काठमाडौंः गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो।
चलचित्रलाई सिनेमा हलहरुले अन्याय गरेको उनीहरुको आरोप छ। शुक्रबार ४५ शो पाएको चलचित्रले शनिबार ५० शो र तीजको दिन ५५ शो भन्दामाथि पाउने आश गरे पनि अपेक्षाकृत रुपमा हलले शो नदिएको उनीहरुको आरोप छ।
नेपाली फिल्म राधाले दर्शकको राम्रो प्रतिक्रिया पाएको तर हलले प्रदर्शनको समय नदिएको उनीहरुको गुनासो छ। पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक सुवर्ण थापाले हलहरुले दर्शक जाँदाजाँदै पनि शो घटाएर अन्याय गरेको बताउनुभयो।
उहाँले फिल्म लामो समयसम्म चल्ने अपेक्षा राखेको र दर्शक आइरहेको बेलामा शो नै नदिनु नेपाली चलचित्र क्षेत्रमै अन्याय भएको बताउनुभयो। आफूसँगै प्रतिष्पर्धामा रहेको प्रकाश चलचित्रले पनि पत्रकार सम्मेलन गरेपछि मात्रै केही शोहरु बढाएको बताउनु भयो।
त्यस्तै अभिनेता सौगात मल्लले हलले शो नदिए वैकल्पिक उपाय सोच्नुपर्ने बताउनुभयो। अभिनेत्री श्रृष्टि श्रेष्ठले अब चाँडै अर्को विकल्प खोजेर दर्शकसामु पुग्ने बताउनुभयो। उहाँले वैकल्पिक उपायबाट दर्शकसँग जोडिने बारेमा छलफल भइरहेको र अन्यायमा पर्ने अन्य फिल्महरुका बारेमा यसले सहयोग पुग्ने बताउनु भयो।
सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगात र श्रृष्टीबाहेक दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुष्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय छ।
फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेण्ट युके, मण्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्शनको एशोसिएशनमा निर्माण भएको हो। फिल्म बिरजना इन्टरटेन्मेण्ट तथा विक्रमदास जोशी सह-निर्माता रहेका छन्। फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया