काठमाडौं : आगामी मंसिरभित्र १५औं महाधिवेशन गर्न नसके नेपाली कांग्रेस निर्वाचन ऐनअनुसार स्वतः विघटनको बाटोमा पुग्छ । कांग्रेसको चारवर्षे कार्यकाल गत मंसिरमै सकिएको हो । यद्यपि, पार्टीको विधानमा रहेको विशेष व्यवस्थालाई तत्कालीन सभापति शेरबहादुर देउवाले उपयोग गर्दै महाधिवेशनको मिति सार्न खोजेपछि कांग्रेसमा विद्रोह भयो ।
तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विद्रोहस्वरूप भएको विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै फेर्यो । करिब ५७ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको यो विद्रोहसँगै कांग्रेस विभाजनको भुंग्रोमा आइपुगेको हो । लामो समयदेखि चर्किएको आन्तरिक विवादका बीच साउन ६ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवस कांग्रेसका दुईवटा समूहले छुट्टाछुट्टै मनाए । संस्थापन पक्षले ‘ग्रिन रन’ नाम दिएर ललितपुरमा पाँच किलोमिटर दौड प्रतियोगिता गर्यो भने इतर पक्षले प्रज्ञा प्रतिष्ठान कमलादीमा औपचारिक कार्यक्रम गर्यो ।
शेरबहादुर देउवा–शेखर कोइराला पक्षका अधिकांश पुराना नेताहरू सहभागी उक्त कार्यक्रममा वक्ताहरूले पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पार्टी एकता गर्न नचाहेको टिप्पणी गरे । ‘संवाद, सहमति र एकता आजको आवश्यकता’ नारा दिएर आयोजना गरिएको उक्त कार्यक्रममा अधिकांश वक्ताका सहमतीयभन्दा प्रतिशोधपूर्ण अभिव्यक्तिले कांग्रेस मिल्नेमा थप संशय बढेको छ ।
त्यसको भोलिपल्टै संस्थापन पक्षले अर्को कार्यक्रम गरेर पुराना नेताहरूको टिप्पणीको खण्डन गरे । एउटै दलका दुईवटा कार्यक्रममा देखिएको एक–अर्काप्रतिको अनादर अभिव्यक्तिले बिपी स्मृति दिवसलाई कांग्रेसले ‘विभाजनको औपचारिक प्रस्थान विन्दु’का रूपमा उपयोग गर्न खोजेको देखिन्छ । कांग्रेस नेता एनपी साउदले संस्थापन पक्षसँग वार्ता र संवादको माध्यमबाट समस्या समाधान खोजे पनि उनीहरूले चर्का कुरा मात्र गर्दै आएको बताए । ‘संस्थापनको जिम्मेवारी मिलाउने पनि हो, तर उनीहरूले वार्ताबाट समाधान खोज्न चाहेको देखिँदैन । उनीहरू बाहिर–बाहिर चर्का कुरा गरेर हिँडिरहेका छन् ।’
कांग्रेसले आगामी असोज १६–१९मा महाधिवेशनको मिति तय गरेको छ । तर, संस्थापन इतर पक्षले विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका निर्णय स्वीकार गरेको छैन । महाधिवेशनको पूर्वतयारी स्वरूप क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण, स्थानीय तह र जिल्ला अधिवेशनको तयारीमा रहेको कांग्रेसभित्रको विवाद थप पेचिलो बन्दै गएको छ । यसले समयमै महाधिवेशन हुनेमा शंका जन्माएको नेताहरूले बताएका छन् ।
यद्यपि, कांग्रेसले तोकिएकै समयमा महाधिवेशन गर्नका लागि आवश्यक पूर्वाधार तयारीको काम गर्दै आएको बताएको छ । नेताहरूले पार्टी विभाजन गरे पनि कांग्रेसले महाधिवेशनको फाउन्डेसन तयार भइरहेकाले महाधिवेशन रोक्ने अवस्था नबन्ने पार्टीका प्रवक्ता देवराज चालिसेले बताए । संस्थापन पक्षले असोजमा महाधिवेशन तयारी गर्दा इतर समूहका नेताहरू त्यसअघि नै राष्ट्रिय भेला बोलाएर छुट्टै महाधिवेशन गर्ने तरखरमा छन् । कांग्रेसका पुराना नेताहरूमा यस किसिमको तयारी र विभक्त मानसिकता विशेष महाधिवेशनबाटै रहेको भए पनि बिपीको स्मृति दिवसमा सार्वजनीक रूपमा आएको वरिष्ठ पत्रकार एवं विश्लेषक कुलचन्द्र वाग्लेले बताए । ‘बिपीको स्मृति दिवस जसले जहाँ मनाए पनि हुन्छ,’ उनले भने, ‘तर त्यसैलाई विभाजनको माध्यम बनाउनु दुःखद हो । संस्थापन इतर पक्षका नेताहरूले समानान्तर राजनीतिक कार्यक्रम गरेर संस्थापन पक्षसँग बार्गेनिङ गर्ने माध्यमका रूपमा पनि लिएको हुन सक्छ ।’
तत्कालीन दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनकै कारण पार्टी विभाजन हुने अवस्था आए आफूहरू पार्टी जोगाउन सबै कुरा छाड्न तयार रहेको बताएका थिए । त्यसबेला गगन थापाले भनेका थिए, ‘बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ ।’ त्यस्तै, विश्प्रकाश शर्माले पनि भनेका थिए, ‘म पार्टी फुट्ने अवस्था आएमा हलबाट सबैभन्दा पहिले निस्कन्छु ।’ थापा र शर्मा विशेष महाधिवेशनबाट सभापति र उपसभापति भएयता पार्टीमा नेताहरूबीच वारपारको अवस्था आएको छ ।
विशेष महाधिवेशनबाट आएको नेतृत्वबाट पुराना नेताहरूसँग संवादको अवस्था कमजोर भएको नेता साउदले दाबी गरे । ‘विशेष महाधिवेशका नाममा रोपिएको कलहको बीउ हुर्कैंदै जाँदा पार्टी विभाजनको डिलमा अड्किएको छ । यो अवस्थामा वर्तमान नेतृत्वले संवाद र सहमतिलाई अघि बढाउन सकेको अवस्था छैन ।’
इतर समूहका कतिपय नेताहरूले थापा–शर्माले सानेपा कब्जा गरेर पार्टीमा ४÷५ दशक लामो संघर्ष गरेका नेताहरूलाई पार्टी प्रवेशमा रोक लगाउन खोजेको आरोप लगाएका छन् । संस्थापन पक्षले भने सबै पक्षलाई मिलाएर लान तयार भएपनि सहमति र संवादमा आउन छाडेर नेताहरूमाथि सार्वजनिक गाली गलौचमा उत्रँदा सहमतिको बिन्दु थप टाढिने बताएको छ । नेताहरूको यो हर्कतले पार्टीको १५औं महाधिवेशन हुनेमा संशय बढेको कांग्रेसका युवानेता भूपेन्द्रजंग शाही बताउँछन् ।
१४औं महाधिवेशनबाट निर्वाचित १११ जना केन्द्रीय समितिलाई वर्तमान केन्द्रीय समितिसँग मर्ज गराउन र क्रियाशील सदस्यता अद्यावधिकलाई निरन्तरता दिएर गत पुस १०सम्म नवीकरण तथा वितरण भएका सदस्यबाटै १५औं महाधिवेशन गराउनुपर्ने संस्थापन इतर समूहको माग छ । संस्थापन पक्ष भने विशेष महाधिवेशनबाट पारित विधानभन्दा बाहिर गएर राखिएका माग स्वीकार गर्न नसकिने अडानमा छ ।
यस्तो दोहोरीकै बीच संस्थापक नेता बिपीको स्मृति दिवस मनाएलगत्तै विशेष महाधिवेशनको पक्षमा निर्वाचन आयोग र सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन माग गर्दै देउवा पक्षका नेताहरूले पुनः सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन् । प्रतिनिधिसभा निर्वाचनमा गगन थापालाई सभापति मानेर उनैको हस्ताक्षरमा चुनाव लडेका नेताहरू नै आधिकारिकताको विषयमा पुनः प्रश्न उठाउँदै पुनरावलोकनको माग गर्न गएका हुन् । साउन ६ गतेकै कार्यक्रमबाट यो समूहले साउन २९ गतेदेखि राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ । आगामी रणनीतिबारे नेताहरू निरन्तर छलफलमा छन् । यसले पार्टी विभाजनको अन्तिम क्षणमा पुगेको संकेत गरेको छ ।
देउवा समूहका नेताहरू अदालत गएपछि संस्थापन पक्षले पार्टीभित्रको विवादलाई अदालततिर लैजाँदा समस्या समाधान नहुने बताउँछन् । ‘अदालत र निर्वाचन आयोगको फैसलापछि हामी अगाडि बढेको परिप्रेक्ष्यमा विवादलाई पुनः अदालततिर लैजानुले विवाद समाधान हुँदैन,’ महामन्त्री गुरुराज घिमिरेले भने, ‘१५औं महाधिवेशन आइसकेको छ । अदालतको फैसलापछि जो असन्तुष्ट साथीहरू केन्द्रीय कार्यसमिति बाहिर हुनुहुन्छ, उहाँहरूसँग कुराकानी गरेर मिल्न सक्नेजति कुरा अधिकतम लचिलो हुन हामी तयार छौं ।’
सभापति थापासँग मिल्न नसक्ने निष्कर्षसहित नयाँ पार्टी गठन गर्ने तयारीस्वरूप साउन २९ गतेका लागि राष्ट्रिय भेला डाकेको संस्थापन इतर पक्षका नेता कुन्दनराज काफ्लेले बताए । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोइराला, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, साथै डा.प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखक, डिना उपाध्याय, मोहन बस्नेत, कुन्दन काफ्लेलगायत नेताहरूले नयाँ दलको कल्पना गरिसकेका छन् ।
विशेष महाधिवेशनबाट पारित विधानअनुसार क्रियाशील सदस्यता अध्यावधिक र केन्द्रीय समितिमा मनोनीत गर्न पाउने संख्याअनुसार संस्थापन पक्षको कुरा ठिकै रहेको विश्लेषक वाग्लेको भनाइ छ । ‘इतर पक्षको पुराना केन्द्रीय समितिका सबैलाई मनोनीत गर्ने भन्ने तर्क अलि राजनीतिक छैन,’ उनले भने, ‘अध्यावधिक गरेर सबै दलभन्दा आधुनिक प्रविधिमा जानुपर्ने कुरालाई नेताहरूले अस्वीकार गर्नुहुँदैन ।’
यद्यपि, १५औं महाधिवेशनका लागि वर्तमान केन्द्रीय समितिलाई सभापति थापाकै संयोजकत्वमा आयोजक समितिका रूपमा रूपान्तरण गर्ने कुरा मिलनविन्दु बन्छ भने संस्थापन पक्षले त्यसमा लचिलो बन्नुपर्ने वाग्लेको सुझाव छ । मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया