मकवानपुर । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
प्रदेश प्रमुख प्रसाईँले प्रदेश सरकारको नीति तथा कार्यक्रममा भौतिक विकास, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगारी तथा सामाजिक क्षेत्रलाई समेटिएको छ ।
नीति तथा कार्यक्रममा कोरोनासँग लड्न विशेष कार्यक्रम, युवाहरूको लागि रोजगारीको सृजना गर्ने, कृषि क्षेत्रलाई विशेष प्राथमिकता साथै सामाजिक क्षेत्रमा विशेष काम गर्ने गरी नीति कार्यक्रम ल्याएको छ ।
नीति तथा कार्यक्रममा प्रदेशको गौरवको योजनाको रूपमा रहेको भीम फेदी–कुलेखानी सुरुङ मार्गलाई चार वर्षभित्र पुरा गर्ने घोषणा गरिएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख प्रसाईँले उक्त आयोजनाको डिपिआर तयार भइसकेको भन्दै आगामी चार वर्षभित्र योजना सम्पन्न गरिसक्ने बताएका छन ।
त्यस्तै नीति तथा कार्यक्रममा यस अघि सञ्चालित कार्यक्रम सँगै “प्रदेश सरकार–शिक्षालय सहकार्य कार्यक्रम” सञ्चालनमा ल्याएर प्रदेश सरकार र विश्वविद्यालय, सङ्काय, अध्ययन संस्थानबिच समझदारी गरी कम्तीमा स्नातक तह अध्ययन गरेका विद्यार्थीहरूलाई बढीमा एक वर्षसम्म प्रदेशबाट तोकिएको निकाय वा स्थानीय तहमा स्वयंसेवकको रूपमा काम गर्ने व्यवस्था मिलाइने घोषणा गरेका छन ।
बागमती प्रदेश सरकारले प्रदेश सचिवालयको भवन निर्माण यसै आर्थिक वर्षबाट सुरु गरिने भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख प्रसाईँले प्रदेश सचिवालयको भवन निमार्ण यसै वर्षबाट सरु हुने घोषणा गरेका छन ।
प्रदेश सरकारले हेटौँडा अस्पताललाई तीन सय शय्याको अस्पतालमा रूपान्तरण गर्ने समेत उनले बताएका छन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई अनुसन्धान केन्द्रको रूपमा विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसै गरी प्रदेशका अन्य जिल्लामा रहेका अस्पतालहरूलाई समेत एक सय र ५० शय्याको बनाउने नीति तथा कायक्रममा उल्लेख छ । बागमती प्रदेश सरकारले महिलाको पाठेघर तथा स्तन क्यान्सरलाई निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउने भएको छ । क्यान्सर अस्पतालहरूको सहकार्यमा उक्त व्यवस्था मिलाइने भएको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रसाईँले उक्त घोषणा गरेको हो ।
त्यस्तै बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत आगामी आर्थिक वर्ष प्रदेशमा सञ्चालन हुने तामाङ तथा नेपाल भाषाको मिडियालाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । त्यस्तै मर्जर हुन चाहने मिडियालाई समेत प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया