जेठ २०, २०८३ बुधबार June 3, 2026

‘क्लिन चिट’को पर्खाइमा सुधन : गृहमा फर्काउने बालेन चाहना, रविको अनिच्छा

हरेक विषयलाई तथ्य र प्रमाणसँग जुधाएर अध्ययनको काम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे छानबिन समितिको अध्ययन प्रतिवेदन पर्खंदा गृह प्रशासन डेढ महिनादेखि नेतृत्वविहीन छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा चैत १९ गते पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग विभिन्न कम्पनीको सेयर साझेदारी, सम्पत्ति स्रोतमाथि आशंका देखिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्री गुरुङलाई राजीनामा गर्न लगाएका थिए । उनले वैशाख ९ गते राजीनामा दिए पनि अहिलेसम्म गृहमन्त्री नियुक्त गरिएको छैन । छानबिन समितिबाट क्लिन चिट पाए गुरुङलाई नै गृहमन्त्रीमा ल्याउने प्रधानमन्त्री शाहको इच्छा रहेको निकटस्थ स्रोत बताउँछ ।

गुरुङमाथि लागेका आरोपबारे अध्ययन तथा छानबिन गर्न सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा छानबिन समिति गठन गर्‍यो । सरकारले तोकेको १५ दिनको समयसीमाभित्र समितिले प्रतिवेदन बुझाउन सकेको छैन । अध्ययन तथा छानबिन समितिलाई मंगलबार सरकारले पाँच दिनको समय थप गरेर प्रतिवेदन बुुझाउने म्याद दिएको छ । ‘पूर्वगृहमन्त्री सुधन गुरुङको सेयर लगानी र अन्य सम्पत्तिको स्रोतमाथि उठेको प्रश्नबारे छानबिन गर्न बनेको समितिलाई थप पाँच दिनको समय उपलब्ध गराइएको छ,’ सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘थपिएको समयमा समितिबाट प्रतिवेदन आएपछि सरकारले यो विषयमा अध्ययन गरेर चाँडै निर्णय लिन्छ ।’ अध्ययनको काम सकेर प्रतिवेदन तयारीका लागि समय थपेको सरकारको भनाइ छ ।

पूर्वन्यायाधीश भण्डारीको अध्यक्षतामा बनाइएको सो समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन् । उक्त समितिले पूर्वगृहमन्त्री गुरुङसँग जोडिएका विभिन्न कम्पनीको कागजात अध्ययन गर्ने र सुधनसँगको बयान सकेको जनाएको छ । गुरुङसँग गत मंगलबार र बुधबार बयान लिएको समितिका सदस्य एवं प्रवक्ता नेउपानले जानकारी दिए । आवश्यक अध्ययन र बयानसमेत सकिएकाले प्रतिवेदन तयारीको काम भइरहेको उनी बताउँछन् । उक्त समितिलाई पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष राय सुझावसहित प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो ।

समितिले पुर्पक्षका लागि थुनामा रहेका विवादास्पद व्यवसायी भट्टको स्वामित्वमा रहेका ‘लिबर्टी माइक्रो इन्स्योरेन्स’ र ‘स्टार माइक्रो इन्स्योरेन्स’को संस्थापक सेयर खरिद गरेको विषयमा गुरुङसँग बयान लिइएको बताएको छ । ‘हामीले उहाँलाई बोलाएर आवश्यक सोधपुछ गर्ने र उहाँसँग जोडिएका निकायहरूसँग आवश्यक कागजातसहित अध्ययन गरिसकेका छौं,’ समितिका सदस्य नेउपानेले भने । गुरुङको बयान र तथ्य अध्ययनलगायत काम सकिएको उनले बताए । भट्टको कम्पनीमा गुरुङको नाममा ५० लाख रुपैयाँबराबरको सेयर फेला परेपछि र सो रकमको स्रोतमाथि प्रश्न उठेपछि उनले गृहमन्त्री पदबाट राजीनामा दिनुपरेको हो । तर गुरुङले भने आफूले सापटी लिएर उक्त सेयर किनेको दाबी गर्दै आएका छन् ।

बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताइएको छ । समितिका अध्यक्ष भण्डारीले स्पष्ट किटानसहित प्रतिवेदन बुझाइने बताए । ‘दोषी, निर्दोष जे भए पनि प्रमाणले पुष्टि गरेर स्पष्ट किटान गरेर प्रतिवेदन बुझाउने तयारी गरेका छौं,’ उनले मध्यान्हसँग भने, ‘यसमा यस्तो, उस्तो, इफ, बटभन्दा पनि दोषी भए प्रस्ट रूपमा दोषी, निर्दोष भए स्पष्ट रूपमा यो कारण निर्दोष भनेर सरकारलाई बुझाउँछौं ।’

समितिका व्यक्तिहरू बोल्नेभन्दा पनि प्रमाणहरू बोल्ने र सोही आधारमा सिफारिस हुने उनको दाबी छ । ‘हामी बोल्दैनौं, डकुमेन्ट बोल्छ । स्पष्ट किटान गरेर कारण र प्रमाणसहित रिपोर्ट आउँछ,’ उनले भने । हरेक विषयलाई तथ्य र प्रमाणसँग जुधाएर अध्ययनको काम भएको भन्दै केही दिनमै सार्वजनिक हुने विषयमा अहिले यो वा त्यो भनेर भन्न नमिल्ने भण्डारीले बताए । सफाइ पाउने भए स्पष्ट रूपमै र कारबाही गर्नुपर्ने भए पनि प्रमाण र तथ्यसहित आउने भएकाले आम रूपमा विश्वसनीय रिपोर्ट समितिले बुझाउने उनले दाबी गरे । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया