जेठ २०, २०८३ बुधबार June 3, 2026

नर्सिङ शिक्षाका सात दशक

हाल क्याम्पसमा तीनबर्से ब्याचलर अफ नर्सिङ साइन्स, चारबर्से बिएससी नर्सिङ तथा चारबर्से मिडवाइफ्री कार्यक्रम सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २० गते । नेपालको इतिहासमा नर्सिङ शिक्षा सुरु भएको ७० वर्ष पूरा भएको छ । विसं २०१३ मा नेपालमा पहिलो पटक नर्सिङ शिक्षाको अध्ययन भएको पाइन्छ । तत्कालीन श्री ५ को सरकार अन्तर्गत ‘सुरेन्द्र भवन नर्सिङ स्कुल’ का रूपमा सुरु भई विसं २०२९ मा नयाँ शिक्षा योजना लागु भएपछि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत रहन पुगेको थियो । काठमाडौँ महाबौद्धमा रहँदा ‘महाबौद्ध नर्सिङ क्याम्पस’ को नामबाट परिचित नर्सिङ क्याम्पस विसं २०४२ मा जापान सरकारको सहयोगमा निर्मित महाराजगन्जस्थित आफ्नै भवनमा स्थानान्तरण भएको थियो ।

महाराजगन्ज नर्सिङ क्याम्पसकी प्रमुख डा. देवकाकुमारी आचार्यले नर्सिङ कलेजले ७० वर्षको अन्तरालमा हजारौँ नर्स उत्पादन गरिसकेको जानकारी दिनुभयो । नर्सिङ शिक्षा अन्तर्गत विभिन्न विधामा अध्यापन हुने क्याम्पसमा क्रिटिकल केयर, चाइल्ड नर्सिङ, जेरियाट्रिकलगायत विधामा अध्ययन हुँदै आएको छ ।

राम्रो शैक्षिक गुणस्तर, उपयुक्त शैक्षिक वातावरण, अनुभवी शिक्षक तथा कर्मचारीका साथ अत्याधुनिक सेवा सुविधाका कारण सो क्याम्पस सबै तहका नर्सिङ शिक्षाको पढाइका लागि विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ । हाल क्याम्पसमा तीनबर्से ब्याचलर अफ नर्सिङ साइन्स, चारबर्से बिएससी नर्सिङ, चारबर्से मिडवाइफ्री अध्ययन भइरहेको छ । स्नातकोत्तर तहमा छ वटा विशेष विषयमा अध्ययन हुने गरेको छ । क्याम्पस प्रुमख डा. आचार्यले वुमन हेल्थ, एडल्ट हेल्थ, चाइल्ड हेल्थ, साइक्याट्रिक नर्सिङ, कम्युनिटी हेल्थ र क्रिटिकल केयरमा अध्यापन भइरहेको बताउनुभयो । यस्तै क्याम्पसकी पूर्वक्याम्पस प्रमुख चन्द्रकला शर्माले स्वास्थ्य सेवाको विकाससँगै नर्सिङ शिक्षा पनि विस्तार हुँदै आज विशेषज्ञ नर्स उत्पादन गर्ने तहसम्म पुगेको बताउनुभयो ।

नेपालमा आधुनिक नर्सिङ सेवाको इतिहासमा पहिलो नेपाली नर्स लामु अमात्यले लामो समयसम्म नर्सिङ कलेजमा अध्यापन गराउनुभएको थियो । अमात्यले विदेशमा नर्सिङ शिक्षा हासिल गरी नेपालमा नर्सिङ सेवाको जग बसाल्न महìवपूर्ण योगदान दिनुभएको थियो । त्यसपछि नेपालमा व्यवस्थित रूपमा नर्स उत्पादन गर्ने उद्देश्यले सुरेन्द्र भवन नर्सिङ स्कुल स्थापना गरिएको थियो । २०२९ सालबाट नर्सिङ क्याम्पसको प्रमुखमा प्राडा उमादेवी दास नियुक्त हुनुभएको थियो ।

क्याम्पस प्रमुख डा. आचार्यका अनुसार सात दशकको अवधिमा यस संस्थाले हजारौँ दक्ष नर्स उत्पादन गरिसकेको छ । “नेपालका सरकारी, निजी तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थामा कार्यरत धेरै नर्स महाराजगन्ज नर्सिङ क्याम्पसका उत्पादन हुन्,” डा. आचार्यले थप्नुभयो, “नर्सिङ शिक्षामा गुणस्तर, अनुशासन र व्यावहारिक दक्षताका कारण क्याम्पसले विशेष पहिचान बनाउन सफल भएको छ ।”

हाल क्याम्पसमा तीनबर्से ब्याचलर अफ नर्सिङ साइन्स, चारबर्से बिएससी नर्सिङ तथा चारबर्से मिडवाइफ्री कार्यक्रम सञ्चालनमा छन् । स्नातकोत्तर तहमा महिला स्वास्थ्य, वयस्क स्वास्थ्य, बाल स्वास्थ्य, मानसिक स्वास्थ्य, सामुदायिक स्वास्थ्य तथा क्रिटिकल केयर नर्सिङलगायत विषयमा अध्ययन हुँदै आएको छ ।

डा. आचार्यले नर्सिङ शिक्षाको ७० बर्से यात्राले नेपालमा स्वास्थ्य जनशक्ति विकासको सशक्त आधार तयार गरेको जानकारी दिँदै आगामी दिनमा विशेषज्ञ नर्स उत्पादन, अनुसन्धान विस्तार तथा अन्तर्राष्ट्रियस्तरको शैक्षिक उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित क्याम्पस अगाडि बढिरहेको जानकारी दिनुभयो । यसैबिच महाराजगन्ज नर्सिङ क्याम्पसले ७० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति सुशीलबहादुर वज्राचार्यले नेपालको इतिहासमा नर्सिङ शिक्षा स्थापना गर्ने क्याम्पसका लागि विश्वविद्यालयले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नर्सिङ विद्यार्थी तथा प्राध्यापकहरूले नृत्य प्रस्तुत गर्नुभएको थियो । उत्कृष्ट नर्सहरूलाई सम्मान गरिएको थियो ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया