बैसाख १२, २०८३ शनिबार April 25, 2026

नदी क्षेत्रबाट हटाइँदै नौ सय सुकुम्बासी परिवार

नदीकिनाराबाट हटाइएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संघीय सरकार र काठमाडौं महानगरपालिकाले नदीकिनारमा लामो समयदेखि बस्दै आएका करिब नौ सय सुकुम्बासी परिवारलाई शनिबार त्यहाँबाट हटाउने तयारी गरेको छ। काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धनरका अनुसार सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरमा लगिसकेपछि वास्तविक सुकुम्बासी भएको या नभएको पहिचान गरिनेछ। ‘त्यसपछि वास्तविक सुकुम्बासीलाई इचुंगनारायणमा सारिनेछ,’ उनले भने।

मानन्धरका अनुसार शनिबार बिहान थापाथली, गैरीगाउँ र मनोहरास्थित नदीकिनारामा बस्दै आएका सुकुम्बासीलाई त्यहाँबाट हटाइनेछ। ‘ती तीन ठाउँमा करिब नौ सय सुकम्बासी परिवार रहेको हाम्रो अनुमान छ,’ उनले भने। उनका अनुसार केही सुकुम्बासी परिवारले शुक्रबार नै बसेको क्षेत्र खाली गरिसकेका छन्। नेपाल प्रहरी र महानगर प्रहरीले बिहीबार साँझदेखि नै सुकुम्बासी क्षेत्रमा माइकिङ गर्दै शुक्रबार साँझसम्म अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको छ। प्रहरीको माइकिङपछि केही सुकुम्बासीले आफू बसेको ठाउँ छाडे पनि केही प्रतिवाद गर्ने तयारीमा छन्।

सहरी विकास मन्त्रालयका प्रवक्ता नाराण मैनालीका अनुसार नदीकिनाराबाट हटाइएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखिनेछ। ‘होल्डिङ सेन्टरका रूपमा केही समयका लागि रंगशालामा राख्ने विषयमा पनि कुरा चलिरहेको छ,’ उनले भने।

नदीकिनार क्षेत्रबाट सुकुम्बासी बस्ती हटाउने विषयमा समन्वय गर्न विभिन्न अधिकारसहित शुक्रबार सहरी विकासमन्त्रीको अध्यक्ष्तामा सात सदस्यीय समन्वय समिति गठन गरिएको छ। समितिले समन्वय, निर्देशन, आवश्यक नीतिगत निर्णय र साधन स्रोतको व्यवस्थापन समेत गर्नेछ। समितिमा काठमाडौं महानगरपालिका प्रमुख, गृह मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, सहरी विकास मन्त्रालयका सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सम्बन्धित विषय हेर्ने सचिव सदस्य छन्।

सुकुम्बासी बस्ती कसरी खाली गर्ने, हटाएका सुकुम्बासीलाई कहाँ राख्ने र उनीहरूको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सहरी विकासमन्त्रीको अध्यक्षतामा शुक्रबार बैठक बसेको छ । बैठकले सुकुम्बासी व्यवस्थापन। पुनर्वासलगायत विषयमा काम गर्ने निर्णय गरेको छ। बस्ती खाली गराउने सिलसिलामा माइकिङ गरिसकेपछि सुरक्षित आश्रयस्थलसम्म लैजान सामानको ढुवानी, अशक्त, अपांगतता भएका, बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा र दीर्घरोगीलाई प्राथमिकता दिने, आवश्यकतानुसार अस्पतालसम्म पुयाउने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ। यस कामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक एम्बुलेन्स, मेडिकल टिमसमेतको व्यवस्था गर्ने भएको छ। सामान र मानिस सार्न आवश्यक सवारीसाधनको बन्दोबस्त गृह मन्त्रालयको समन्वयमा गरिने छ।

होल्ङि सेन्टरमा लगिएपछि खाना, खाजा, पानीको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने र मेडिकल टिमसहितको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने भएको छ। होल्डिङ सेन्टरमा लगिसकेपछि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री, पानीलगायतका अत्यावश्यक सामानको आपूर्ति व्यवस्था मिलाउने काम सहरी विकास मन्त्रालयले गर्ने भएको छ। आश्रयस्थलमा प्रत्येक परिवारको भेरिफेकेसन क्याम्प खडा गर्ने र उनीहरूलाई फोटो सहितको परिचयपत्र वितरण गरिनेछ। भेरिफिकेसन हुन नसकेकालाई क्रमशः उक्त स्थानबाट बिदा गरिनेछ।

बस्ती खाली गराइएका नदीकिनारमा तत्कालै आवश्यक संरचना तथा पूर्वाधार तयार गरिने भएको छ। पूर्वाधार निर्माणको काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले गर्ने छन्।

वास्तविक सुकुम्बासीलाई जग्गा दिन्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक सुकुम्बासीलाई जग्गा वितरण गर्ने बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौं। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया मिलाएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने छौं।’

वर्षौं पुरानो सुुकम्बासी समस्या सामधान सरकारले गर्ने उनले बताएका छन्। ‘काठमाडौंका खोलाकिनारमा बाहेक अन्यत्र पनि हजारौं परिवार छन्, जो वास्तवमै पीडित छन् अनि देशभर लाखौं सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौं, ढुक्क हुनुहोस्,’ उनले भनेका छन्। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया