कीर्तिपुर, वैशाख ७ गते । सरकारले विश्वविद्यालयहरूबाट विद्यार्थी सङ्गठन नहटे बल प्रयोग गर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगको संयोजनमा भएको बैठकले ती स्थानबाट विद्यार्थी सङ्गठन हटाउन विश्वविद्यालयपरिसरमा अस्थायी तथा स्थायी सुरक्षा युनिटसमेत राख्ने निर्णय गरेको छ ।
मुलुकमा सञ्चालित सबै विश्वविद्यालयका पदाधिकारी; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सहसचिवलगायत उपस्थित उक्त बैठकले विश्वविद्यालयबाट विद्यार्थी सङ्गठनका झन्डा तथा भित्तेलेखन हटाउनेलगायतका निर्णय गरेको छ ।
विश्वविद्यालयमा दलीय राजनीतिलाई निर्मूल पार्ने उद्देश्यसाथ सरकारले ल्याएको एक सय वटा शासकीय सुधारका बुँदामा यस विषयलाई प्राथमिकतामा राखिएको छ । सोही विषयलाई कार्यान्वयन गर्न विश्वविद्यालयका पदाधिकारीले विद्यार्थी सङ्गठनलाई उपलब्ध गराउँदै आएको कार्यालय तत्काल खाली गराउने र अबदेखि नदिने प्रतिबद्धता जनाएका छन् ।
विश्वविद्यालयपरिसरमा विद्यार्थी सङ्गठनको झन्डा, ब्यानर तथा भित्तेलेखन हटाउने निर्णय पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा केही दिनअघि भएको संयुक्त बैठकले गरेको छ ।
विश्वविद्यालयको ऐनमा दलीय विद्यार्थी सङ्गठनसम्बन्धी कुनै विषय भएमा त्यसलाई हटाउन तीन महलको प्रस्ताव तयार पारी तत्काल आयोगमार्फत शिक्षा मन्त्रालयमा पेस गर्ने निर्णय पनि गरिएको छ ।गोरखापत्र दैनिकबाटबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया