाउनुपर्ने पक्षमा ६ वटा मुख्य आधार तथा तर्कहरू पेस गरेको छ । एनसेलले आफूलाई देशकै ठूला करदातामध्ये एक दाबी गर्दै हालसम्म राष्ट्रिय राजस्वमा तीन खर्ब ७५ अर्बभन्दा बढी योगदान पुर्‍याएको जनाएको छ । निरन्तरता भएमा आगामी दिनमा पनि राज्यको वित्तीय स्रोतमा ठूलो टेवा पुग्ने एनसेलको तर्क छ ।

२० वर्षभन्दा बढीको सेवा अनुभवलाई आधार बनाउँदै एनसेलले लाइसेन्स पुनः जारी भएमा फाइभजी तथा अन्य नयाँ प्रविधिमा लगानी गर्न उत्प्रेरणा मिल्ने र डिजिटल विकासमा अवसर खुल्ने जिकिर गरेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एक लाखभन्दा बढी नेपालीलाई रोजगारी दिएको र नयाँ पुस्तामा प्रविधि तथा ज्ञान हस्तान्तरणका लागि कम्पनीको निरन्तरता आवश्यक रहेको एनसेलको दाबी छ । विदेशी प्रत्यक्ष लगानीको एक सफल उदाहरणको रूपमा प्रस्तुत गर्दै एनसेलले अनुमतिपत्रको निरन्तरताले नेपालमा विदेशी लगानी संरक्षण र संवर्द्धनमा सकारात्मक सन्देश जाने तर्क गरेको छ ।

मोबाइल बैंकिङ, फिनटेक, राइड-हेलिङ, ई-गभर्नेन्स, टेलिहेल्थ र साना तथा खुद्रा व्यवसायहरू जोडिएकाले करोडौँ नागरिक र व्यवसायीको जीविकोपार्जनमा असर पर्ने एनसेलको तर्क छ । डेटा सेन्टर र कृत्रिम बौद्धिकता जस्ता नयाँ प्रविधिको प्रवर्द्धनमार्फत नेपाललाई अन्य विकसित देशहरूको स्तरमा पुर्‍याउन नेटवर्क विस्तार आवश्यक रहेको एनसेलले तर्क गरेको छ । साथै, एनसेलले निरन्तरता नपाएमा आधुनिक पूर्वाधार विकासमा बाधा पुग्ने, एक करोड ४० लाख ग्राहक सेवाविहीन हुनसक्ने, डिजिटल अर्थतन्त्र रोकिने, विदेशी लगानीमा नकारात्मक असर पर्ने र स्मार्ट टेलिकम जस्तै प्रशासनिक ढिलाइले अर्थतन्त्र ठप्प हुने जस्ता ६ वटा प्रमुख जोखिमसमेत एनसेलले औँल्याएको छ ।

पुराना निर्णय सच्याउन माग गर्दै सरकारलाई दोस्रो पत्र

सेयर स्वामित्व परिवर्तनको विवाद समाधान गराउन र मन्त्रिपरिषद्का पुराना निर्णयहरू सच्याउन लगाउन एनसेलले हालै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई दोस्रो पटक पत्र पठाएको छ । यसअघि २३ पुस २०८२ मा तत्कालीन सरकारलाई पत्र पठाएको भए पनि सुनुवाइ नभएपछि कम्पनीले ६ साउनमा पुनः पत्र दर्ता गराएको हो । पत्रमा ६ फागुन २०८० को मन्त्रिपरिषद् निर्णय, अनुमतिपत्र नवीकरणका क्रममा लगाइएका सर्तहरू र दूरसञ्चार नियमावलीको दसौँ संशोधन कानुनविपरीत र विदेशी लगानीको प्रतिकूल रहेको दाबी गरिएको छ । ‘कानुन विपरीतको निर्णय र उक्त निर्णयका आधारमा अनुमतिपत्र नवीकरणका समयमा नेपाल दूरसञ्चार प्राधिकरणबाट तोकिएका अन्यायपूर्ण सर्तहरू समग्र विदेशी लगानी तथा दूरसञ्चार क्षेत्रको हितमा नरहेकाले पुनरावलोकन गरी सम्बन्धित निकायहरूलाई निर्देशन जारी गरिपाऊँ’, एनसेलको पत्रमा उल्लेख छ । कम्पनीले आवश्यक परेमा नेपाली नागरिक तथा संस्थाको स्वामित्व ५० प्रतिशतभन्दा माथि पुर्‍याई सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणलाई सेयर उपलब्ध गराउनसमेत तयार रहेको जनाएको छ ।

दूरसञ्चार प्राधिकरणमा दबदबा

एनसेलले आफ्नो प्रभाव विस्तार गर्न नियामक निकायभित्रै चलखेल गरेको गम्भीर विषय पनि बाहिर आएको छ । स्मार्ट सेल लिलामी प्रकरण मिलाउन र सरकारी स्वामित्वमा जाँदै गरेको एनसेललाई कम मूल्यांकनमा पुनः आफ्नो नियन्त्रणमा ल्याउने नियतले एनसेलकै पूर्व–कर्मचारीलाई दूरसञ्चार प्राधिकरणको सदस्य बनाइएको खुलेको हो ।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले १३ वर्ष एनसेलमा काम गरेर हालै मात्र स्वैच्छिक अवकाश लिनुभएकी सुजिता श्रेष्ठलाई प्राधिकरणको बजार व्यवस्थापन विज्ञ सदस्यमा नियुक्त गर्नुभएको हो । एनसेलको उच्च व्यवस्थापनको चलाखीपूर्ण कदमअन्तर्गत नै श्रेष्ठसहितका कर्मचारीहरूले आवेदन दिएर नियुक्ति पाएको स्रोतको दाबी छ । श्रेष्ठले आफ्नो सामाजिक सञ्जालको बायोमा समेत एनसेलमा १३ वर्ष काम गरेको उल्लेख गर्नुभएको छ ।

कम्पनीका अधिकांश तथ्यहरू लुकाउने गरेको अदालतको ठहर

सर्वोच्च अदालतले एनसेलले कम्पनी र जनसंख्याका विषयमा अधिकांश तथ्यहरू लुकाउने गरेको ठहर गरेको छ । १५ मंसिर २०८० को सेयर खरिदबिक्री अवैध रहेको भन्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले ११ पुस २०८१ मा पूर्ण पाठ सार्वजनिक गरेको हो । अदालतले एनसेलले पूर्ण खुलासाको सिद्धान्तविपरीत कार्य गरेको स्पष्ट पार्दै दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी नियमन गर्न निर्देशनात्मक आदेश दिएको छ । ‘विपक्षी एनसेल आजियाटा लिमिटेडले पूर्ण खुलासाको सिद्धान्तविपरीत कार्य गरेको र बुझाउनुपर्ने कागजातहरू नबुझाएको समेत ठहर भइसकेको अवस्थामा कानुनबमोजिम प्रभावकारी नियमन गर्नू, गराउनू’, अदालतको आदेशमा भनिएको छ । यसरी एकातिर सर्वोच्च अदालतको कडा निर्देशन र भ्रष्टाचारको छानविन चलिरहेको छ भने अर्कोतर्फ एनसेल आफ्नो अनुमतिपत्रको म्याद थप गराउन र सरकारीकरणको प्रक्रियाबाट बचाइदिन उच्च राजनीतिक तहमा निरन्तर लबिङ र पत्राचारमा जुटेको छ ।

मुद्दा दर्ता गर्ने सिआइबीको तयारी

यो सम्पूर्ण विवादको चुरो भने आजियाटा इन्भेस्टमेन्ट (युके) लिमिटेडले रेनोल्ड्स होल्डिङ्समा रहेको आफ्नो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गर्ने निर्णयसँग जोडिएको छ । स्पेक्ट्रलाइट गैरआवासीय नेपाली नागरिक सतिशलाल आचार्यको पूर्ण स्वामित्वको कम्पनी हो । तर, दूरसञ्चार नियमावलीअनुसार पूर्वस्वीकृति नलिइएको भन्दै सरकारले यो कारोबारलाई मान्यता दिएको छैन ।

यसैबीच, लाइसेन्स खारेज भइसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनआइएमबी बैंकमार्फत एनसेलले चार अर्ब ६० करोड रुपैयाँ तिरेर सकारेको विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एकसाथ अनुसन्धान गरिरहेका छन् । सरकारी स्वामित्वमा आइसकेको सम्पत्ति लिलामीमा १० गुणा बढी मूल्य कबोल गरेर खरिद गरिएको प्रकरणमा सिआइबीले मुद्दा दर्ताको तयारी गरिरहेको छ भने अख्तियारले पूर्व-सञ्चारमन्त्रीहरू र प्राधिकरणका अध्यक्षमाथि अनुसन्धान केन्द्रित गरेको छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया