असार २८, २०८३ आइतबार July 12, 2026

सुरुङमार्गसँगै भित्रियो नयाँ प्रविधि

काठमाडौँतर्फ तीन वटा र सिस्नेखोला (धादिङ) तर्फ दुई वटा टोल प्लाजा निर्माण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २८ गते । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्वसचिव ई. अर्जुनजङ्ग थापाले यसमा भू–प्राविधिक जटिलता, आधुनिक भेन्टिलेसन, सिसिटिभी, आपत्कालीन सुरुङ र डिजिटल प्रविधि प्रयोग भएको बताउनुभयो । नेपालको इन्जिनियरिङ क्षेत्रमा यो नयाँ प्रविधि र कार्यशैली भएको उहाँको भनाइ छ ।

त्यसै गरी यसले मुलुकमा आधुनिक फ्लाइओभरसमेत सुरुवात गरेको छ । यस आयोजनामा नेपालकै पहिलो मानिने फ्लाइओभरसमेत निर्माण गरिएको छ, जसले नेपालको पूर्वाधार विकासको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डतर्फ उन्मुख गराएको छ । यो सुरुङमार्ग साउनभित्रै सञ्चालनमा ल्याउने गरी अन्तिम तयारी भइरहेको छ । मुलुकको पहिलो अत्याधुनिक र सडक यातायातको पूर्वाधारमा नयाँ अध्याय कोर्ने ऐतिहासिक परियोजनाका रूपमा तयार गरिएको यो सुरुङमार्गको भौतिक निर्माणको सम्पूर्ण काम सम्पन्न भएको छ ।

सुरुङभित्र सवारी सञ्चालनको परीक्षणसमेत भइसकेको छ । मुख्य सडकको यात्रालाई निकै सहज र छिटो बनाउने उद्देश्यसहित तयार गरिएको यो सुरुङमार्गलाई सतही सडकबाट आधुनिक भू–इन्जिनियरिङ र प्रविधिमा आधारित भूमिगत यातायात पूर्वाधारतर्फको ऐतिहासिक फड्कोसमेत मानिएको छ ।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङमार्ग आयोजनाको सम्पूर्ण भौतिक निर्माण, परीक्षण तथा सञ्चालन गर्ने कम्पनी छनोट सम्पन्न भइसकेको र अब सुरुङमार्ग सञ्चालन हुन मात्र बाँकी रहेको बताउनुभयो । उहाँले साउनभित्रै सुरुङमार्ग सञ्चालन हुने बताउनुभयो । आयोजना सञ्चालन समस्याका रूपमा खडा भएको सुरुङमार्गको पश्चिमी पोर्टल (धादिङतर्फ) को पहिरो व्यवस्थापनसमेत सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुङ सञ्चालनको अन्तिम तयारी पूरा भई तोकिएको सुरक्षा मापदण्ड लागु गरिएका छन् । साइकल, मोटरसाइकल, तीनपाङ्ग्रे सवारी र पेट्रोलियम पदार्थ जस्ता प्रज्ज्वलनशील वस्तु बोकेका सवारीसाधनलाई सुरुङभित्र प्रवेश निषेध गरिएको छ ।

उहाँले भन्नुभयो, “सुरुङमार्ग सञ्चालनको जिम्मेवारी पाएका कम्पनीले जनशक्ति परिचालित गरी तिनीहरूलाई तालिम दिइरहेका छन् । तालिम सम्पन्न भइसकेपछि सुरुङमार्ग सञ्चालनमा आउँछ । सुरुङमार्ग सञ्चालनका लागि प्रशासनिक, सुरक्षा र प्राविधिक गरी कुल १५० जना जनशक्ति खट्ने छन् ।

आयोजनाका निर्देशक नेपालले सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनसँग टोल शुल्क सङ्कलन गर्न सुरुङमार्गको काठमाडौँ र धादिङ दुवैतर्फ टोल प्लाजा निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै भन्नुभयो, “अहिले टोल प्लाजाको काम सकिएर त्यहाँ सफ्टवेयर जडान भइरहेको छ । शुल्क सङ्कलन प्रणालीको सम्पूर्ण भौतिक काम सम्पन्न भइसकेको छ । टोल उठाउने सफ्टवेयरसँग जोड्न (इन्ट्रिग्रेसन) का लागि सडक बोर्ड नेपालसँग अहिले समन्वय भइरहेको छ । त्यसै गरी टोलसँग सम्बन्धित प्रणालीलाई बैङ्कहरूसँग आबद्ध गर्ने कामसमेत भइरहेका छन् । यस आयोजनामा मुलुकमै पहिलो पटक स्वचालित रूपमा शुल्क सङ्कलन गर्ने व्यवस्था गरिएको छ ।” काठमाडौँतर्फ तीन वटा र सिस्नेखोला (धादिङ) तर्फ दुई वटा टोल प्लाजा निर्माण गरिएका छन् ।

उहाँका अनुसार सुरुङमार्ग सञ्चालनको ठेक्का नेपाली कम्पनी एआरटी र चिनियाँ कम्पनी युसिनले संयुक्त रूपमा पाएका छन् । ती कम्पनीले पाँच वर्षसम्मका लागि ठेक्का पाएका हुन् । ठेक्का पाएका कम्पनीले ठेक्का अवधिसम्म सुरुङमार्ग सञ्चालन क्रममा टोल उठाउने, आपत्कालीन उद्धार, सुरुङको मर्मतसम्भार, ट्राफिक व्यवस्थापनलगायतका साथै पूरै सुरुङको रेखदेखसमेत गर्नुपर्ने आयोजना निर्देशक नेपालले बताउनुभयो । त्यसै गरी सुरुङमार्गका पहुँचमार्गलगायतका अन्य संरचनाको समेत रेखदेख गर्नुपर्ने हुन्छ ।

आयोजना हस्तान्तरण 

सुरुङमार्ग निर्माण आयोजनाका आयोजना उपनिर्देशक सञ्जय पन्थीले निर्माण ठेक्का पाएका जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङमार्ग हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो ।

निर्माण कम्पनीले हस्तान्तरण गरिसकेपछि अब सुरुङमार्गको सम्पूर्ण जिम्मेवारी आयोजनाको काँधमा आएको उहाँको भनाइ छ । आयोजनाको काम सम्झौताको भन्दा झन्डै दोब्बर समयमा सम्पन्न भएको छ । सम्झौता अनुसार कुल ४२ महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न हुनुपर्नेमा निर्माण सुरु भएको ७९ महिनामा आयोजनाको काम सम्पन्न भएको हो ।

२५ अर्ब खर्च 

आयोजना उपनिर्देशक पन्थीले सो आयोजना सम्पन्न गर्न कुल करिब २५ अर्ब रुपियाँ खर्च भएको बताउनुभयो । उहाँका अनुसार निर्माणमा १७ अर्ब, डलरको भाउ बढ्दा तथा निर्माणसामग्रीको मूल्यवृद्धि हुँदा दुई अर्ब र जग्गा मुआब्जामा छ अर्ब रुपियाँ खर्च भएको हो । १९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋणको रकम हो भने जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारको हो । यो आयोजनाका लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गर्नु परेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको सडक यातायातको इतिहासमा व्यावसायिक प्रयोजनका लागि निर्माण भएको यो नै पहिलो आधुनिक र पूर्ण सुविधासम्पन्न सुरुङमार्ग हो ।  गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया