वैशाख १३, २०८१ बिहिबार April 25, 2024

इतिहासले सिकाएको पाठ – युवराज गौतम

नुवाकोटमै बनाइएको कागजमा प्राकृतिकतवरबाट बनाइएको मसीले निगालोको कलमले लेखिएको “दिव्य–उपदेश” राष्ट्रिय मूलनीतिको आधार बन्न सक्छ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरिका ब्रिटेनबाट स्वतन्त्र भएकै साल (सन् १७७६) मा स्कटल्यान्डका अर्थशास्त्री आदम स्मिथको “द वेल्थ अफ नेसन्स” (राष्ट्रको सम्पत्ति) प्रकाशित भयो। त्यसमा राष्ट्रिय सम्पत्ति भनेका जनता हुन भनिएको छ। उनीहरू योग्य, इमानदार र सक्षम भए मात्र राष्ट्र सुदृढ, सुसम्पन्न र सुखी हुन्छ भन्ने तर्क छ।

अमेरिका स्वतन्त्र हुनु भन्दा आठ वर्षपहिले नै नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहले दिव्य–उपदेशमा प्रजा मोटा भया, दरवार बलियो रहन्छ भनेका थिए। अमेरिका, ब्रिटेन, फ्रान्स वा नेपाल जहाँ पनि राष्ट्रका परम हितैषी र आधार जनता नै हुन् भन्ने मान्यता हजारौँ वर्ष पुरानो हो। त्यसैले सबै जातजाति, भाषा, धर्म, परम्परा र संस्कृतिका रक्षकलाई राजनीतिज्ञ होइन, राजनेता भन्ने गरियो। त्यस्ता महामानव सत्ताको नाफा र घाटा होइन राष्ट्रको सुन्दर भविष्य हेर्ने राष्ट्र नायक हुन्। राजा आफैँले युद्ध मैदान – (ब्याटल फिल्ड) सम्म गएर संंघर्ष गरेका उदाहरण बिरलै छन्।

पृथ्वीनारायणले नेपाललाई आत्मनिर्भर बनाउने मार्गचित्र कोरे। स्वदेशी कपडा बनाउने स्वदेशी खानी र उद्योग चलाउने प्राचिन धर्म, संस्कृति र परम्पराको रक्षा गर्ने जस्ता कुरामा उनको स्पष्ट धारणा पाइन्छ। युरोप, अमेरिकामा उच्च शिक्षा लिएका ऊबेलाका विद्वान्, विदुषीको सोच उनीहरूको इतिहास, माटो र अवस्था अनुकूल थियो भने चीन, भारतबीचको नेपाललाई स्थिर, सम्पन्न र सुदृढ बनाउन पृथ्वीनारायणले गरेको परिकल्पना झन उन्नत थियो। असामयिक मृत्युका कारण उनका धेरै सपना पूरा हुन् पाएनन् तर उनकी बुहारी राजेन्द्रलक्ष्मी र कान्छा छोरा बहादुर शाहले जुन योगदान गरे त्यो पृथ्वी विचारबाटै अनुप्राणित, उत्पे्ररित र पुष्पित भएको पाइन्छ।

सम्राट छिन सि हुआङ्दी चीनका एकीकरणकर्ता हुन् भन्ने कुरा त्यहाँको इतिहास बोलिरहेको छ। अफ्रिकाका ५४ राष्ट्रमा इथियोपियाबाहेक सबै पराधीन थिए। ती राष्ट्रको निर्माण गर्ने तथा स्वतन्त्रता संग्रामका नायकहरूलाई आज झन् धेरै सम्मान गरीन्छ। उनीहरूले राष्ट्रको शिर उठाए।

हंगेरीका अर्पड, इन्डोनेसियाका सुकार्नो, इरान (पर्सिया)–का साइरस, अफगानिस्तानका अहमद शाह दुरानी, भुटानका उगेन वाङ्चुक, बोलिभियाका सिमोन बोलीभर, केन्याको जोमो केन्याता, ब्रुनाइका ओमार अलि माइबुद्धिन (तृतीय), ग्रिसका अलेक्जान्डर मालदिभ्सका महमद फरिद, जर्मनीका बिस्मार्क, पाकिस्तानका महमद अलि जिन्ना, रसियाका पिटर, सिंगापुरका लि–क्वान यु तथा स्विडेनका गुस्ताभ आदि राष्ट्र निर्माता मानिन्छन्।

नुवाकोटमै बनाइएको कागजमा प्राकृतिकतवरबाट बनाइएको मसीले निगालोको कलमले लेखिएको “दिव्य–उपदेश” राष्ट्रिय मूलनीतिको आधार बन्न सक्छ।

यस्तै टर्कीका कमाल आतातुर्क, अमेरिकाका जर्ज वासिङ्टन, भियतनामका हो–चि–मिन्ह, जाम्बियाका केनेथ काउन्डा ती राष्ट्रको इतिहासमा राष्ट्र निर्माताका रूपमा वन्दनीय, आदरणीय र उदाहरणीय मानिन्छन्। अमेरिकाले त्यहाँको डलरमा जर्ज वासिङ्टनको तस्बिर राखेर इतिहासको सम्मान गरेको छ। भारतमा मोहनदास–करमचन्द (महात्मा गान्धी) को तस्बिर अंकित नोट प्रचलनमा छ। नेपालमा सबैजसोले पृथ्वीनारायणलाई राष्ट्र निर्माता मानेका छन्। तसर्थ नेपाली नोटमा उनको तस्बिर राख्दा विवाद गर्नुपर्ने कुनै कारण देखिँदैन।

जोर्डनका राजा हुसेनको कथन घत लाग्दो छ– “राष्ट्रिय एकताका विरोधीप्रति मेरो कुनै प्रेम र सद्भावना छैन, रहने छैन्।” सबै देशभक्तको हृदयमा यही प्रबल भावनाले बास गरेको हुन्छ। केही द्रोही, परावलम्बी र पञ्चमांगी (फिफ्त कलम्निस्ट) बाहेक सबै चाहन्छन्, राष्ट्र अखण्ड, अविभाज्य र अमत्र्य रहोस्।

वि.सं.१७७९ मा जन्मेर १८३१ सम्म ५२ वर्ष जतिको जीवन संघर्षमा बिताए, पृथ्वीनारायण शाहले। नरभुपाल शाह र कौशल्यवतीका जेठा छोरा पृथ्वीनारायण गोरखाको राजगद्दीमा बस्दा २० वर्षका थिए। उनले त्यही बेलादेखि एकीकरण अभियान चलाए। उनको देहाबसानपछि पनि एकीकरण अभियान जारी रह्यो। बुहारी राजेन्द्रलक्ष्मी र कान्छा छोरा बहादुर शाहले पश्चिमको सतलज नदी (हालको पन्जाब) र पूर्वमा टिस्टा नदी (दार्जिलिङ सहरबाट पूर्व) सम्म नेपालको सिमाना फैलाए। दक्षिणमा मगध क्षेत्रसम्म नेपाल थियो। पृथ्वीनारायणका पनाति राजा गीर्वाणयुद्ध विक्रम शाहका पालामा भएको नेपाल–अंगे्रज युद्धमा परास्त भएका कारण नेपालले झण्डै चालीस प्रतिशत भूभाग गुमायो। तत्कालीन राजदरवारका भारदारहरूमै विभाजन सुरु भयो। फलतः दुर्दशा सुरु भयो।

पृथ्वीनारायणले पहिले नै चेतावनी दिएका थिए। हामीबीचमा एकता भएन भने अरूले लुट्नेछन्। “भाइ फुटे गवार लुटे” भनेकै थिए। डेढ वर्षको उमेरमा राजगद्दीमा राखिएका शिशु राजा थिए, गीर्वाण। उनी बीस वर्ष मात्रै बाँचे। वीरविक्रम लेख्ने प्रथम राजा गीर्वाणले दरवारमै प्राचीन धर्म संस्कृति र साहित्यका ग्रन्थ पढे। हनुमानढोका राजदरवारमा नेपालको प्रथम पुस्तकालय स्थापना गर्ने उनै हुन्। दरवारका ज्ञानीजनहरूले अंग्रेजसँग युद्व गर्दा राष्ट्रले ठूलो क्षति भोग्नुपर्छ भन्ने सल्लाह दिए पनि प्रधानमन्त्री भीमसेन थापाको अभिमानका कारण नेपाल हारेको कतिपय इतिहासकारको तर्क छ। सुगौली सन्धिपछि मेची–महाकाली नदीबीच खुम्चिएको नेपाल धेरै कमजोर भयो।

समयको पदचाप सुन्न नसक्नेहरूले हार खानुपर्छ, मार खानुपर्छ। इतिहासले सिकाएको पाठ यही हो। पृथ्वीनारायणको स्मृतिमा वीरपूजा गर्ने प्रचलन योगी नरहरिनाथले सुरु गरेका हुन्। असन केलटोल (काठमाडौँं) निवासी काजी बखतमानसिहं बस्न्यात (श्यामकाजी भन्थे उनलार्ई) – का घरमा फेला परेको पृथ्वीनारायणको उपदेशलाई ‘दिव्य उपदेश’ भन्ने पनि नरहरिनाथ हुन्।

मृगस्थली पाशुपतक्षेत्रस्थित गोरक्षमठमा बस्थे कर्णालीका नरहरिनाथ। पंक्तिकारका प्रश्नहरूको जवाफमा उनले (चालीस वर्षपहिले) भनेका थिए– “पृथ्वीनारायणका प्रधानसेनापति शिवरामसिंह बस्न्यातले पृथ्वीनारायणका वाणीलाई नुवाकोट दरवारमा लिपिबद्ध गरेका कारण त्यो दस्ताबेज बस्न्यात परिवारमा सुरक्षित रहेको हो।” बृद्धहरूबाट सुनेको कुरा, जर्मनीका एक अन्वेषकले प्रशस्त पैसा दिएर दिव्यउपदेशको सक्कल प्रति किन्न चाहेका थिए। ऊबेला बखतमानसिंह बस्न्यातले भनेछन्– “म इतिहास बेच्नेको सन्तान होइन। करोडौँ रुपियाँ दिए पनि म बेच्दिन।” उनले २०२४ सालमा राजा महेन्द्रलाई दिव्य–उपदेश हस्तान्तरण गरे। त्यसबेला महेन्द्रले पुरातŒव विभागमा पठाएको साफल्य अमात्यबाट सुनेको हुँ।

नुवाकोटमै बनाइएको कागजमा प्राकृतिकतवरबाट बनाइएको मसीले निगालोको कलमले लेखिएको “दिव्य–उपदेश” राष्ट्रिय मूलनीतिको आधार बन्न सक्छ।

नरहरिनाथले भनेका छन्– नेपालको निर्माण, एकीकरण, संरक्षण, सम्पोषण र सम्वद्र्धन राजा, जनता र सेनाले गरेका हुन्। त्यसकारण राष्ट्र बचाउन यी तीन शक्तिको एकता रहिरहनुपर्छ नत्र नेपालको अस्तित्व रहने छैन।नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया