वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

राष्ट्रिय सहिद र विभूति खोइ ?- डा. बाबुराम भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हामी प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउँछौँ । सहिदको सम्झना र त्यसबाट लिइने प्रेरणा अझ जीवन्त, ठोस, मूर्त हुनुपर्ने हो । तर, यो एक प्रकारको वार्षिक कर्मकाण्डजस्तो बन्दै छ । सहिद सप्ताहका कार्यक्रममा सबै राजनीतिक शक्ति, जातीय तथा सांस्कृतिक समुदाय, लिंग, वर्ग र वर्णका जनताले समान सहभागिता र अपनत्वको अनुभूति गर्न सकिरहेका छैनन् । यस क्रममा हामी राणा शासनविरुद्ध लड्दा सहादत प्राप्त गर्नेहरूको विषेश सम्मान त गर्छौँ । तर, नेपालको झन्डै ८० वर्ष लामो लोकतान्त्रिक आन्दोलनका अन्य कडीलाई त्यसमा जोड्न सकेका छैनौँ । हामीले देशको अग्रगमन र प्रगतिका निम्ति गरेका सबैखाले आन्दोलन, योगदान र बलिदानलाई जोडर राष्ट्रिय जागरणको उत्सव निर्माण गर्न सक्नुपर्छ ।

सहिद दिवसमा हामी सहिदगेट जाने गर्छौँ । पञ्चायतकालमा निर्माण गरिएको सहिद गेटमा तिनै सहिदलाई फाँसी दिने पत्रमा हस्ताक्षर गर्ने राजाको शालिक सहिदभन्दा माथि राखिएको छ, जुन विडम्बनापूर्ण हो । एकातर्फ हामीसँग राष्ट्रिय सहिदको साझा सूची छैन, अर्कोतर्फ सहिद दिवसलाई साँच्चै गम्भीर मर्मस्पर्शी ढंगले मनाउने समुचित साझा स्मारक पनि छैन । मेरो प्रधामन्त्रीत्वकालमा यो विडम्बनापूर्ण अवस्थालाई सच्चाउने प्रयत्न गरिएको थियो । तर, यससम्बन्धी निर्णय विगत आठ वर्षदेखि अदालतमा विचाराधीन छ ।

सहिदजस्तै राष्ट्रिय विभूतिको पनि कुनै वैज्ञानिक परिभाषा र टुंगो छैन । हिजो राजा महाराजा र भाइभारदारले आफ्ना कुल खलकका व्यक्तिलाई मात्र विभूति घोषणा गरे  ।विनाअध्ययन र ठोस प्रमाण हामी तिनै निर्णयलाई मान्दै आइरहेका छौँ । अमेरिकामा जर्ज वासिंटन, अब्राहम लिंकनलगायतलाई सबैले विभूति स्वीकार गर्छन् । भारतमा महात्मा गान्धी, नेहरू, अम्बेडकरलाई सबैले विभूतिका रूपमा स्वीकार गर्छन् । चीनमा माओत्सेतुङ, देङ साओपिङलगायतलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्छन् । तर, हामीकहाँ न त राष्ट्रिय सहिद, न त राष्ट्रिय विभूति सबैले स्वीकार गर्ने ढंगले निर्माण गरिएको छ । यो अत्यन्त विडम्बनापूर्ण र गम्भीर विषय हो । राष्ट्रिय एकता र समृद्धि हासिल गर्ने दिशामा अघि बढ्न हामीले यी विषयमा ध्यान दिनैपर्छ ।

को हुन् सहिद ?
सामान्यतः देश र समाजको उन्नयनका वा राष्ट्रको रक्षाका निम्ति जीवन बलिदान गर्नेलाई सहिद भन्ने गरिन्छ । अर्थात् सचेतन ढंगले समाजको अग्रगमनका निम्ति संघर्ष गर्दा विद्यमान राज्यसत्ताद्वारा वैधानिक वा अवैधानिक ढंगले ज्यान लिइएकालाई सहिद भनिन्छ । कुनै व्यक्तिलाई राज्यद्वारा भवितव्यबस वा कुनै अराजनीतिक असामाजिक आरोपमा मृत्युदण्ड दिइएको छ भने सहिद भनिन्न । त्यस्तै, गैरराज्यद्वारा मारिएका वा आपसी द्वन्द्व झगडामा मारिएका वा दुर्घटनामा परेकालाई सहिद भनिन्न । तर, हामीकहाँ पार्टी र समुदायपिच्छेका अलग–अलग सहिद घोषणा गर्ने प्रवृत्ति छ । यहाँसम्म कि दुईपक्षीय ग्याङ फाइटमा मर्नेलाई पनि दबाबमा सहिद घोषणा गरिन्छ । सडक दुर्घटनामा परेकालाई पनि सहिद घोषणा गरिन्छ । तर, विभिन्न आन्दोलनमा सचेतन ढंगले जीवन उत्सर्ग गर्ने सहिदको सूचीमा उल्लेख र सम्मान छैन । त्यसैले सही, सर्वस्वीकार्य, वस्तुसंगत परिभाषा बनाइ सहिदको पहिचान सूचीकृत गर्न र उनीहरूको सम्मान गर्न अत्यावश्क छ ।

नेपालको राजनीतिक तथा सामाजिक संघर्ष विभिन्न ऐतिहासिक कालखण्ड हुँदै गुज्रिएको छ । सोहीअनुरूप सहिद जन्मदै गएका छन् । इतिहासको विकास क्रममा जुन राजनीतिक, आर्थिक, सामाजिक समस्या र अवरोध पैदा हुन्छन् त्यसलाई पन्छाउनकै निम्ति संघर्ष, क्रान्ति, आन्दोलन हुने गर्छ । त्यसै क्रममा सहिद जन्मन्छन् । यसरी हेर्दा सुगौली सन्धिभन्दा पहिले जतिवेला वर्तमान नेपाल राज्यको आकार बनिसकेको थिएन, त्यतिवेलाका सहिदको अलग परिभाषा हुन सक्छ । किनकि त्यो एउटा राज्यको भौगोलिक एकीकरण गर्ने अभियानका वेला थियो । त्यतिवेलाका सहिद राज्य निर्माणका क्रममा जीवन बलिदान गर्ने, मुख्यतः लडाइ लड्दा–लड्दै मारिनेलाई सहिद भन्नुपर्ने हुन सक्छ । तर, त्यतिवेला एकीकृत राज्य नबनिसकेको हुनाले कसलाई सहिद भन्ने कसलाई नभन्ने भन्ने विवाद हुन सक्छ ।

उदाहरणका निम्ति कालु पाँडेलाई गोर्खा राज्यको आँखाले हेर्दा सहिद भन्न सकिन्छ भने त्यतिवेलाको कीर्तिपुर राज्यको आँखाले हेर्दा ‘आक्रमणकारी’ भन्न सकिन्छ । त्यसैले सुगौली सन्धिभन्दा अगाडिको प्रसंगमा सर्वस्वीकृत ढंगले सहिदको परिभाषा गर्नु सायद सम्भव हुँदैन । अतः हामीले सहिदका कुरा गर्दा सुगौली सन्धियता बनेको नेपाल राज्यको सामाजिक, राजनीतिक, आर्थिक परिवर्तनको क्रममा ज्यान बलिदान गर्नेलाई नै मान्नुपर्ने हुन्छ । यसरी हेर्दा नेपालका प्रथम सहिद लखन थापामगरलाई मान्ने गरिन्छ । उनले विसं १९२७ सालमा गोरखाको बुङ्कोटको काहुले भंगारमा दुई हजारको मिलेसिया निर्माण गरेर जंगबहादुर राणाको निरंकुश जहाँनिया शासनविरुद्ध विद्रोहको झन्डा उठाएका थिए ।

लखन थापामगरसहित आठजनालाई विसं १९३३ सालमा हालको मनकामना मन्दिरनजिक रुखमा झुन्डाएर फाँसी दिइएको थियो । तसर्थ लखन थापामगरलाई नेपालको प्रथम सहिद स्वीकार्नु तर्कसंगत र न्यायसंगत नै हो । राणा शासनविरुद्ध पहिलो संगठित राजनीतिक संघर्ष विसं १९९० को दशकमा सुरु भयो । त्यसै क्रममा प्रजा परिषद्को झन्डामुनि सहादतवरण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलाई हामी सबैले सहिद मान्दै आएका छौँ, जुन उचित हो । राणा शासनको अन्त्य गर्ने क्रममा विसं ००७ सालमा जुन राजनैतिक आन्दोलन भयो त्यसक्रममा सहादत प्राप्त गर्ने थिरबम मल्ललगायतलाई पनि नेपालको लोकतान्त्रिक आन्दोलनका सहिद मान्नुपर्ने हुन्छ ।

००७ सालको लोकतन्त्रको प्रक्रिया आंशिक उपलब्धिमा संकुचन भयो । त्यसपछि पनि देशका विभिन्न भागमा आन्दोलन, संघर्ष र विद्रोह भए । त्यसक्रममा सुदूरपश्चिमा भीमदत्त पन्तको नेतृत्वमा भएको सशस्त्र किसान संघर्षको क्रममा उनले प्राप्त गरेको सहादतलाई उच्च कोटीको मान्न सकिन्छ । तसर्थ भीमदत्त पन्त साझा र सम्मानीय सहिद हुन् । विसं ०१७ सालमा निरंकुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थाको सुरुवात भइसकेपछि नेपाली कांग्रेस र कम्युनिस्टका विभिन्न घटकले जुन संघर्ष गरे त्यसक्रममा भएका सहिदलाई पनि उच्च सम्मान दिनुपर्छ ।

नेपाली कांग्रेसको झन्डामुनि सहादत प्राप्त गर्ने दुर्गानन्द झा, यज्ञबहादुर थापालगायत झापा आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सुखानीका सहिद र रत्नकुमार वान्तवालगायत सर्वहारा श्रमिक संगठनको नेतृत्वमा जुगेडी संघर्ष हुँदा मारिएका दशरथ चेपाङलगायत तत्कालीन नेकपा चौथो महाधिवेशनसँग आबद्ध भएर संघर्ष गर्ने क्रममा मारिएका ऋषि देवकोटा, दुर्गा सुवेदी, दलबहादुर मगरलगायत पञ्चायत व्यवस्थाविरुद्ध लड्ने महान सहिद हुन् ।

विसं ०४६ सालको संयुक्त जनआन्दोलनका क्रममा पचासौँले सहादत प्राप्त गरे । धनुषाको जदुगुवाबाट सुरु भएको बलिदानको क्रममा जीवन उत्सर्ग गर्नेहरू सबै सम्माननीय सहिद हुन् । त्यसपछि नेपाली इतिहासको सबैभन्दा ठूलो क्रान्तिकारी आन्दोलन र जनविद्रोह विसं ०५२ सालमा सुरु भयो । त्यो माओवादी नेतृत्वको १० वर्षे जनयुद्ध थियो । जनयुद्धमा सहादत प्राप्त गर्नेहरूको सूचीमा एकरूपता आइसकेको छैन ।

माओवादी जनयुद्धले निर्माण गरेको राष्ट्रिय चेतना, जनमत र शक्तिको जगमा नेपालमा संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माण भएको यथार्थलाई स्वीकार गर्नुको साटो सम्पूर्ण आन्दोलनलाई नै अपराधीकरण गरेर हेर्ने, त्यसको महत्वलाई निषेध गर्न खोज्ने र जनयुद्धका सहिदलाई अपमान गर्ने जुन प्रवृत्ति छ, त्यो न्यायसंगत र युक्तिसंगत छैन

कसैले १५ हजार कतिपयले १७ हजार भन्ने गरेका छन् । यस हिसाबले माओवादी जनयुद्ध अन्ततः शान्ति सम्झौतामा टुंगिएकाले विद्रोही तर्फबाट राज्यसत्ताविरुद्ध विद्रोह गर्ने त आमरूपमा सहिद हुँदै हुन् । तर, सँगसँगै त्यतिवेलाको राज्यका निम्ति लड्दा मारिनेलाई पनि सहिद भन्नुपर्ने विडम्बनापूर्ण अवस्था छ । यसरी तीमध्ये को कति सहिद हुन् होइनन् त्यसको छिनोफानो हुन बाँकी छ ।

फेरि पनि क्रान्तिकारी संघर्षको क्रममा मरिने जनयुद्धका पहिलो दीलबहादुर रम्तेल र त्यतिवेलाको राजनीतिक जिम्मेवारीका हिसाबले सबैभन्दा अग्रस्थानमा रहेका सुरेश वाग्ले, शेरमान कुँवर, मोहनचन्द्र गौतम, रितबहादुर खड्का, किमबहादुर थापालगायत दशौँ हजारलाई सहिद मान्नैपर्ने हुन्छ । माओवादी जनयुद्धले निर्माण गरेको राष्ट्रिय चेतना, जनमत र शक्तिको जगमा नेपालमा संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माण भएको यथार्थलाई स्वीकार गर्नुको साटो सम्पूर्ण आन्दोलनलाई नै अपराधीकरण गरेर हेर्ने, त्यसको महत्वलाई निषेध गर्न खोज्ने र जनयुद्धका सहिदलाई अपमान गर्ने जुन प्रवृत्ति वेलाबखत देखा पर्छ त्यो न्यायसंगत र युक्तिसंगत छैन ।

माओवादी जनयुद्धकै जगमा १२बुँदे सहमतिपछि भएको ०६२/०६३ को आन्दोलनमा फेरि पचासौँले जीवन अर्पण गरे । सेतु विकलगायतले जुन सहादत प्राप्त गरे ती जनआन्दोलनका महान् सहिदको पनि सम्मान र स्मरण गर्नैपर्छ । ०६३ देखि ०७२ सम्म चलेको पटक–पटकको मधेश आन्दोलनका क्रममा रमेश महतोलगायत सयौँजनाको जुन सहादत भएको छ, ती सबै राज्यको पुनर्सरचना, संघीयता, समावेशिताका निम्ति बलिदान गर्ने महान सहिद हुन् । त्यसरी नै थरुहट आन्दोलन, जनजाति आन्दोलन, दलित आन्दोलन, महिला आन्दोलन, विद्यार्थी आन्दोलनका क्रममा सयौँले सहादत प्राप्त गरेका छन् । यी सबैको एक आधिकारिक साझा सूची बनाउन र राज्यको तर्फबाट कुनै साझा स्मारक बनाइ सहिद दिवसमा सम्मानपूर्वक सम्झिने चलन स्थापित गर्न आवश्यक छ ।

हालसम्म यस्तो हुन नसक्दा सरकारैपिच्छे पार्टीको दलगत संलग्नताका आधारमा पटके सहिदको घोषणा गरिएको छ । त्यसले अन्योल, आंशका, विवाद सिर्जना गरेको छ । सहिद कुनै पनि पार्टी र समुदायका मात्र हुँदैनन् । अलग–अलग सरकार र अलग–अलग आयोग र कार्यदल बनाएर नाम संकलन गरिएको पनि हो । तर, त्यसले सर्वमान्य सूूची अहिलेसम्म बनाउन सकिरहेको छैन । यो विषयमा गम्भिरतापूर्वक ध्यान दिनुपर्नेछ ।

सहिदको गरिमा र राष्ट्रिय महत्व हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन देश दुई-चार सपुत मरेर नगए

कवि भूपि शेरचनले त्यसै भनेका होइनन् । संसारको कुनै पनि देशको इतिहासमा सहिदको बलिदानविना युगान्तकारी परिवर्तन भएको छैन । सहिदको रगतलाई क्रान्तिको ऊर्जा भन्ने गरिन्छ । सहिद रक्तबिज हुन् । उनीहरूले बगाएको रक्तबाट थुप्रै क्रान्तिकारीको जन्म हुन्छ । चाहे फ्रान्सेली क्रान्ति होस्, रुसी वा चिनियाँ क्रान्ति, विश्वमा जति पनि महान क्रान्ति भएका छन्, त्यहाँ लाखौँ सहिद भएका छन् । सहिदको बलिदानविना ती क्रान्ति पूरा हुन सक्दैन्थे । ती क्रान्तिविना, आज विश्व मानव समाजको चेतना, उन्नति र प्रगति यो बिन्दुमा पुग्ने थिएन । अरूका निम्ति जीवन उत्सर्ग गर्ने कार्य नै सही अर्थमा मानवता हो । मान्छे सचेत र सामाजिक प्राणी हो । मान्छेले आफू मात्र होइन अरूका निम्ति पनि सोच्ने र ज्यान उत्सर्ग गर्ने हिम्मत र सामथ्र्य राख्छ । सहिद मानव जातिका सर्वश्रेष्ठ व्यक्ति हुन्, उनीहरू समाजका अगुवा, इतिहास निर्माता र क्रान्तिका प्रेरणाका स्रोत हुन् ।

राष्ट्रिय राज्यको जन्म भएयता सहिदलाई राष्ट्रिय एकताको निर्माण र सुदृृढीकरणको बलियो भावनात्मक आधार मानिन्छ । सहिदको कुनै वर्गीय, लिंगीय, जातीय वर्गीकरण हुँदैन । उ एउटा उच्च कोटीको मानव हुन्छ । सहिद अमर हुन्छन्, उनीहरूको बलिदानको गौरवगाथाले एकपटक मात्र होइन, पटक–पटक मान्छेलाई प्रेरित गर्छ । तसर्थ सहिदलाई राज्यले मात्र होइन समाजले पनि उत्तिकै आदर्श पात्रको रूपमा लिएर प्रेरणाको स्रोतको रूपमा सम्मान गर्नुपर्छ ।

सहिदको स्मृति तथा सम्मान गर्ने विविध तरिका, रूप र माध्यम हुन्छन् । विभिन्न देशमा सहिद गेट बनाउने, सहिद स्तम्भ बनाउने, सहिदका प्रतिमा स्थापना गर्ने, सडक/भवन/पूर्वाधारको नामकरण सहिदका नामबाट गर्ने, पाठ्यपुस्तकमा सहिदका गाथा राख्ने र बालबालिकालाई उनीहरूबाट प्रेरणा लिन प्रेरित गर्नेजस्ता कार्य गरिन्छ । नेपालमा पञ्चायतकालमा बनाइएको सहिद गेटमा राणा शासनविरुद्ध लड्ने सहिदभन्दा माथि राजाको मूर्ति राखियो, त्यो युक्तिसंगत थिएन । राजाको मूर्तिलाई अरू कुनै ठाउँमा पुनस्र्थापना गर्न सकिन्छ । तर, सहिद स्मारक भनेको सहिदकै स्मारक हुनुपर्छ, कुनै राजा महाराजा, नेता वा शासकको मूर्ति त्यहाँ जोड्नुहुँदैन । हामीले साझा सहिद गेट, सहिद स्तम्भ, सहिद स्मारक निर्माण गर्न नसक्नु नै दुर्भाग्यपूर्ण छ ।

आजसम्म पनि हामी राजा महाराजा भाइभारदारका नाममा सडक र चोकका नामकरण गर्दैछौँ । ती सडक चोकमा भाइभारदार र राजा–महाजाराका मूर्ति राखिएका छन् । तर, वास्तविक सहिदको नाममा न कुनै सडक, न कुनै पूर्वाधारको नामकरण गरियो न त सहिद स्तम्भ नै बनाउन सकियो । यस्तो प्रवृत्तिलाई बदल्न नसक्नु इतिहासको मूल्यांकन गर्न नजान्नु त हो नै, साथै सहिदको अपमान पनि हो । राजा त्रिभुवनले पनि राणाशाही फ्याकेर आफ्नै वंशीय शासन कायम गर्न केही योगदान गरे होलान् । तर, उनलाई सहिदको परिभाषाभित्र राख्न हुँदैन्थ्यो । पछि पञ्चायतकालविरुद्ध लड्ने क्रममा कांग्रेस र कम्युनिस्टको बीचमा जुन प्रकारको पूर्वाग्रह र संर्किणताको शीतयुद्ध चल्यो, त्यो मनोविज्ञान आजसम्म कायम राख्न जरुरी छैन ।

पञ्चायतकालमा बनाइएको सहिद गेटमा राणा शासनविरुद्ध लड्ने सहिदभन्दा माथि राजाको मूर्ति राखियो, त्यो युक्तिसंगत थिएन, राजाको मूर्तिलाई अन्यत्र पुनस्र्थापना गर्न सकिन्छ, तर सहिद स्मारक भनेको सहिदकै स्मारक हुनुपर्छ, कुनै राजा, महाराजा, नेता वा शासकको होइन 
 

सबैभन्दा ठूलो विडम्बना माओवादी जनयुद्धलाई लिएर छ । कांग्रेस र एमाले धारका मानिसले अझै यो आन्दोलनको महत्व, गरिमा र राष्ट्रिय योगदानलाई आत्मसात गर्न सकेका छैनन् । ००७ साल ०४६ सालको आन्दोलनबाट स्थापित प्रजातन्त्र किन, कहाँनेर अधुरो र अपुरो थियो, माओवादी जनयुद्धले त्यसलाई कसरी पूर्ण ग¥यो भन्ने विशुद्ध विवेचनाविना त्यो आन्दोलनको महत्व बुझिँदैन । एकातिर संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्ने अर्कोतर्फ माओवादी जनयुद्ध र त्यसका सहिदलाई अपमान गर्ने हुनै सक्दैन । आन्तरिक गृहयुद्धको अवस्थामा विभाजित मनस्थिति हुनु स्वाभाविक हुन्छ, तर त्यो चरण अन्त्य भइसकेको छ । माओवादी र तत्कालीन सात राजनीतिक दलको सहमतिमा संयुक्त जनआन्दोलन भएर राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, शान्ति सम्झौता र सेना समायोजनसमेत भइसकेको अवस्थामा सबै लोकतान्त्रिक, गणतान्त्रिक र संघीयता पक्षधर शक्तिले त्यो आन्दोलनलाई एउटा महान क्रान्तिकारी आन्दोलनको रूपमा स्वीकार्नुपर्छ ।

त्यो आन्दोलनका क्रममा बलिदान गर्ने सहिदको सम्मान गर्न कोही हिच्किचाउनु हुँदैन्थ्यो । तर, के देखा परेको छ भने तत्कालीन कांग्रेस अथवा एमाले नेताको सम्मानमा ठूला–ठूला सडक, पूर्वाधार र विश्वविद्यालयको नामकरण भएको छ । तर, माओवादी आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने सहिदको नाममा न त कुनै सडकको नामकरण भएको छ, न कुनै विश्वविद्यालय वा कुनै संस्थाको नामकरण हुन सकेको छ । उदाहरणका निम्ति म अर्थमन्त्री छँदा माओवादी आन्दोलनका सबैभन्दा अगुवा सहिद सुरेश वाग्लेको स्मृतिमा महाराजगन्ज टिचिङ हस्पिटलमा क्यान्सर केन्द्र निर्माणको प्रक्रिया सुरु गरियो । त्यो अहिलेसम्म पूरा हुन सकेको छैन । त्यसरी नै माओवादी आन्दोलनभित्रका सर्वस्वीकार्य व्यक्तित्व महान सहिद रामवृक्ष यादवको स्मृतिमा जनकपुर अस्पतालमा रामवृक्ष यादव केन्द्रको सुरुवात गरियो, तर त्यो पनि अहिलेसम्म पूर्ण हुन सकिरहेको छैन । यी त केही उदाहरण मात्र हुन् । समग्रमा हामीले सबै आन्दोलनका सहिदलाई उत्ति नै सम्मानका साथ ग्रहण गरेर उनीहरूलाई स्थापित गर्न र स्वीकार गर्न नसक्नु नै ठूलो विडम्बना भएको छ ।

नेपालजस्तो हिमाल, पहाड, मधेश र मधेशी, थारू, आदिवासी जनजाति, खसआर्य, दलित, महिला, मुस्लिमलगायत समुदायले बनेको देशमा यी सबै समुदायका सहिदलाई साझा रूपले सम्मान गर्ने परिपाटी बसाल्दा मात्रै सच्चा राष्ट्रिय एकता कायम हुन सक्छ । त्यसो गर्न सकिए लोकतान्त्रीकरण, गणतान्त्रीकरण, संघीयकरण, समावेशिता, स्वशासन, भाषिक, सांस्कृतिक अधिकारलगायत सवालमा भएका आन्दोलनको सम्मान हुन सक्छ । साथै, अहिलेसम्म जुन जातीय, क्षेत्रीय, लैंगिक विभेद र असमानता छ त्यसलाई न्यूनीकरण गर्न र देशमा सच्चा राष्ट्रिय एकता कायम गर्न ठूलो मद्दत पुग्न सक्छ ।

त्यस्तै, आन्दोलनका क्रममा हजारौँ बेपत्ता भएका छन् । तर, हामीले तिनको अहिलेसम्म टुंगो लगाउन सकेका छैनौँ । बेपत्तासम्बन्धी आयोगले छिटो काम सम्पन्न गरेर त्यसबारे टुंगो लगाउनैपर्छ । बेपत्ता भएकाको अवस्था ज्ञात नभए पनि उनीहरूको टुंगो गरेर पत्ता लागेन भने अज्ञात सहिदको रूपमा उनीहरूलाई सम्मान गर्नैपर्छ । त्यसरी नै आन्दोलनको क्रममा घाइते अपांग भएर जीवन बिताइरहेकालाई हामीले जीवित सहिदका रूपमा सुरक्षा र सम्मान गर्न सक्नुपर्छ । जुन देशको साझा सहिद हुन्न त्यो देशको एउटा बलियो भावनात्मक एकता पनि कायम रहँदैन । भावनात्मक एकता नभएको देशले समृद्धि पनि हासिल गर्न सक्दैन । यो संसारभर देखिएको विशेषता हो र नेपाल त्यसको अपवाद रहन सक्दैन ।

राष्ट्रिय विभूतिहरूको पहिचान र स्थापना
देशका निम्ति महान र अतुलनीय काम गर्ने, देशको अन्तर्राष्ट्रिय श्रीवृद्धि गर्नेलाई विभूति भन्ने गरिन्छ । संसारका सबै देशका आ–आफ्ना विभूति हुने गर्छन् । उनीहरूबाट सम्पूर्ण देशवासीले प्रेरणा लिने गर्छन् । हामीले जनताको तर्फबाट विभूति निर्माण गर्ने, स्थापना गर्ने, सम्मान गर्ने कार्य गर्न सकेका छैनौँ । विभूति भनेका युग परिवर्तन सँगसँगै त्यो युगका अलग–अलग क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई तत्कालीन युग र क्षेत्रका विभूतिका रूपमा मान्न सकिन्छ ।

सहिद मानव जातिका सर्वश्रेष्ठ व्यक्ति हुन्, उनीहरू समाजका अगुवा, इतिहास निर्माता, क्रान्ति र प्रेरणाका स्रोत हुन्

तत्कालीन संसारलाई ठूलो ज्ञानको ज्योति दिन सक्ने गौतम बुद्ध हाम्रा सबैभन्दा महान विभूति हुन सक्छन् । त्यसरी नै अहिले जतिसुकै विवाद गरिए पनि वर्तमान नेपाल राज्यको निर्माण पृथ्वीनारायण शाहकै नेतृत्वमा भएको राज्य विस्तारको क्रममा बनेको थियो । त्यसैले पृथ्वीनारायण शाहलाई देशकै विभूतिका रूपमा स्वीकार्न कुनै हिच्किचाहट गर्नुपर्ने देखिँदैन । आधुनिक युगको सूत्रवाद गर्ने उदारवादी खेमाका बिपी कोइराला र समाजवादी खेमाका पुष्पलाल श्रेष्ठलाई पनि हामीले साझा विभूतिको रूपमा स्वीकार गर्न सक्नुपर्छ । साहित्यिक क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटा साझा विभूति हुन सक्छन् । त्यसरी नै शंख्धर शाख्वा नयाँ मौलिक संवत सुरु गरेबापत राष्ट्रिय विभूतिको रूपमा सर्वस्विकार्य हुन सक्छन् । चीनसम्म गएर नेपाली वास्तुकलाको प्रचार–प्रसार गर्ने अरनिको अर्को साझा विभूति बन्न सक्छन् ।

राणा शासनको अन्धकार युगमा महिला, दलितलगायत माथि हुने विभेदविरुद्ध विद्रोह गर्ने योगमाया पनि साझा विभूति हुन सक्छिन् । त्यसरी नै देशमा पहिले ज्ञानविज्ञान र प्रविधि भित्राउने अगुवा गेहेन्द्र शमसेर पनि विभूति बन्न सक्छन् । सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङल्हामु शेर्पा पर्वातारोहण र साहसका निम्ति राष्ट्रिय विभूति बन्न सक्छिन् । यसरी हामीले विभिन्न क्षेत्रबाट राष्ट्रिय विभूति निर्माण गर्न सक्छौँ ।

हामी संघीयतामा गइसकेका छौँ । भलै यो संघीयता अपूर्ण छ । तर, यो संघीयतालाई पहिचानसहितको पुनः सिमांकन गर्न सक्यौ भने सबै प्रदेशका अर्थात् लिम्बुवान, किरात, ताम्सालिङ, नेवा, तमुवान, मगरात, खसान, थारुवान, मधेसका आ–आफ्ना विशेषताका विभूति निर्माण गर्न सकिन्छ । यसरी साझा विभूति हामीले निर्माण गर्न सक्यौ भने साझा राष्ट्रिय एकता, स्वाभिमान, आत्मविश्वास वृद्धि हुन सक्छ । अहिले अमेरिका, चीन, भारतलगायत देशमा साझा विभूति निर्माण गरेर उनीहरूले जसरी भावनात्मक रूपमा राष्ट्रिय एकता कायम गरेका छन् र देशलाई एकताबद्ध गरेका छन्, हामीले पनि त्यो गर्न सक्छौँ । साथै युगअनुसार विभूति थपिँदै जान्छन् । त्यसमा हामी लचिलो रहनुपर्छ । तसर्थ सर्वपक्षीय आयोग बनाएर सर्वमान्य सहिदको निरूपण गर्ने र उनीहरूको सम्मानको व्यवस्था गरिनुपर्छ भने अर्को निष्पक्ष स्वतन्त्र आयोग निर्माण गरेर राष्ट्रिय विभूतिको टुंगो लगाउन सक्नुपर्छ ।

इतिहास बिर्सनेले भविष्य बनाउन सक्दैन । सहिद र विभूतिको पहिचान र सम्मान नगरिकन बलियो राष्ट्रिय एकता कायम गर्न सकिँदैन । हामीले जबसम्म साझा राष्ट्रिय सहिद र साझा राष्ट्रिय विभूति निर्माण गर्न सक्दैनौँ त्यतिवेलासम्म भावनात्मक एकतासहितको राष्ट्र निर्माणको भावी कार्यदिशा प्रस्ट हुँदैन । यस्ता अहम महत्वका सवालमा दलीयकरणको प्रवृत्ति त्यागौँ । दलीयकरणको दलदलबाट माथि उठौँ र सच्चा राष्ट्रिय एकता कायम गरौँ । नयाँपत्रिका दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार