काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको उपचार र राहतको व्यवस्था गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रचलित कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचार र राहतको आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।
बैठकले उच्च शिक्षा क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णय गर्दै शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्रा.डा. खड्कबहादुर केसी र आयोगको सचिव पदमा भोजपुरका प्रा.डा. रोजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, कृषि, भूमि व्यवस्था तथा वातावरण मन्त्रालयको प्रस्तावमा पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरिएको छ। सरकारको यो निर्णयसँगै पशु वध र मासुको गुणस्तर परीक्षणलाई व्यवस्थित तथा प्रभावकारी बनाउने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद्ले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसद्मा पेस गर्न स्वीकृति पनि प्रदान गरेको छ। सरकारले उक्त विधेयकमार्फत बालबालिकाको अधिकार संरक्षण, सुरक्षा तथा कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्ने लक्ष्य लिएको जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया