बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

एमालेमा पार्टी पुनर्गठन र पुस्तान्तरणको बहस

नेतृत्वमाथि संकट मडारिएसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता एकाएक बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । वर्ष २०८२ नेकपा एमालेका लागि राजनीतिक इतिहासकै सर्वाधिक कठिन र चुनौतीपूर्ण वर्ष सावित भएको छ । भदौ २३ र २४ गते देशमा उर्लिएको ‘जेन-जी आन्दोलन’ र त्यसले निर्माण गरेको भाष्य अनि फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले भोगेको ‘लज्जास्पद’ पराजयले सिंगो पार्टी पंक्तिलाई गम्भीर धक्का दिएको छ । एक समय ‘बा’ को उपनामले देशव्यापी लोकप्रियताको शिखरमा रहनुभएका अध्यक्ष केपी शर्मा ओलीकै निर्वाचन क्षेत्र झापामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको भारी मतान्तरको हार र त्यसपछिका राजनीतिक-कानुनी घटनाक्रमले एमालेलाई रक्षात्मक मात्र बनाएको छैन, पार्टीको अस्तित्व रक्षाकै लागि निर्मम शल्यक्रिया गर्नुपर्ने बिन्दुमा ल्याइपुर्‍याएको छ ।

अहिले एमालेभित्र चिया पसलदेखि नेताहरूको आन्तरिक बैठकसम्म एउटै विषयले प्राथमिकता पाएको छ, पार्टी पुनर्गठन र नेतृत्वको पुस्तान्तरण । औपचारिक कमिटीका बैठकहरू बस्न नसके पनि भित्रभित्रै विशेष महाधिवेशनको माग गर्दै युवा पुस्ताले चलाएको हस्ताक्षर अभियानले एमालेभित्र ठूलै तरंग ल्याएको छ ।

११औँ राष्ट्रिय महाधिवेशनमार्फत कार्यकाल सकिनु एक वर्षअगावै पार्टीको सम्पूर्ण शक्ति आफ्नै हातमा केन्द्रित गरेर तेस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएका ओली यतिबेला चौतर्फी संकटमा हुनुहुन्छ । फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ जम्मा नौ र समानुपातिकतर्फ १८ गरी २५ सिटमा खुम्चिनुपरेको यथार्थले ओलीको नेतृत्वलाई आमजनताले मात्र होइन, पार्टीकै कार्यकर्ता पंक्तिले पनि अस्वीकार गरेको प्रष्ट संकेत गरेको छ ।

निर्वाचनलगत्तै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा पक्राउ पर्नु र हाल पित्त थैलीको शल्यक्रिया गरी अस्पतालमा उपचाररत रहनुले ओलीलाई झनै कमजोर बनाएको छ । विगतमा ओलीका हरेक कदममा रक्षाकवच बन्ने गरेका उहाँका विश्वासपात्रहरू महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसमेत यतिबेला मौन विद्रोहको अवस्थामा छन् । सार्वजनिक रूपमा ओलीको बचाउ गरे पनि आन्तरिक रूपमा उहाँहरू पार्टी पुनर्गठन अपरिहार्य भएको निष्कर्षमा पुगेका छन् । महासचिव पोखरेलले त सामाजिक सञ्जालमार्फत नै निर्वाचनको समीक्षा गर्दै पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने घोषणा गरिसक्नु भएको छ । यद्यपि, ओलीपछि पार्टीको नेतृत्व कसले लिने भन्ने दौडमा पोखरेल र पौडेलबीच नै शीतयुद्ध चलिरहेको भित्री बुझाइ छ ।

विद्या भण्डारीको बढ्दो सक्रियता र असफलता

नेतृत्वमाथि संकट मडारिएसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता एकाएक बढेको छ । ११औँ महाधिवेशनबाटै पार्टीको नेतृत्व लिने महत्त्वाकांक्षासहित सदस्यता नवीकरण गर्न खाज्नुभएकी भण्डारीलाई ओलीले विधान संशोधन गरेरै बाटो छेकिदिनु भएको थियो । तर, अहिले पार्टी गम्भीर दुर्घटनामा परेपछि भण्डारीले एमालेका पदाधिकारी, असन्तुष्ट नेताहरू र सञ्चारकर्मीहरू सँगको भेटघाटलाई तीव्र बनाउनुभएको छ ।

विगत एक महिनामा मात्रै उहाँले ओलीलाई तीन पटक भेटेर पार्टीले यथास्थितिमा निकास नपाउने भन्दै पुनर्गठनको प्रस्ताव राखिसक्नु भएको छ । यद्यपि, ओलीले उहाँको प्रस्तावलाई सिधै अस्वीकार गर्दै चुनाव हार्नुमा बाह्य कारण रहेको भन्दै पन्छिने प्रयास गर्नुभएको छ । भण्डारीनिकट नेताहरू उहाँलाई पार्टीको संकटमोचकका रूपमा अघि सार्न चाहन्छन्, तर युवा पुस्ताले भने ६० वर्ष नाघिसकेकी भण्डारी पनि एमालेको अबको विकल्प नभएको स्पष्ट पारिसकेको छ । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार