असार ५, २०८३ शुक्रबार June 19, 2026

लोकतन्त्र र बहुलवादको पहरेदारी – राजन कुइँकेल

राज्य सञ्चालन गर्ने जिम्मेवारी पाएका दलभित्रको उन्नत लोकतन्त्रले नै राज्य व्यवस्था कति गतिशील र समृद्ध छ भन्ने देखाउँछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रजातान्त्रिक विचार समाज प्रजातन्त्र, नागरिक अधिकार, बहुलवाद, सुशासन जस्ता क्षेत्रमा कार्य गर्न गठित पेसा व्यवसायका बुद्धिजीवी आबद्ध एक गैरसरकारी नागरिक संस्था हो । २०४६ सालको जनआन्दोलनले मुलुकमा बहुदलीय व्यवस्था पुनर्बहाली गराएपश्चात्को पाँच वर्षभित्रै प्रजातान्त्रिक व्यवस्थामा सिर्जना गराइएको अस्थिरता र त्यसले नागरिक अधिकारमा ल्याउन सक्ने सङ्कटलाई मध्यनजर गर्दै मुलुकका प्रजातन्त्रवादीले २०५२ सालमा यस वैचारिक संस्थाको स्थापना गरेका हुन् । प्राध्यापन, कानुन व्यवसाय, चिकित्सा, पत्रकारिता, इन्जिनियरिङ, शैक्षिकलगायत क्षेत्रमा आबद्ध प्रजातान्त्रिक पद्धति र मान्यतामा विश्वास राख्ने व्यक्तिको छाता संस्थाका रूपमा विचार समाज व्रिmयाशील छ । समाजको बाह्रौँ साधारण सभा हिजोबाट सुरु भएको छ । दुई दिने उक्त सभा गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवको प्रमुख आतिथ्यतामा भइरहेको छ ।

प्राध्यापक बिसी मल्ल (त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं पूर्व राजदूत) को अध्यक्षतामा गठित यस संस्थाले स्थापनाका समयदेखि नै प्रजातन्त्र र प्रजातान्त्रिक शासन पद्धतिको पक्षमा निरन्तर रखबारी र खबरदारीको काम गर्दै आएको छ । २०५१ सालको मध्यावधि निर्वाचनपछि बनेको त्रिशङ्कु संसद् र अस्थिर सरकारका कारण कमजोर बन्दै गएको नागरिकका अधिकारलाई संरक्षण गर्ने र जनउत्तरदायीविहीन सरकारलाई खबरदारी गर्ने काम त्यसयता यस संस्थाले निरन्तर गर्दै आएको छ ।  स्थापना यताको करिब तीन दशकको यात्रामा प्रजातान्त्रिक विचार समाज राज्य व्यवस्था सञ्चालनमा देखिएका कमीकमजोरी र कुशासनका विरुद्ध लड्दै आएको छ । प्रजातन्त्रको प्रतिफल सत्तामा रहने र उनैको वरिपरि प्रदक्षिणा गर्नेहरूमा सीमित नरही भुइँमान्छेसम्म पुग्नुपर्छ भन्ने विषयमा बारम्बार नेतृत्वमा रहेकालाई घच्घच्याउँदै काम पनि हुँदै आएको छ ।

बहुदलीय व्यवस्था स्थापनाको तीन दशकको यस अवधिभित्र प्रजातन्त्रमाथि अनेकन कोणबाट गरिएका प्रहारविरुद्ध बुद्धिजीवीलाई सङ्गठित गर्दै नागरिक अधिकार गुम्न नदिन भएका खबरदारी आन्दोलनमा यस संस्थाको अग्रणी भूमिका रहिआएको छ । चाहे २०५२ सालमा संसदीय प्रजातन्त्रविरुद्ध माओवादीले थालेको सशस्त्र युद्ध होस् वा राजा ज्ञानेन्द्रले शासनसत्ता हत्याएपछिको सन्दर्भमा होस्, नागरिक अधिकार स्थापना गर्ने आन्दोलनमा यस संस्था सतिसालझैँ उभिएको पृष्ठभूमि छ ।

मुलुकको शासन व्यवस्था एकदलीय, स्वेच्छाचारी, अधिनायकवादी, सर्वसत्तावादी सोच र मान्यताबाट होइन, पूर्णलोकतान्त्रिक पद्धतिमार्फत सञ्चालन गर्न मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि गरिएको आन्दोलन होस् वा राजनीतिमा हिंसा वर्जित र शान्ति अपरिहार्य भएको तथ्य संस्मरण गराउँदै शक्ति आर्जनका लागि व्यक्ति हत्यामा रमाएको माओवादी जस्ता दलहरूलाई शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आउन र ल्याउन दबाब सिर्जना गर्ने जस्तो कार्यमा पनि यस संस्थाले महìवपूर्ण भूमिका खेलेको सन्दर्भ स्मरणीय छ ।

जसरी पनि सत्तामा पुग्ने, राजनीतिलाई भ्रष्ट र आपराधिक मनोवृत्तिको छायामा सुम्पने, अपारदर्शी आयमा रजगज मच्चाउने, पार्टी संरचना कब्जा गर्न जस्तोसुकै हर्कत गर्ने, पार्टी सत्तामा पुगेपछि प्रजातान्त्रिक आवरणमा राजनीतिलाई नै आपराधीकरण गर्ने जस्ता दल र तिनका नेताहरूको लोकतन्त्रविरोधी गतिविधिको प्रजातान्त्रिक विचार समाजले सधैँ भत्र्सना र विरोध गर्दै आएको छ ।

नेपालको प्रजातन्त्र र नागरिक अधिकारका लागि सङ्गठित भएका र काम गर्दै आएका दलभित्र मर्दै गएको लोकतान्त्रिक आचरण, नेतृत्व चयनमा देखिएका अस्वस्थ प्रतिस्पर्धा, नेतृत्व निर्माण र विकासमा देखिएको अवरोध, नयाँ पुस्ता-सोच र मान्यतालाई गरिने निषेध जस्ता विषयलाई कसरी चिर्ने भन्नेबारेमा राजनीतिक दलका नेताहरूसँगै बसेर शृङ्खलागत छलफल गरिएका छन् ।

यस अलवा, सामयिक बौद्धिक वैचारिक छलफल, गोष्ठी र सेमिनारले समाजलाई दिशानिर्देश गर्न सघाउ पु-याएको छ । भ्रष्टीकृत बनेको राजनीति, प्रशासन र निजी क्षेत्रका कारण त्यसले मुलुकको आर्थिक अनुशासनमा ल्याउने भयावह अवस्थाका बारेमा होस् वा मुलुकलाई नयाँ आर्थिक चरणमा फड्को मार्न आवश्यक पर्ने पक्षमा विचार समाजले लगातार बहस र अन्तरक्रिया गर्दै सरकार र सरोकारवाला निकायलाई ध्यानाकर्षण गर्दै आएको छ ।

बढ्दो बेरोजगारीका कारण लाखौँको सङ्ख्यामा भइरहेको युवा पलायन, त्यसले निम्त्याएको सामाजिक समस्या, रगत र पसिनासँग साटिएका रेमिट्यान्सको अनुत्पादक क्षेत्रमा भइरहेको खर्च र यसबाट आउँदा केही दशकमा निम्तने राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विशृङ्खलताका बारेमा राजनीतिक दल र सरकारलाई आफ्ना दृष्टिकोण र धारणा समाजले दिँदै आएको छ ।

लोकतन्त्र भनेको प्रकृया मात्र होइन, यो त पद्धतिको पालना पनि हो । राज्य सञ्चालन गर्ने जिम्मेवारी पाएका दलभित्रको उन्नत लोकतन्त्रले नै राज्य व्यवस्था कति गतिशील र समृद्ध छ भन्ने देखाउँछ । हालैका दिनमा जनस्तरमा देखिएका निराशा र आक्रोशको बुद्धिमत्तापूर्ण सम्बोधन जरुरी छ । यो फगत कुनै दलको पतन र उदयसँग मात्र सीमित छैन । यो त दलहरूको अकर्मण्यता, कुशासन र ती दलभित्र मर्दै गएको लोकतन्त्रले निम्त्याएको डढेलोको प्रारम्भिक रूप मात्र हो ।

दशकौँ दशक प्रजातन्त्र, नागरिक अधिकार र विधिको शासनका लागि सङ्घर्ष गरेका दलका नेता कार्यकर्तामा पछिल्ला केही वर्ष र दशकमै देखिएको राजनीतिक, आर्थिक तथा नैतिक स्खलनको परिणाम आमजनतामा छाएको निराशा सुकेको खरमा लागेको आगोको झिल्को मात्र हो । यसलाई होसियारीपूर्वक सम्हाल्न नसकेमा निम्त्याउने दुष्परिणाम भयावह र अकल्पनीय हुने छ ।

जनताको निराशा र आक्रोशलाई फगत राज्यसत्तामा उक्लने भ-याङका रूपमा मात्र प्रयोग गरिँदा त्यसले निम्त्याउने अराजकताको आयाम कति होला भन्ने त्रासद पक्ष पनि छँदै छ । समाजमा रहेको चरम गरिबी र विभेदलाई २०५२ सालमा माओवादीले राज्यसत्तामा उक्लने हतियारका रूपमा प्रयोग त ग-यो । त्यो आन्दोलनको पटाक्षेप केही दर्जन नेता र तिनका आसेपासेले वैध-अवैध माध्यमबाट अकुत सम्पत्ति थुपार्ने राज्य दोहनको लाइसेन्समा सीमित भएको तथ्यलाई पनि हामीले बिर्सनु हुन्न ।

आज भ्रष्टाचार मुलुककै महारोग अर्थात् क्यान्सरका रूपमा झाँगिएको छ । आसेपासे पोस्ने अर्थतन्त्र बलियो बनेको छ । औपचारिकभन्दा अनौपचारिक र झस्केलाबाट पोषित अर्थतन्त्र मौलाएको छ । तस्कर, दलाल, बिचौलिया, भ्रष्ट-कर्मचारीको बोलवालाले अर्थतन्त्र छायामा परेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पदेखि २०७६ सालबाट विश्वव्यापी बनेको कोरोना सङ्कटलाई बिचौलियाले देश र जनता लुट्ने अवसर बनाए भने त्यस्ता अपराधमा संलग्न राजनीतिक नेतृत्वमाथि कुनै कारबाही गरिएन । बरु तत्कालीन समयमा सरकारमा रहेका दल र त्यसका मूल नेतृत्वले तिनै अपराधीलाई उन्मुक्ति दिन राज्यसत्ताको दुरुपयोग बारम्बार गरिरहे । परिणाम, नक्कली भुटानी शरणार्थी खडा गरेर अर्बाैं लुट्ने खेल यतिबेला पटाक्षेप भएको छ । अझ अन्तर्राष्ट्रिय सङ्गठित अपराधमा संलग्न रहेका राज्यद्रोहीलाई विभिन्न बहानामा जोगाउने, मुद्दा कमजोर बनाउने वा राजनीतिक तहलाई जोगाएर केही व्यक्तिलाई कठघरामा पु-याएर घटना सामसुम बनाउने षडयन्त्रको तानाबाना बुन्ने खेल नहोस् भन्नेतर्फ हामी सबै सचेत हुन जरुरी छ ।

भ्रष्टाचार मात्र नभई राज्य संरचना र अधिकारी नै संलग्न राज्यद्रोहकै स्तरका यस्ता अपराधमा जोडिएका जोकोहीमाथि बिना मोलाहिजा निर्मम ढङ्गले कारबाही गर्न सरकार र सम्बन्धित निकायले खुट्टा कमाउनु हुन्न भन्ने समाजको प्रस्ट मान्यता छ । भ्रष्टाचार होस् वा कुनै पनि अपराध, त्यसको न कुनै लिङ्ग हुन्छ न रङ्ग, भाषा, समुदाय, वर्ण, जात या दल नै । जतिसुकै ठुलो ओहोदामा रहेको भए पनि उसले गरेको कर्म अपराध हो भने सोही अनुसारको व्यवहार र दण्डबिना भेदभाव दिइनु पर्दछ । यसमा अनुसन्धान अधिकारीदेखि मुद्दा छिन्ने निकाय न्यायालयसम्मले विभेद गर्नु हुन्न । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार