वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

बंगलादेशद्वारा चिनियाँ खोप खरिद गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बंगलादेश सरकारले चीनबाट कोभिड–१९ खोप खरिद गर्ने निर्णय गरेको छ । बंगलादेश मन्त्रिपरिषदको आर्थिक मामिला सम्बन्धी समितिले बुधबार चिनियाँ खोप खरिद सम्बन्धी निर्णय गरेको हो ।

बंगलादेशी मन्त्रिपरिषद कार्यालयका वरिष्ट अधिकारी शाहिदा अख्तरले चीनको नेसनल फर्मास्यूटिकल ग्रुप (सिनोफार्म) बाट खोप किन्न मन्त्रिपरिषदको समितिले मञ्जुरी दिएको संवाददाताहरुलाई जानकारी दिनुभयो ।

एक साता अघि चीनले सिनोफार्मको खोप बंगलादेशलाई अनुदान दिएको थियो । बंगलादेशका लागि चिनियाँ राजदूत लि जिमिङले उक्त खोप बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनलाई एक समारोहबीच हस्तान्तरण गर्नु भएको थियो ।

बंगलादेश सरकारले चीनले अनुदानमा उपलब्ध गराएको सिनोफार्मको खोप अर्को सातादेखि लगाउन थाल्ने घोषणा यसअघि नै गरिसकेको छ ।

भारतको सेरम इन्स्टिच्यूटसँग खरिद सम्झौता गरिएको कोभिसिल्ड खोप भारत सरकारले रोकेपछि बंगलादेशको खोप अभियान गत अप्रिल २६ देखि नै स्थगित भएको छ । सेरमको विकल्पमा बंगलादेशी अधिकारीहरुले चिनियाँ खोप उत्पादक सिनोफार्मसँग खोप खरिद गर्ने निर्णय गरेका हुन् ।

बंगलादेशमा गत जनवरी २८ देखि खोप अभियान शुरु भएको थियो । हालसम्म बंगलादेशका ५८ लाख २० हजार व्यक्तिले पहिलो डोज खोप लगाइसकेका छन् । बंगलादेशमा हालसम्म सात लाख ८३ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र त्यसमध्ये १२ हजार २४८ जनाको मृत्यु भइसकेको छ । (रासस–सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया