काठमाडौं । सभापति गगनकुमार थापाले केन्द्रीय समिति विस्तार गरेपछि नेपाली कांग्रेसको आन्तरिक विवाद झन् बढेको छ । पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनबाट सुरु भएको आन्तरिक राजनीतिक लडाइँ शीर्ष नेताहरूबीचको संवादले न्यून हुनुको सट्टा झन् बढ्दै गएको छ ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी अघि बढाइरहेका बेला सभापति थापाले १९ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनयन गर्नुभएको छ । मनोनयनमा असन्तुष्ट रहेका देउवा, डा. शेखर कोइराला र शशांक कोइराला पक्षका नेताहरू समेटिएका छन् । पार्टीभित्रको विवाद समाधान गर्दै सबै पक्षलाई एकतामा ल्याउने सन्देश दिन खोजिए पनि देउवा पक्षको नेतृत्व गरिरहनु भएका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइराला पक्षले केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि जनाएको छ ।
मनोनयनमा खड्का (देउवा पक्ष) का ११ जना, शेखर पक्षका सातजना र शशांक कोइराला पक्षका एकजना परेका छन् । सर्वोच्च अदालतले गगन थापा नेतृत्वकै केन्द्रीय कार्यसमितिलाई कानुनी मान्यता दिएपछि पार्टीभित्र समानान्तर गतिविधि रोक्दै एकतामा जानुपर्ने दबाब बढेको थियो । सभापति थापाले बृहत् पार्टी एकताका लागि चरणबद्ध रूपमा मनोनयन र समायोजन प्रक्रिया अघि बढाउने बताउँदै आउनुभएको छ । खड्का पक्षले केही व्यक्तिको मनोनयन गरेर समस्या समाधान नहुने भएकाले पार्टी संरचना, विभाग, भ्रातृ संस्था र महाधिवेशन व्यवस्थापनसम्मको विषय एकैपटक टुंग्याउनुपर्ने माग गरेका छन् । महामन्त्री प्रदीप पौडेलले छुटेका नेताहरू दोस्रो चरणमा मनोनयन हुने बताउनुभएको छ । तर, केन्द्रीय समिति विस्तारप्रति खड्का र कोइरालाले चर्को असन्तुष्टि जनाएका छन् ।
एकताको उद्देश्यमा ठेस पुग्यो : नेता खड्का
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गरिरहनु भएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति विस्तारप्रति असन्तुष्टि जनाउनुभएको छ । पछिल्लो निर्णयले कांग्रेसको बृहत् र सम्पूर्ण एकताको उद्देश्यमा ठेस पुगेको उहाँको टिप्पणी छ । केन्द्रीय कार्यसमितिको मनोनयनबारे आफूलाई कुनै जानकारी वा परामर्श नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सबैमा प्रष्ट होस्, सोमबार गरिएको भनिएको केन्द्रीय कार्यसमितिको मनोनयन सम्बन्धमा मसँग कुनै छलफल परामर्श भएको छैन, मेरो जानकारीमा छैन । मेरो प्रष्ट मत छ, २८ गतेको निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नुपर्ने उद्देश्यमा ठेस पुग्न गएको छ ।’
सभापति गगन र उपसभापति शर्मासँगको भेटमा पार्टी एकतालाई सर्वाधिक प्राथमिकतामा राखेर लाग्न आग्रह गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘२१ फागुनमा सम्पन्न आमनिर्वाचनमा प्राप्त परिणामले झस्काएको मात्रै होइन, ठूलो क्षतिसमेत बेहोर्नुपर्यो । यसबाट सबक सिक्दै हामीले नयाँ सोच, दृष्टिकोण र साझा भावधारासहित सम्पूर्ण एकताबाट अगाडि बढ्न प्रेरणा लिनुपर्ने घडीमा उभिएका छौँ ।’ पार्टीलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको काँधमा रहेको उल्लेख गर्दै उहाँले अन्य नेताहरूको भूमिका सहयोगी मात्र हुने जिकिर गर्नुभएको छ ।
शेखर कोइराला असन्तुष्ट
कांग्रेस नेता डा. शेखर कोइरालाले पनि पछिल्लो केन्द्रीय कार्यसमिति विस्तारप्रति असन्तुष्टि जनाउनुभएको छ । यसले कांग्रेसको बृहत्तर एकतामा ठेस पुगेको उहाँको टिप्पणी छ । पार्टीभित्र गुट-उपगुट अन्त्य गर्दै साझा भावना र सामूहिक नेतृत्वमार्फत अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, ‘वैशाख २८ गते सोमबार नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ । पार्टीको समग्र एकता नभई हामी राष्ट्रिय राजनीतिमा सक्रिय र सार्थक भूमिका खेल्न सक्दैनौँ । कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता हो ।
यसमा पद र व्यक्तिको कुरा गौण हुन जान्छ । हामीले भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको मत परिणामले हामीलाई झस्काएको मात्रै छैन, बरु नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि नबढी नहुने प्रेरणा पनि दिएको हुनुपर्छ ।’ संविधानवाद र लोकतान्त्रिक मूल्यहरूमाथि चुनौती बढिरहेका बेला कांग्रेसभित्रै गुट–उपगुट कायम रहनु दुःखद भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘आज संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याइँ (पपुलिज्म) को नाममा हाम्रा आदर्श, मूल्य र सिद्धान्तमाथि आक्रमण भइरहेको छ । यस्तो अवस्थामा पनि हामी गुट–उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो ।’
गगन-विश्वलाई अब धेरै दिन पर्खिन सक्दैनौँ : निधि
कांग्रेस नेता विमलेन्द्र निधिले पार्टीको सदस्यता नवीकरण गर्नुपर्ने आवश्यकता नभएको जिकिर गर्नुभएको छ । मंगलबार जनकपुरधाममा पूर्वउपसभापतिसमेत रहनुभएका निधिले यसअघि नै पार्टी सदस्यता नवीकरण भइसकेको बताउनुभएको हो । निधिले निजी स्वार्थमा सदस्यता नवीकरण भइरहेको आरोप पनि लगाउनुभएको छ । आफूहरू १५औँ अधिवेशनको तयारीमा जुटिसकेको भन्दै उहाँले कार्यालयका लागि छुट्टै भवनसमेत खोजिरहेको जानकारी दिनुभयो । विशेष महाधिवेशनमा देशभरका प्रतिनिधिहरूमध्ये ५५/५६ प्रतिशत सहभागी नभएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘उनीहरूकै भनाइअनुसार भन्ने हो भने ४६ प्रतिशत महाधिवेशन प्रतिनिधि बाहिर छ । उनीहरूलाई समेट्न अहिलेसम्म कुनै प्रयास भएको छैन । पूर्णबहादुर खड्का र शेखर कोइरालासँग गगन थापा र विश्वप्रकाश शर्माको शिष्टाचार बैठक मात्र भएको हो । उनीहरूले प्रस्ताव लिएर आउँछौँ भनेका छन् तर अहिलेसम्म आएका छैनन् । हामी धेरै दिन अब पर्खिन सक्दैनौँ ।’
कसैलाई पक्षपात हुँदैन : महामन्त्री घिमिरे
कांग्रेस महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र कसैलाई पनि कुनै पनि आधारमा पक्षपात नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टीमा परम्परागत गुटबन्दीको अन्त्य गर्दै १५औँ महाधिवेशनमा एकढिक्का भएर जाने उहाँको दाबी छ । महामन्त्री घिमिरेले पार्टीभित्र रहेका मतभेदहरूलाई सम्बोधन गर्दै सबैलाई समेट्न नेतृत्व तयार रहेको स्पष्ट पार्नुभयो । पार्टीमा अवसर र भूमिका दिने विषयमा उदारता अपनाइने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘पार्टीभित्र मतभेद देखिन्छन्, त्यसलाई सम्बोधन गर्दै सबैलाई समेट्ने कुरामा हामी तयार छौँ । पार्टीमा अवसर, भूमिका दिने र समेट्न उदारतापूर्वक सबैको राजनीतिक भविष्यलाई सुनिश्चित राख्न हामी सचेत छौँ । तर, पार्टीमा विगतमा देखिने गरेको ६०–४० को भागबण्डा र अस्वस्थ गुटबन्दीका लागि अब कुनै गुञ्जायस छैन ।’हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया