वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

सानेपाबाहिर छिरलिएको कांग्रेस- बिष्णु सुवेदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेसको विधानको नियमित प्रावधानअनुसार दुई महिनाभित्र पार्टी महाधिवेशन गर्नुपर्ने हुन्छ। २०७२ फागुनमा भएको कांग्रेसको तेह्रौं महाधिवेशनबाट निर्वाचित नेतृत्वको चारबर्से अवधि यही फागुनमा सकिँदै छ। महाधिवेशनको मुखमा आइपुग्दा पनि कांग्रेस आन्तरिक भागबन्डाको किचलोमा अल्झिएको छ। महाधिवेशनको क्यालेन्डर अनिश्चित छ। संगठन र आन्तरिक संरचनाहरू अस्तव्यस्त छन्। भ्रातृ संस्थाहरू निष्क्रिय छन्। स्थानीय तहमा पुनर्संरचना हुन सकेको छैन।

केन्द्र, प्रदेश र स्थानीय तीनै तहको निर्वाचनमा भोग्नुपरेको नमीठो पराजयपछि कम्तीमा कांग्रेस सुध्रिन्छ भन्ने आम अपेक्षा थियो। चुनावी नतिजाले पनि त्यही सन्देश दिएको थियो। चुनावी अंकगणितमा पात्रहरू पराजित भए पनि एउटा लोकतान्त्रिक संस्थाका रूपमा कांग्रेसप्रतिको आम भरोसा र आकर्षण घटेको थिएन। तर कांग्रेस अलिकति पनि सुध्रेन र सुध्रने कसरत पनि गरेन। चुनावपछि दुई वर्ष कांग्रेसले आन्तरिक झगडामै खेर फाल्यो र भागबन्डाको हिसाबकिताबमै अल्झियो।

चुनावको सघन समीक्षा गरेर आफ्नो आन्तरिक व्यवस्थापनसँगै संगठनलाई सुदृढ गर्न कांग्रेस नेतृत्वबाट जुन पहल र सक्रियता हुनुपथ्र्यो, त्यसको कुनै सुरसार देखिएन। संसद् र सडक दुवैतिर सशक्त प्रतिपक्षका रूपमा कांग्रेस एक ढिक्का भएर उभिन सकेन।

कम्युनिस्ट सरकारबाट भएका थुप्रै गलत कदम र काण्डविरुद्ध संगठित प्रहार गरेर बलियो जनमत तयार गर्ने अवसर पनि कांग्रेसले आफ्नै कारणले गुमाइरहेको छ। आफैंभित्र अलमलिएको कमजोर प्रतिपक्षको हालत देखेर कम्युनिस्ट सरकार दंग भएको होला।

सानेपामा एक ढिक्का भएर सिंहदरबारलाई हल्लाउने तागत भएको कांग्रेस आफैं थलिएजस्तो भएर बूढानीलकण्ठ, बोहराटार, महाराजगन्ज र चाक्सीबारीतिर भौंतारिएको छ। सानेपाबाहिर कांग्रेस छिरिलिएको छ। सभापति शेरबहादुर देउवाले बहुमतको बुल्डोजर चलाएर निर्णय लिन थालेपछि असन्तुष्ट पक्षले पनि सानेपा बहुमत जिल्ला सभापति भेला गराएर देउवालाई राम्रै धक्का दिएको छ। पुस २१, २२ र २३ गते तीन दिनसम्म सानेपामा चलेको भेलाले कांग्रेसको आन्तरिक जीवनमा तरंग ल्याइदिएको छ।

असन्तुष्ट पक्षको बहिष्कार र विरोधलाई उपेक्षा गर्दै संस्थापन पक्षले बहुमतमा केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्‍ने, विभाग संख्या ४७ पु‍राउने, चौधौं महाधिवेशन २०७७ फागुनमा गर्ने, तरुण दलको म्याद ६ महिना थप्‍नेलगायतका महत्वपूर्ण निर्णय गरेपछि त्यसलाई सच्चाउन दबाब दिन सानेपा भेला डाकेको थियो।

सानेपामा एक ढिक्का भएर सिंहदरबारलाई हल्लाउने तागत भएको कांग्रेस आफैं थलिएजस्तो भएर बूढानीलकण्ठ, बोहराटार, महाराजगन्ज र चाक्सीबारीतिर भौंतारिएको छ।

सानेपा भेलाले कांग्रेसभित्र कलह मच्चाउने जुन आम आशंका र अनुमान थियो, त्यसलाई गलत साबित गर्दै पार्टीमा सहमति र विश्वासको वातावरण तयार गर्न थोरै भए पनि सकारात्मक सन्देश दिएको छ। महाधिवेशनको मुखमा बहुमतको बुल्डोजर चलाउन तम्सिएका देउवालाई सोच्न र सच्चिन सानेपा भेलाले बाध्य बनाएको छ।

सानेपा पुगेर एउटा ‘सरप्राइज’ दिने मौका थियो, त्यो अवसर भने देउवाले गुमाए। सायद सल्लाहकारले पनि त्यो सल्लाह दिएनन् होला। सहभागी सबै कांग्रेसका सभापति नै थिए, भेला पार्टी कार्यालयमा थियो। त्यहाँ देउवा जाँदा कसैले निषेध गर्ने थिएन। सानेपा पुगेर सहमतिमा आफू अघि बढ्न तयार रहेको सन्देश मात्रै दिएको भए त्यसले पार्टीभित्र बेग्लै खालको माहोल जगाउँथ्यो।

ढिलै भए पनि देउवाले सानेपा भेलाको स्वामित्व लिएका छन्। तीन दिनसम्म भेला चल्दा सानेपामा नझुल्किएका देउवाले अन्तिम दिन सभापतिहरूलाई दिवाभोजसहित बूढानीलकण्ठमा निम्तो गरेर गुनासोको शैलीमा प्रश्न पनि गरे, ‘मलाई किन बोलाउनुभएन ? ’ सभापतिहरूले पनि जवाफ दिए, ‘हामीले त सभापतिजी कार्यालय आउनुहोला भनेर त्यहीं भेला गरेका हौं।’

सानेपा भेलापछि कांग्रेसभित्र फेरि शून्यता छाएको छ। केही लचिलो र नरमजस्तो बनेको संस्थापन पक्षबाट संवाद र सहमतिका लागि जुन तहमा अग्रसरता हुनुपथ्र्यो, त्यो देखिएन।

संस्थापन पक्षभन्दा असन्तुष्ट पक्ष अलि आक्रामक र कडा हुनु स्वाभाविक हो। तर संस्थापन पक्ष अझै जिम्मेवार र संयमित हुनुपर्छ। विरोधी तथा असन्तुष्ट पक्षलाई पनि विश्वास र साथमा लिएर अघि बढ्ने दायित्व संस्थापन पक्षको हो। त्यो सुझबुझ र संयम संस्थापन पक्षमा देखिएको छैन। म्याद गुज्रिने बेलामा बहुमतको बुल्डोजर चलाएर पेल्ने प्रयास आफैंमा अर्थहीन छ। किनभने यो धेरै ढिला भइसकेको छ। यो हिम्मत चार वर्ष पहिल्यै देउवाले प्रदर्शन गर्नुपथ्र्यो, अहिले आयु थप्ने बेलामा होइन। त्यो गरेको भए सम्भवतः अहिले कांग्रेसको हालत यस्तो हुने थिएन। चार वर्ष बूढानीलकण्ठमै उँघेका देउवा महाधिवेशनको मुखमा एकाएक ब्युँझिएर हतारमा दौडिन खोज्नुको अर्थ छैन। महाधिवेशनले तय गरेको आयु सकिन लागेका बेला बहुमतले पेल्ने नैतिक धरातल देउवाले गुमाइसकेका छन्।

संस्थापन पक्ष पहिलेभन्दा कुजिँदै र खुम्चिँदै गएको देखिन्छ। हिजो देउवासँगै रहेका प्रभावशाली पात्रहरू अहिले साथमा छैनन्। कुनै बेला प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, बलबहादुर केसीहरू देउवाका विश्वासिला सहयात्री थिए। तेह्रौं महाधिवेशनमा सभापतिमा रामचन्द्र पौडेलविरुद्ध चुनाव लडेर रणनीतिक रूपमा देउवालाई सहयोग पुर्‍याएका कृष्णप्रसाद सिटौला पनि अहिले देउवाविरोधी खेमामा छन्। निर्वाचित महामन्त्री शशांक कोइराला पनि उनको साथमा छैनन्। उता पौडेलतिर डा. रामशरण महत, महेश आचार्य, शेखर कोइरालाजस्ता प्रखर र बौद्धिक पात्रहरू छन्। संघर्षशील पृष्ठभूमि र संगठनमा पकड भएका पात्रहरू देउवाविरोधी मोर्चामा सामेल हुँदैछन्।

देउवा समूहमा रहेका महामन्त्री पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीहरू पनि देउवाका गल्ती-कमजोरीको भारी बोक्ने पक्षमा छैनन्। उनीहरूले मिलेर जानुपर्नेमा जोड दिइरहेका छन्। उनीहरू गुटको राजनीतिमा रमाएका छैनन्। देउवाको रोजाइमा प्रवक्ता बनेका विश्वप्रकाश शर्माले भरथेग नगरेको भए संस्थापनको हालत अझै कमजोर पनि हुन्थ्यो होला। पार्टी प्रवक्ताको नाताले संस्थापनको बचाउमा उनको स्वाभाविक सक्रियता देखिए पनि उनी देउवाको पक्षपोषणभन्दा पार्टीकै प्रवक्ताको भूमिकामा प्रस्तुत भएका छन्। प्रखर अभिव्यक्ति र सन्तुलित व्यवहारले उनी गुटविशेष घेरामा खुम्चिएका छैनन्। कांग्रेसलाई बूढानीलकण्ठबाटै चलाउन खोज्ने देउवा कोटरीको मिसनमा शर्माजस्ता प्रखर पात्रहरू सम्भवतः अटाउँदैनन् होला।

देउवाले यो उमेरमा पनि फेरि पार्टी सभापति बन्ने चक्कर तथा सत्ता चलखेलमा लाग्नु आफ्नो छवि र कांग्रेसको भविष्यका लागि पनि हितकर हुँदैन

चारपटक प्रधानमन्त्री र एकपटक पार्टी सभापति पनि भइसकेका देउवाले फेरि बहुमतको अंकगणित मिलाउने दाउमा लाग्नु हुँदैन। राजनीतिमा उनले जुन उपलब्धि र उचाइ हासिल गरेका छन्, त्यो सामान्य छैन। त्यसलाई कायम राख्नु र जोगाउनु नै महत्वपूर्ण हो। अब यो उमेरमा पनि फेरि सभापति बन्ने चक्कर तथा सत्ता चलखेलमा लाग्नु आफ्नो छवि र कांग्रेसको भविष्यका लागि पनि हितकर हुँदैन। असल अभिभावक बनेर पार्टीलाई मार्गदर्शन गनुपर्छ र कार्यकारी नेतृत्व अर्को पुस्तालाई सहज रूपमा सुम्पिन तयार हुनुपर्छ।

बूढाहरूले वि श्राम लिँदा पनि कांग्रेसलाई ‘डा«इभ’ गर्न सक्ने एक से एक पात्र छन्। विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, रामशरण महत, शशांक कोइराला, शेखर कोइराला, पूर्णबहादुर खड्कालगायतको पुस्ता नेतृत्वका लागि तयार भइसकेको छ। चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल, गुरु घिमिरेजस्ता आशालाग्दा युवा अनुहार पनि कांग्रेसमा छन्। कांग्रेसको युवा वृत्तमा भरोसाका रूपमा छाएका गगन र विश्वप्रकाशजस्ता आकर्षक र क्षमतावान् पात्रहरू छन्, जोसँग कांग्रेसलाई पुनर्जीवन दिने साहस र सामथ्र्य छ। अब कांग्रेसको नेतृत्व विस्तारै उनीहरूको जिम्मामा जानुपर्छ। बूढाहरूको सनक र स्वार्थमा अल्झिने होइन, युवाको नवीन सोच र सक्रियतामा कांग्रेस अघि बढ्नुपर्छ। ७० काटेका वृद्ध नेताहरूले अब पदको लोभ गर्नु हुँदैन, अभिभावकीय भूमिकामा रमाउनुपर्छ।

संस्थापन पक्षले स्थानीय चुनावको मुखमा महाधिवेशन बोलाएर पार्टीभित्र आन्तरिक विवाद चर्काउन खोजेको र त्यसले चुनावमा कांग्रेसलाई घाटा हुने तर्क असन्तुष्ट पक्षले राखेको छ। विधानको प्रावधानअनुसार एक वर्ष म्याद थपिसकेका देउवा फागुनको महाधिवेशन पनि टार्न विशेष परिस्थति देखाएर संविधानको प्रावधानअनुसार थप ६ महिना म्याद बढाउने र अन्ततः महाधिवेशन नै टार्ने चक्करमा लागेको आशंका असन्तुष्ट पक्षले गरेको छ। संस्थापन पक्षको भूमिका, बोली र व्यवहारले यस्तो आशंका गर्ने ठाउँ बनाएको हो। देउवाविरोधी खेमाले आगामी मंसिरमा महाधिवेशन गर्ने गरी क्यालेन्डर तय गर्नुपर्ने प्रस्ताव गरेको छ, त्यसमा संस्थापन पक्ष पनि असहमत हुनुपर्ने कारण छैन।

आन्तरिक झगडामा निरन्तर अल्झिँदा न महाधिवेशनको क्यालेन्डर निश्चित हुन सक्यो न त पार्टी संरचनाको टुंगो लाग्यो। अब आन्तरिक व्यवस्थापनको झगडा छाडेर कांग्रेस महाधिवेशको तयारीमा जुट्नुपर्छ। महाधिवेशनमा वडादेखि केन्द्रसम्म हुने चुनावी प्रतिस्पर्धाले पार्टीभित्र स्वाभाविक रूपमा असन्तुष्टि र वैमनस्य पैदा हुन्छ, त्यसको असर स्थानीय चुनाव नपर्ने गरी महाधिवेशनको एउटा निश्चित क्यालेन्डर तय गरेर त्यसका लागि मुलुकव्यापी माहोल बनाउनेतिर लाग्नुपर्छ। नत्र कांग्रेसको हालत अर्को चुनावमा अझ खराब हुने खतरा छ। अन्नपूर्ण पोष्ट दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार