चैत्र १६, २०८० शुक्रबार March 29, 2024

प्रधानमन्त्री ओलीको थप स्वास्थ्य उपचारबारे मेडिकल टिमको विशेष बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको थप स्वास्थ्य उपचारबारे छलफल गर्न चिकित्सक तथा विशेषज्ञहरुको बैठक बसेको छ। प्रधानमन्त्रीको उपचारका लागि अल्पकालीन र दीर्घकालीन तयारीबारे छलफल गर्न बैठक बसेको जानकारी उपचार टिमका संयोजक प्रा.डा.अरुण सायमीले दिएका छन।

प्रा.डा. सायमीका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको छ। तर नियमित डायलासिस प्रकियालाई सहज बनाउन त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) मा प्रधानमन्‍त्री ओलीलाई सार्ने तयारी भइरहेको र त्यसबारे छलफल चलिरहेको उनले बताएका छन।

एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि बुधबार पुनः डायालासिस गरिएको थियो। रगत शुद्धीकरणका लागि डायलासिस गर्नुपरेको चिकित्सकले जनाएका छन्।

यो उनको पाँचौ पटकको नियमित डायलासिस प्रक्रिया हो। महाराजगन्जस्थित सरकारी अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार साँझ डायलासिस गरिएको हो। यसअघि प्रधानमन्त्री ओलीको धापासिस्थित ग्राण्डि इन्टरनेशनल हस्पिटलमा चार पटकसम्म डायलासिस गरिएको थियो।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गर्नका लागि पर्याप्त उपकरण र मेडिकल सर्पोट नभएकोले डायालासिस प्रक्रियामा समस्या भएको चिकित्सकले बताएका छन्। बुधबार पनि त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) बाट मेशिन र उपकरण लगेर डायलासिस गर्दा करिब पाँच घन्टा लागेको थियो।

मंगलबार एपेन्डिसाइटिस शल्यक्रियापछि प्रधानमन्‍त्री ओली अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन्। ब्याकअपका रुपमा राखिएको भेन्टिलेटर बुधबार बिहान हटाइएपछि ओलीलाई सघनकक्षमै राखिएको छ।

बुधबार बिहानदेखि ओली सहज महसुस गर्दै सामान्य उठबस गर्न थालेका छन्। उनले कालो चिया पिउने र आफन्त एवं चिकित्सकसँग सामान्य कुराकानी पनि गर्ने गरेका छन्।

पेट दुखेपछि प्रधानमन्‍त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि मंगलबार नै त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो। एपेन्डिसाइटिस फुटेर संक्रमण भएकोले म‌ंगलबार स्वास्थ्यमा केही जटिलता देखिए पनि बुधबार सुधारोन्मुख भएको चिकित्सकले बताएका छन्।

प्रधानमन्‍त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाहले प्रधानमन्‍त्रीको स्वास्थ्यमा अहिले कुनै जटिलता नदेखिएको बताइन्। उनले भनिन्, अहिले सामान्य छ। उहाँको हेल्थ प्यारामिटर सन्तुलित छ। उहाँ केही दिन अस्पतालमै बसेर आराम गर्नुहुन्छ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारी, सर्जन डा पलेश्‍वाँ जोशी लाखे, डा दीलीप शर्मासहितको विशेषज्ञ टोली ओलीको उपचारमा संलग्‍न छ। उपचार टोलीको संयोजन वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा अरुण सायमीले गरेका छन्। प्रधानमन्‍त्रीका निजी चिकित्सक सिंह पनि उपचारमा प्रत्यक्ष संलग्‍न छिन्।

उच्च चिकित्सकीय निगरानीसहित सघनकक्षमा राखेर ओलीको उपचार भइरहेको छ। संभावित स‌ंक्रमणको जोखिमलाई ध्यानमा राखेर उपचार टिमको सल्लाहमा बाहिरी भेटघाट तत्कालका लागि रोकिएको प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन।

मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओलीले चारपटक हेमोडायलासिस गराएका छन्। उनले ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गराउँदै आएका छन्। चिकित्सकले अल्पकालीन उपचार पद्धतिका रूपमा हेमोडायलासिसलाई निरन्तरता दिएका छन् । चिकित्सकले दीर्घकालीन समस्या समाधानका लागि पुन मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिदै आएका छन्।

अचानक असहज महसुस गरेपछि ग्रान्डीमा भर्ना गरिएका ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । कात्तिक १४ गते फेरि डायलायसिस गरिएको थियो।

१२ वर्षअघि मिर्गौला फेल भएपछि ६४ सालमा उनको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन् । उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।

भदौंको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो ।त्यसअघि छाउनीस्थित सैनिक अस्पतालमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया