काठमाडौं । विभिन्न मुद्दा एवं एजेन्डामा विपक्षी दलहरू संसद्मा एकजुट जस्तो देखिए पनि पार्टीभित्रको आन्तरिक गुटबन्दी, नेतृत्वको कार्यशैलीप्रतिको असन्तुष्टि र ‘घर झगडा’ले झनझन कमजोर बन्दै गइरहेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकारविरुद्ध एकजुट भएर आवाज उठाइरहेका कांग्रेस, एमाले, नेकपासहितका पुराना दलहरूभित्रको आन्तरिक शक्ति संघर्ष उत्कर्षमा छ । जसका कारण संसद्मा बलियो विपक्षीजस्तो देखिए पनि भित्रभित्रै कमजोर बन्दै गएका छन् ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेससहित नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मधेसवादी दलहरूका साथै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत आन्तरिक शक्तिसंघर्ष जारी छ ।
पुराना भनिएका दलहरूमा नेतृत्व पुस्तान्तरण र हस्तान्तरण विषयलाई लिएर नेताहरूको घर झगडा झाँगिँदै गएको छ । नयाँ भनिएका रास्वपामा भागबन्डा नमिल्दा १२ पदाधिकारी, ५१ केन्द्रीय सदस्य मनोनीत लगायतका काम ओझेलमा परेको छ ।
रास्वपाका कतिपय नेता एवं सांसद बालेन सरकारसँग असन्तुष्ट छन् । जुन बेलाबेला सांसददेखि सडकसम्मै देखिएका छन् । सरकारको बचाउमा उत्रिनुपर्ने रास्वपा सांसदहरू आफ्नै पार्टीको सरकारका विरुद्धमा संसद्मै अभिव्यक्ति दिइरहेका छन् ।
कांग्रेस र एमालेभित्र नेतृत्वका लागि शक्तिसंघर्ष
मुलुकको पुरानो दल कांग्रेसभित्र १५आँै महाधिवेशनबाट नेतृत्व हत्याउन नेताहरूका बीचमा शक्तिसंघर्ष जारी छ । विशेष महाधिवेशनबाट सभापति भएका गगनकुमार थापादेखि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला समूहका बीचमा अहिले तीव्र शक्ति संघर्ष जारी छ ।
संस्थापनको नियमित बैठक, छलफल चल्दै गर्दा इतर पक्षका नेताहरूको समेत समानान्तर गतिविधि जारी छ । शुक्रवार खड्का निवासमा इतर पक्षको बैठक बस्यो । खड्का समूहको समेत नियमित बैठक, छलफल जारी नै छ । विशेष महाधिवेशनमा सहभागी नभएको खड्का, कोइराला समूहले आगामी महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने र त्यसअघि अहिलेको केन्द्रीय समितिमा सम्मानजनक सहभागिता हुनुपर्ने अडानमा छ ।
पार्टी सदस्यता र समायोजन विवादले कांग्रेस १५औँ महाधिवेशनसँगै विभाजन हुने सँघारमा समेत पुगेको छ । १४औँ महाधिवेशनका १११ केन्द्रीय सदस्यलाई वर्तमान समितिमा समायोजन गर्ने र क्रियाशील सदस्यता अद्यावधिक नगरी महाधिवेशन गर्ने इतर पक्षको मागलाई सभापति थापाले विधान विपरीत भन्दै अस्वीकार गरिदिएका छन् ।
एमालेमा अध्यक्ष केपी शर्मा ओली हटाउने अभियान चलिरहेको छ । विगतमा ओलीसँगै रहेका नेताहरू अहिले ओलीलाई हटाउने अभियानकर्ता भएका छन् । तर ओली अध्यक्ष पद अहिलेकै अवस्थामा छोड्न तयार छैनन् । युवा विद्यार्थी नेताहरूले जसरी पनि ओलीलाई अध्यक्षबाट हटाएर पार्टीलाई पुनर्गठन गर्नुपर्ने अभियान चलाइरहेका छन् ।
संसदीय निर्वाचनमा अनपेक्षित परिणाम बेहोरेपछि एमालेभित्र सांगठनिक संरचना र कार्यशैलीमाथि प्रश्न उठ्न थालेको हो । पार्टी महाधिवेशन र निर्णय प्रक्रियामा संस्थापन पक्षले एकलौटी गरेको तथा पुराना एवं स्थापित नेताहरूलाई भूमिकाविहीन बनाएको भन्दै आन्तरिक असन्तुष्टि समेत एमालेमा छ ।
एमालेभित्र अध्यक्ष ओलीको नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको माग गर्दै आन्तरिक विद्रोह तीव्र बनेको छ । निर्वाचनमा व्यहोरेको अनपेक्षित परिणामपछि रक्षात्मक बनेको पार्टीभित्र युवा नेताहरूले सुरु गरेको ‘पुनर्जागरण अभियान–२०८२’ ले गत बिहीबार सार्वजनिक गरेको मत सर्वेक्षण प्रतिवेदनले एमाले वृत्तमा नयाँ तरंग पैदा गरेको छ ।
पार्टी रूपान्तरण र पुनर्संरचनाका लागि देश तथा विदेशका १४ देशमा रहेका एमालेका संगठित सदस्य, समर्थक र स्वतन्त्र नागरिकहरूमाझ गरिएको विशेष डिजिटल सर्वेक्षणमा सहभागी ८७.६ प्रतिशतले तत्काल नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा स्पष्ट मत जाहेर गरेका छन् ।
सार्वजनिक प्रतिवेदन अनुसार एमाले पङ्क्तिभित्र वर्तमान नेतृत्वको कार्यशैली र व्यवहारप्रति व्यापक असन्तुष्टि चुलिएको छ । सर्वेक्षणमा सहभागी ९५.४ प्रतिशतले नेतृत्वको आचरण र व्यवहार सुध्रिनुपर्ने माग गरेका छन् भने ९१.४ प्रतिशतले हालकै अवस्था र कार्यशैलीमा पार्टी अगाडि बढ्न नसक्ने भन्दै आमूल रूपान्तरणको विकल्प नरहेको औँल्याएका छन् ।राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया