जेठ ४, २०८१ शुक्रबार May 17, 2024

व्यवसायी सुलभ अग्रवालमाथिको अनुसन्धानका लागि तेस्रोपटक म्याद थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यवसायी सुलभ अग्रवालमाथिको अनुसन्धानका लागि तेस्रोपटक म्याद थप गरेको छ । अग्रवालले धेरै विषय लुकाएको र उनीसँगको कनेक्सनमा रहेका अन्य गिरोहको समेत खोजी गर्नुपर्ने भएकाले अनुसन्धान अझै गहिराइमा गएर गर्नुपर्ने निष्कर्ष प्रहरीले निकालेको छ । सोही निष्कर्षबमोजिम प्रहरीले अग्रवालमाथि १० दिनको म्याद थप गर्न प्रशासनसँग समय मागेको हो ।

प्रहरीको मागबमोजिम काठमाडौं प्रशासनले अग्रवालमाथिको अनुसन्धान जारी राख्न आइतबार १० दिनको म्याद थप गरेको हो । सुरुमा ५ दिन र त्यसपछि ७ दिन म्याद थप गर्दा पनि अनुसन्धान पूरा नभएपछि प्रहरीले आइतबार पुनः म्याद थपका लागि अग्रवाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौं पुर्याएको थियो ।

अनुसन्धानका क्रममा अग्रवालले प्रहरीसमक्ष स्पष्ट बयान नदिएपछि प्रहरीले उनीसँगको अन्य व्यक्तिको संलग्नता समेत खोजी गरिरहेको छ । यसैगरी, उनले के कति परिमाणमा सामान ल्याएका थिए र ती सामान के के थिए भन्नेतर्फ समेत प्रहरीले व्यापक अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले अग्रवालसँगको अनुसन्धानका क्रममा स्पष्ट बयान नआएकाले प्रहरीले अन्य थप संलग्नतासमेत खोजी गरिरहेको बताए ।

थर्मल गनमा कालोबजारी गरेको आरोप लागेका अग्रवालमाथि अनुसन्धान गर्न आइतबार १० दिन म्याद थप गर्ने निर्णय गरिएको छ । प्रहरी स्रोतका अनुसार यस प्रकरणलाई गहन रूपमा अघि बढाइने र अग्रवालका कालोबजारी गर्ने जालो खोज्ने योजनाका साथ यो मुद्दालाई गम्भीरतासाथ अघि बढाइने भएको छ ।

गत २५ चैतमा १५ हजार रुपैयाँ प्रतिथान मूल्यमा थर्मल गन बिक्री गर्न लागेको अवस्थामा प्रहरीले ६७ थान थर्मल गनसहित अग्रवाललाई नक्सालबाट पक्राउ गरेको थियो ।

त्यसयता उनीमाथिको मुद्दा कमजोर बनाएर उनलाई छुटाउन व्यवसायीहरूले प्रहरीमाथि चर्को दबाब दिँदै आइरहेका छन् । उनीहरूले मुद्दा कमजोर बनाउन प्रहरीमाथि शक्तिकेन्द्रको दबाब लगाउँदै आइरहेका छन् । प्रहरीले दबाबका बाबजुद अग्रवालमाथिको अनुसन्धानका लागि १० दिनको म्याद थपेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीद्वारा पक्राउ परेका अग्रवालले २० हजार थान थर्मल ल्याएको प्रहरीको दाबी गरेको थियो । तर, उनले भन्सार जाँच पास गराउँदा १ हजार २ सयको मात्रै रकम तिरेका छन् । प्रहरीले अन्य थर्मल गन कहाँ छ भन्ने समेत यस बीचमा पत्ता लगाउन सकेको छैन ।

सुवास अग्रवालका नाममा अवैध कारोबार गर्दै आएका उनलाई पक्राउ गर्न प्रहरीले आफैं व्यापारी बनेर मोलमोलाई गरेको थियो । व्यापारी अग्रवालमाथिको मुद्दा कमजोर बनाउन उद्योग सम्बद्ध व्यापारी, उद्योग वाणिज्य महासंघ र सीएनआईका उच्च पदाधिकारीहरू नै लाग्दै आएका छन् ।

अग्रवालले भन्सार कार्यालयमा बीजक बुझाएअनुसार चीनमा २० डलर तिरेर थर्मल गन खरिद गरेको उल्लेख छ । हाल उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् ।

उनीमाथि कालोबजार तथा केही सामाजिक अपराध तथा सजाँय ऐन, २०३२ अन्तर्गतको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अग्रवालले २१ चैतमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा थर्मल गन ल्याएका थिए । तर, के कति संख्यामा ल्याएका थिए भन्ने पुष्टि भइसकेको छैन । राजधानी दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया