नागढुङ्गा (काठमाडौँ), साउन १२ गते । आफ्नै मुलुकको सुरुङमार्गमा गाडी चलाउने नेपालीको बर्सौँदेखिको सपना पूरा भएको छ । बहुप्रतीक्षित तथा मुलुकको राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा सुरुङमार्गको सोमबार उद्घाटनसँगै पूर्वाधार विकास क्षेत्रमा नेपाल नयाँ अध्यायमा प्रवेश गरेको छ ।
सुरुङमार्ग उद्घाटनसँगै नेपाल आधुनिक सडक सुरुङ युगमा प्रवेश गरेको छ । धादिङको सिस्नेखोला र काठमाडौँको बलम्बुसम्मको सुरुङमार्ग सञ्चालनपछि नागढुङ्गा हुँदै राजधानी भित्रिने र बाहिरिने यातायातले खेप्नुपर्ने पट्यारलाग्दो जाम अन्त्य हुने छ । तीव्र घुम्ती र पहिरोको जोखिममा रहने थानकोट–नागढुङ्गाको एक घण्टाभन्दा लामो यात्रा केही मिनेटमै पूरा हुने छ । ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गतेदेखि निर्माण सुरु गरिएको यो सुरुङमार्ग करिब ८० महिनापछि सञ्चालनमा आएको हो ।
पूजाआजा र स्वस्ति वाचनसँगै सोमबार बिहान साढे १० बजेको शुभसाइतमा रिबन काटेर सुरुङमार्ग उद्घाटन गरियो । उद्घाटन क्रममा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले पानसमा दीप प्रज्ज्वलित गर्नुभयो । उहाँसँगै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का केन्द्रीय अध्यक्ष डा. नाताका अकिहितो, नेपालका लागि जापानका राजदूत माइदा तोरू र सुरुङमार्ग निर्माणमा संलग्न ६३ वर्षीय श्रमिक पूर्ण जोशीले एकसाथ रिबन काटेर सुरुङमार्ग उद्घाटन गर्नुभयो ।
यसअघि मन्त्री लम्सालले जापान–नेपाल मित्रता र सहयोगको प्रतीकका रूपमा स्थापित शिलालेख अनावरण गर्नुभएको थियो । त्यसै गरी उहाँले उद्घाटन सम्पन्न भएको प्रतीकका रूपमा स्थापित ताम्रपत्रको अनावरण गर्नुभयो । उद्घाटनपछि सञ्चारकर्मीसँग मन्त्री लम्सालले अब मुलुक आधुनिक सडक सुरुङ युगमा प्रवेश गरेको भन्दै यस्ता सुरुङमार्ग मुलुकको विभिन्न भागमा निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “अब मुलुक टनेल युगमा प्रवेश ग¥यो । अब देशैभरि यस्ता टनेल बन्ने छन् ।”
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले केही ढिलै भए पनि नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल पनि सुरुङमार्गको युगमा प्रवेश गरेको बताउनुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा सुरुङमार्ग पहिलो हो तर अन्तिम होइन भन्नुभयो । यो सुरुङमार्ग सञ्चालनसँगै मुलुकमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताउँदै उहाँले यस सुरुङमार्ग निर्माणले जतिसुकै कठिन भौगोलिक अवस्था भए पनि राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भए नेपालले महत्वाकाङ्क्षी तथा ठुला पूर्वाधार परियोजना सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भने उदाहरण स्थापित भएको धारणा व्यक्त गर्नुभयो ।
मित्रताको जीवन्त प्रतीक
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का केन्द्रीय अध्यक्ष डा. नाताकाले नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको स्मरण गर्दै नागढुङ्गा सुरुङमार्ग परियोजनालाई पारस्परिक विश्वास र दीर्घकालीन मित्रताको जीवन्त प्रतीकका रूपमा व्याख्या गर्नुभयो । यो परियोजना नेपालको यातायात विकासको ऐतिहासिक फड्को भएको बताउँदै उहाँले नेपाल–जापान सहकार्य, प्राविधिक सिप हस्तान्तरण र ७० बर्से दौत्य सम्बन्धको प्रगाढ मित्रतामाथि विशेष जोड दिनुभयो ।
नेपालका लागि जापानका राजदूत माइदाले नागढुङ्गा सुरुङमार्ग नेपाल–जापान सम्बन्धको कसिलो कडी रहेको उल्लेख गर्दै यसको उद्घाटनलाई नेपालको पूर्वाधार विकासको ऐतिहासिक क्षण बताउनुभयो ।
यस सुरुङमार्गले नेपालको यातायात विकासमा नवीनता र सहजता ल्याई आर्थिक विकासको प्रवेशद्वारका रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल र जापानबिच दौत्यसम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठकै वर्ष यो सुरुङमार्गको उद्घाटनले विशेष महत्व राखेको चर्चा गर्दै उहाँले सुरुङमार्ग सञ्चालनले स्थानीयको जीवनस्तरमा सुधार आउने बताउनुभयो । साथै राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने राजदूत तोरूको भनाइ छ ।
कुन गाडीलाई कति दस्तुर ?
सरकारले राजपत्रमा सूचना प्रकाशित गरे अनुसार सार्वजनिक दर अनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौँ छिर्दा ६५ रुपियाँ र काठमाडौँबाट प्रस्थान गर्दा ६० रुपियाँ तिर्नुपर्ने छ । त्यसै गरी मिनीबस, मिनीटिप्पर/ट्रकले काठमाडौं आउँदा ११५ रुपियाँ र काठमाडौँबाट बाहिरिँदा ८० रुपियाँ तिर्नु पर्छ ।
बस, ट्रक (सिङ्गल रियर एक्सल) का हकमा काठमाडौँ भित्रिँदा २६० रुपियाँ र बाहिरिँदा दुई सय रुपियाँ दस्तुर तोकिएको छ । मल्टी एक्सल ट्रक/सवारीसाधन र भारी उपकरणलाई भित्र छिर्दा छ सय र बाहिरिँदा २५० रुपियाँ दस्तुर तोकिएको छ ।
२५ अर्ब खर्च
गोरखापत्रसँग कुरा गर्दै सुरुङमार्ग आयोजना उपनिर्देशक सञ्जय पन्थीले सो आयोजना सम्पन्न गर्न कुल करिब २५ अर्ब रुपियाँ खर्च भएको बताउनुभयो । उहाँका अनुसार निर्माणमा १७ अर्ब, डलरको भाउ बढ्दा तथा निर्माणसामग्रीको मूल्यवृद्धि हुँदा दुई अर्ब र जग्गा मुआब्जामा छ अर्ब रुपियाँ खर्च भएको हो । १९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋणको रकम हो भने जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारको हो । यो आयोजनाका लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गर्नु परेको उहाँले जानकारी दिनुभयो ।
यस आयोजना अन्तर्गत मुख्य सुरुङमार्ग २.६८ किलोमिटर (२६८८ मिटर) लामो छ भने आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ । कुल लम्बाइ २.७ किलोमिटर र चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको यस सुरुङमार्गको बिचमा डेढ मिटर चौडाइको ‘मेडियन’ र आधा आधा मिटरको दुई वटा ‘सोल्डर’ निर्माण गरिएको छ ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया