असार २, २०८३ मंगलबार June 16, 2026

पूर्वाधार विकासमन्त्रीको अराजक अभिव्यक्ति !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइतबार गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई अँगालो हालेर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोष्ट गर्नुभयो । प्रधानमन्त्री शाहले आइतबार साँझ फेसबुकमा फोटो पोष्ट गर्दै ‘देश बनाउने टोली’ भनेर दुवैलाई दायाँबायाँ राखेको तस्वीर सार्वजनिक गर्नुभएको हो । हुन त प्रधानमन्त्री बालेन्द्र १८ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गर्नुहुन्छ । सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२ जना सांसदहरूको नेता पनि प्रधानमन्त्री बालेन्द्र नै हुन् । तर, उहाँले आफ्ना दुई विश्वासपात्रसँग अँगालो हाल्दै देश बनाउने टिम भनेर लेखेपछि राजनीतिक वृत्तमा विभिन्न चर्चा भइरहेको छ । प्रधानमन्त्री बालेन्द्रले देश बनाउने टिम भनेर फोटो सार्वजनिक गरिएका मध्ये एक पात्रले भने निर्माण व्यवसायीलाई तल्लो तहमा झरेर अराजकपूर्ण ढंगले धम्की दिएको भेटिएको छ ।

आइतबार निर्माणाधीन नागढुंगा-मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीको खुट्टा भाँचिदिए हुन्छ भन्ने टोलेगुण्डाको भाषा प्रयोग गरेको भिडियो अहिले भाइरल भइरहेको छ । अनुगमनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिएर भए पनि काम लगाउन निर्देशन दिनुभएको हो । निर्माण व्यवसायीमाथि आतंक फैल्याउने गरी दिएको यो अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । बालेन्द्रका देश बनाउने टिमका सदस्य लम्साल आइतबार मुग्लिङदेखि नागढुंगा सडकखण्डको निरीक्षणमा पुग्नुभएको थियो । त्यसक्रममा उहाँले सडकबाट बिजुलीको पोल हटाउन ढिलाइ गर्ने ठेकेदारका खुट्टा भाँचिदिन निर्देशन दिनुभएको हो ।

नौबिसे-मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले भन्नुभएको छ, ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीँ राख्नू । घर पठाउने हैन । फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’ सडकखण्डको पूर्वी खण्डमा बिजुलीका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले सोहन कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ ।

पूर्वी खण्ड सडक आयोजनाका एक कर्मचारीका अनुसार आदमघाटदेखि मलेखुसम्म बिजुलीका ७४ वटा पोल छन् । कतै नयाँ पोल गाडे पनि पुरानो पोलमा तार यथावत छन् । नागढुंगादेखि मुग्लिनसम्मको खण्डमा बिजुलीका पोल सार्न मात्रै १२ करोड रुपैयाँभन्दा बढी खर्च हुने ‘इस्टिमेट’ गरिएको छ । पूर्वी खण्डमा मात्रै ६ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ । त्यसमध्ये पाँच करोड रुपैयाँ पूर्वी खण्ड आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गरिसकेको छ । सडक निर्माणको जिम्मा पाएका ठेकेदार प्रतिनिधि र आयोजनाका अधिकारीहरूले नेपाल विद्युत् प्राधिकरणले ठेक्का दिएको ठेकेदार कम्पनीले बिजुलीका पोल सार्न ढिलाइ गर्दा काम गर्न गाह्रो भएको जानकारी गराएका थिए । त्यसपछि मन्त्री लम्सालले पनि ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । मन्त्रीले यसो भनिरहँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयसहित सुरक्षा अधिकारी पनि थिए । सुरक्षा अधिकारीलाई साथमै लिएर निर्माणलाई तीव्रता दिन निर्देशन दिने क्रममा लम्सालले धम्कीको भाषा बोल्नुभएको हो ।

मन्त्री लम्सालले फागुन २१ को चुनावअघि हालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रयोग गरेको भाषा प्रयोग गर्नुभएको छ । तत्कालीन रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले चुनाव प्रचारको क्रममा फागुन ६ गते कैलालीको धनगढीमा आयोजित कार्यक्रममा ठेकेदारलाई रूखमा बाँधेर भए पनि बाटो बनाउनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । बालेन्द्रले त्यसबेला भन्नुभएको थियो, ‘रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ ? खोरमा जाकेर हुन्छ कि बाटो बन्नुपर्‍यो ।’ बालेन्द्रको अभिव्यक्तिपछि फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावबाट झण्डै दुईतिहाइ मत पाएर गठन भएको सरकारका पूर्वाधारमन्त्रीले उक्त अभिव्यक्ति दोहोर्‍याउनुभएको हो ।

करिब ९५ किलोमिटर दूरी रहेको नागढुंगा-मुग्लिन सडक खण्ड तीनवटा प्याकेज छुट्टयाएर स्तरोन्नति गरिँदै छ । पहिलो प्याकेजमा नागढुंगा–नौबिसे, दोस्रोमा नौबिसे-मलेखु र तेस्रोमा मलेखु-मुग्लिन भनी छुट्टयाइएको छ । यसअघि मन्त्री लम्सालकै निर्देशनमा नौबिसे-मुग्लिन आयोजनामा काम गरिरहेको निर्माण व्यवसायी शर्मा एण्ड कम्पनीका सञ्चालक रमेश शर्मालाई वैशाख २८ मा प्रहरी लगाएर सिंहदरबार पुर्‍याइएका थिए । शर्माले निर्माणको क्रममा भएको अवरोधको जानकारी गराएपछि मन्त्रालयका सचिवले माफी मागेर निर्माण व्यवसायी शर्मालाई छाडेका थिए । आयोजनाका एक कर्मचारीले भने, ‘धेरैजसो पोल सारिएका छैनन् । ती पोलमा करेन्ट प्रवाह भइरहेकाले दुर्घटनाको जोखिम छ । यो कुरा थाहा पाएपछि मन्त्रीज्यू पनि आवेशमा आएर अभिव्यक्ति दिएजस्तो लाग्यो ।’ मन्त्री लम्सालको अभिव्यक्तिपछि प्रधानमन्त्री बालेन्द्र शाहले ‘देश बनाउने टोली’ लेखेर पूर्वाधार विकास मन्त्री लम्साल र गृहमन्त्री सुधन गुरुङलाई दायाँ-बायाँ राखेको फोटोप्रति सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक प्रतिक्रियाको ओइरो लागेको छ ।

नागढुंगा-मुग्लिङ सडक आयोजनाको निरीक्षणका क्रममा मन्त्री लम्सालसंगै रहनुभएकी धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले सडक अनुगमनका क्रममा भौतिक पूर्वाधारमन्त्रीले काम छिटो गर्न निर्देशन दिएको बताउनुभयो । ठेकेदारको खुट्टा भाँच्ने कुरा आफूले नसुनेको दाबी गर्दै पाण्डेयले भन्नुभयो, ‘उहाँको मुख्य आशय बाटो निर्माण छिटो होस् र कुनै पनि पक्षबाट ढिलाइ नहोस् भन्ने थियो । बाँकी कुरा त मलाई थाहा भएन ।’हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया