भाद्र १७, २०८३ बुधबार September 2, 2026

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहको सम्बोधन

बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको गराए जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट भएको जनधनको क्षति तथा त्यसपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, उपचार, राहत र प्रभावित नागरिकको व्यवस्थापनबारे प्रतिनिधिसभाको बैठकमा सम्बोधन सुरु गरेका छन्। प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी संसद्मा गराइरहेका छन्।

बाढीपछि बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित राज्यका विभिन्न संयन्त्र परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उद्धार अभियान सञ्चालन गरिएको छ भने घाइते तथा बिरामीको उपचारका लागि अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ। साथै, प्रभावित नागरिकलाई खाद्यान्न, औषधि र अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्ने काम भइरहेको प्रधानमन्त्रीले जानकारी गराएका छन्।

बाढीले सडक, पुल, विद्युत्, सञ्चार तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको भन्दै प्रधानमन्त्री शाहले क्षतिग्रस्त संरचना पुनः सञ्चालनका लागि सम्बन्धित निकाय परिचालन गरिएको बताएका छन्। अवरुद्ध दूरसञ्चार सेवा पुनः सञ्चालन, प्रभावित क्षेत्रमा आवश्यक सामग्री पुर्‍याउने तथा विस्थापित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्ने कामलाई सरकारले प्राथमिकतामा राखेको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले तत्कालीन खोज तथा उद्धार र राहतसँगै बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सरकार केन्द्रित हुने बताएका छन्। प्रतिनिधिसभामा जारी सम्बोधनका क्रममा उनले भोटेकोशी बाढीबाट भएको क्षतिको पछिल्लो विवरण, सरकारका तर्फबाट भएका काम तथा आगामी कार्ययोजनाबारे थप जानकारी दिइरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया