जेठ २२, २०८३ शुक्रबार June 5, 2026

कांग्रेसका क्रियाशील सदस्य आधा घटे

आधाभन्दा कम क्रियाशील सदस्यले मात्रै सदस्यता अद्यावधिक गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ‘बदलियौँ कांग्रेस अब बदल्छौँ देश’ नाराका साथ गत पुस मसान्तमा नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्‍यो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशनबाट गगनकुमार थापाले पार्टी कमाण्ड सम्हाल्नुभयो । पार्टी नेतृत्व परिवर्तनपछि विशेष महाधिवेशन पक्षधरहरूले नेपाली कांग्रेसप्रति आकर्षण बढेको प्रचार गरे । तर, विशेष महाधिवेशनपछि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेस इतिहासमै नभोगेको पराजय भोग्न पुग्यो । विशेष महाधिवेशनबाट तय गरिएको ‘बदलियौँ कांग्रेस अब बदल्छौँ देश’ भन्ने नारालाई नागरिकले विश्वास गरेन ।

अर्कोतर्फ विशेष महाधिवेशनपछि कांग्रेसमा देशव्यापी आकर्षण बढेको भन्ने दाबी पनि पूर्णतः गलत सावित भयो । विशेष महाधिवेशनपछि स्थापित गर्न खोजिएको भाष्य क्रियाशील सदस्यता नवीकरणको तथ्यांकले पनि गलत सावित गरिदिएको छ । नेपाली कांग्रेसमा आधाभन्दा कम क्रियाशील सदस्यले मात्रै सदस्यता अद्यावधिक गरेका छन् ।

कांग्रेसमा अहिलेसम्म करिब चार लाख क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अद्यावधिक गरेका हुन् । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने समय दिएको छ । १४औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य आठ लाख ७० हजार बढी थिए । अहिले त्यो घटेर तीन लाख ७५ हजारमा झरेको हो ।

अघिल्लो महाधिवेशनमा सरकारी कर्मचारी, शिक्षक लगायतका दुई लाख जति सदस्य रहेको र अहिले त्यो घटेको सहमहामन्त्री रसाइलीको दाबी छ । सरकारले अब सरकारी कर्मचारी र शिक्षकले कुनै पनि दलको सदस्यता लिन नपाउने व्यवस्था गरेपछि संख्या घट्ने निश्चित थियो । तर, पार्टीप्रति आकर्षण बढेको दाबी गरिरहेको बेला क्रियाशील सदस्यता बढ्नुपर्ने हो । तर, क्रियाशील सदस्यहरूले नै सदस्यता अद्यावधिक गरेनन् ।

गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ समिति बनाएको छ । त्यो समितिले गठन गरेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले १५औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यले पनि ‘डिजिटल्ली अद्यावधिक’ गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको थियो । तर, निवर्तमान सभापति शेरबहादुर देउवा समूह र १४औँ महाधिवेशनबाट पार्टीमा संस्थापन इतर समूहको नेतृत्व गरिरहेका डा.शेखर कोइराला समूहले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेको छ ।

विशेष महाधिवेशन गर्नु अगाडि नै चार लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेका थिए । त्यो बेलामा पनि क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य रहनुभएका सहमहामन्त्री रसाइलीले विशेष महाधिवेशनका बेला चार लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेको अहिले अद्यावधिक गर्ने तीन लाख ७५ हजार रहेको जानकारी दिनुभएको छ । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया