बैसाख ८, २०८३ मंगलबार April 21, 2026

राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री

योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारलाई सेवा प्रवाहमा सहजता मिल्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ८ वैशाखः प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारलाई सेवा प्रवाहमा सहजता मिल्ने बताउनुभयो । “यी निकायहरूलाई सुधार गर्न सके सरकार सञ्चालनमा ठूलो सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो ।

नीति अनुसन्धान प्रतिष्ठानका सन्दर्भमा उहाँले भन्नुभयो, “विषय विज्ञ र अनुसन्धानकर्ताको महत्त्व कति रहन्छ भन्ने हामीलाई थाह छ । हामीलाई यस्तो उत्कृष्ट विज्ञता चाहिएको हो, जसले जनप्रतिनिधिले भन्दा पनि गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्न सकून् । सरकारले विज्ञहरूको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा ग्रहण गर्नेछ ।”

प्रधानमन्त्री शाहले कुनै पनि बहानाबाजी नगरी बिना सङ्कोच नतिजा निकाल्ने गरी काम गर्न दुवै निकायलाई निर्देशन दिनुभयो । “कुनै पनि कार्य सम्पादन गर्दा ठोस योजना र सजग कार्यान्वयन आवश्यक हुन्छ । विकासमा विषय विज्ञको भूमिका अतुलनीय हुन्छ, यो तथ्यलाई आत्मसात् गरेर अघि बढ्नुस्,” उहाँले भन्नुभयो ।

मन्त्रालयहरूबीच समन्वय नभएको भन्ने तर्क स्वीकार्य नहुने स्पष्ट पार्दै उहाँले एउटै सरकार मातहत त्यस्तो समस्या हुन नहुने बताउनुभयो । साथै, बजेट र कानुनी जटिलतालाई काम नगर्ने बहानाका रूपमा प्रयोग नगर्न उहाँले सचेत गराउनुभयो । “प्रभावकारी अध्ययन र अनुसन्धानबाट मात्रै परिणाम सम्भव छ । पुराना नीति र ऐनकै भरमा ५० वर्षसम्म काम त चलाउन सकिएला तर सुधार नगरेसम्म देश समृद्ध हुन सक्दैन,” प्रधानमन्त्रीको कथन थियो ।

सो अवसरमा अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान समयलाई सुधारको स्वर्णिम अवसरका रूपमा लिनुपर्ने र उच्च राजनीतिक प्रतिबद्धताअनुसार काम अघि बढ्ने बताउनुभयो । उहाँले विज्ञहरूको ज्ञानलाई सरकारी नीति, कार्यक्रम र बजेटमा रूपान्तरण गर्न निर्देशन दिनुभयो । स्पष्ट लक्ष्य, पर्याप्त बजेट, तोकिएको जिम्मेवारी र मापनयोग्य परिणामसहितका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमार्फत ल्याउनुपर्नेमा उहाँको विशेष जोड थियो ।

अर्थमन्त्री वाग्लेले विद्यमान संस्थागत संरचनाको सुदृढीकरण, अप्रासङ्गिक प्रावधानहरूको खारेजी र नयाँ आवश्यकताअनुसार नीति विकास गर्ने प्रक्रिया थालनी गरिने जानकारी दिनुभयो । उहाँले नवप्रवर्तनात्मक कार्यक्रमहरूलाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा सुरु गरी सफल भएपछि राष्ट्रिय स्तरमा विस्तार गर्ने रणनीतिबारे समेत चर्चा गर्नुभयो ।

छलफलका क्रममा आयोगका पदाधिकारीहरूले आफ्नो क्षेत्रको कार्य प्रगति, चुनौती र बजेटको अवस्थाबारे प्रधानमन्त्रीसमक्ष ‘बिफ्रिङ’ गर्नुभएको थियो । प्रतिष्ठानका कर्मचारीहरूले हालसम्मका अध्ययन–अनुसन्धान सरकारी कार्य प्रणालीका लागि निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै थप जनशक्ति र स्रोतसाधनको माग गर्नुभयो । प्रधानमन्त्रीसँगको यस प्रत्यक्ष संवादले आफूहरूलाई थप ऊर्जा र मिहिनेतका साथ काम गर्ने प्रेरणा मिलेको उहाँहरूको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध काठमाडौंमा विद्यार्थी संगठनहरूले गरे प्रदर्शन
२०८३ बैसाख ८, मंगलबार
टी–२० आई सिरिजमा नेपालले यूएईलाई ८ विकेटले हरायो
२०८३ बैसाख ८, मंगलबार
रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ
२०८३ बैसाख ८, मंगलबार
अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट
२०८३ बैसाख ८, मंगलबार
युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने होः मन्त्री पोखरेल
२०८३ बैसाख ८, मंगलबार
राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
२०८३ बैसाख ८, मंगलबार
न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनलाई पार्टीको पुनः समर्थन
२०८३ बैसाख ८, मंगलबार