असार ३०, २०८३ मंगलबार July 14, 2026

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखेर तर्साउने प्रयास

गाडी राख्ने व्यक्ति प्रशासनकै सवारीमा गएको जानकारी आफूले पाएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विभिन्न सञ्चार माध्यम (मिडिया) का कार्यालय अगाडि शंकास्पद गाडी राखेर तर्साउने प्रयास भएको छ । अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसका कार्यालय अगाडि सोमबार बिहान शंकास्पद गाडी पार्किङमा राखेर तर्साउने प्रयास भएको हो । ती गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्नेगरी पार्किङ गरिएको थियो । एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको थियो । कार्यालय अगाडि शंकास्पद तरिकाले गाडी पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउस अगाडि राखिएका गाडी प्रहरीले क्रेन लगाएर उठाएको थियो । शंकास्पद कारलाई प्रहरीले बग्गीखाना लगेको छ ।

शंकास्पद गाडीलाई कार्यालयमा ल्याएर छानविन गर्ने र सत्यतथ्य पत्ता लगाउने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी तथा प्रवक्ता पवन भट्टराईले बताउनुभयो । कसले र किन यस्तो गर्‍यो भन्नेबारे पनि अनुसन्धान हुने उहाँले बताउनुभयो । मिडिया हाउस अगाडि मात्रै होइन, काठमाडौंको अनामनगरस्थित भाटभटेनीमा पनि शंकास्पद गाडी राखिएको थियो । त्यसलाई पनि प्रहरीले हटाएको छ । यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित घर अगाडि पनि शंकास्पद गाडी राखिएको थियो । थापाको घर अगाडि मोटरसाइकलसमेत निस्किन नमिल्ने गरी गाडी राखिएको हो । यसअघि दुई हप्ता अघि बाह्रखरी डटकमको कार्यालय अगाडि पनि आवतजावत नै असहज हुनेगरी सवारी पार्किङ गरिएको थियो ।

मिडिया हाउस अगाडि कसले र किन गाडी राख्यो भन्ने खुलेको छैन । जसले राखे पनि मनोवैज्ञानिक रूपमा मिडियालाई दबाबमा राख्न यसो गरिएको हुनसक्ने सरोकारवालाहरूको भनाइ छ । सुकुम्बासीका होल्डिङ सेन्टरको कमजोर व्यवस्थापन, गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको विषयमा समाचार आएपछि मिडिया हाउसमाथि दबाब बढाउन यस्तो गरिएको आशंका गरिएको छ । मिडियाहरूको आवतजावतमा अवरोध गर्नेगरी शंकास्पद रूपमा पार्किङ गरिएको घटनाको सरोकारवालाहरूले चासो प्रकट गरेका छन् । पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको उल्लेख गरेको छ । महासंघ अध्यक्ष निर्मला शर्मासहित टोलीले अनलाइन खबर र कान्तिपुरलगायत हाउसमा गएर स्थितिको निरीक्षण गरेको थियो ।

यसअघि वर्तमान सरकार बनेलगत्तै सरकारले सरकारी विज्ञापन निजी छापा माध्यममा प्रकाशन गर्न नपाउने निर्णय गरेको थियो । सरकारी विज्ञापन सरकारी लगानीका सञ्चार माध्यममा मात्रै प्रकाशन/प्रसारण गर्न पाउने नियम बनाएर सरकारले धेरै निजी मिडियामाथि आर्थिक नाकाबन्दी गर्ने प्रयास गरेको आरोप लाग्दै आएको छ । यसबारेको रिट अदालतमा विचाराधीन छ ।

शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताको ठाडो उल्लंघन : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न सञ्चार माध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आमसञ्चार माध्यममा प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महामन्त्री विपिन आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै मिडियालाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताका ठाडो उल्लंघन भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको छ ।’
कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू किमार्थ स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ ।

यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानविन गरी सम्पूर्ण सञ्चार माध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । सञ्चार जगत्लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन विज्ञप्तिमा अपिलसमेत गरिएको छ ।

यता, रास्वपाका पूर्वकेन्द्रीय सदस्य मधुसूदन ढकालले भने ‘अव्यवस्थित पार्किङ’ले कति गाह्रो पर्नसक्छ भनेर सांकेतिक जानकारी दिन विभिन्न सञ्चार माध्यमका गेट अगाडि गाडी राखिएको हुनसक्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ढकाल भन्नुहुन्छ, ‘पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गाह्रो पर्नसक्छ भनेर सांकेतिक जानकारी दिएको पनि हुनसक्छ । अर्को कुरा जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा अरूलाई कति अप्ठेरो पर्छ थाहा दिएको पनि हुनसक्छ ।’

सरकार आफैँले गरेको जस्तो देखिन्छ : थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो घरअघि सवारीसाधन राखेर आफूलाई तर्साउने प्रयास गरिएको आरोप लगाउनुभएको छ । उहाँले गाडी राख्ने व्यक्ति प्रशासनकै सवारीमा गएको जानकारी आफूले पाएको दाबी गर्दै यसमा सरकारकै संलग्नता रहेको आशंका व्यक्त गर्नुभयो । पार्टीको एक कार्यक्रममा बोल्दै थापाले आफू पहिले बस्ने घर रहेको स्थानको प्रवेशद्वारमा बिहान करिब ७ बजे दुई जनाले गाडी ल्याएर राखेको बताउनुभयो । स्थानीयले दिएको जानकारीअनुसार गाडी राख्ने व्यक्ति प्रशासनको गाडी चढेर गएको उहाँको भनाइ थियो । ‘त्यो ठाउँमा अहिले मेरो घर छैन । बिहान दुई जनाले गाडी ल्याएर राखेछन् । स्थानीय साथीहरूले भनेअनुसार गाडी राख्ने व्यक्ति प्रशासनकै गाडी चढेर गएको छ । यस्तो काम सरकार आफैँले गरेको जस्तो देखिन्छ’, उहाँले भन्नुभयो ।

थापाले सरकारले आलोचना गर्ने र प्रश्न उठाउनेहरूको आवाज दबाउने प्रयास गरिरहेको आरोप पनि लगाउनुभयो । ‘प्रश्न गर्नेहरूको प्रश्न बन्द गरिदिऊँ भनेर सरकार आफैँ लागिरहेको छ । तर, यस्ता गतिविधिले हाम्रो हक वा हिम्मत कसैले खोस्न सक्दैन’, उहाँले भन्नुभयो ।
उहाँले घरअघि गाडी राखिएको घटनालाई व्यक्तिगत विषय नभई आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्नुभयो । ‘आज मेरो घर अगाडि गाडी राखिएको होइन, मेरो मुख थुन्न खोजिएको हो । यो तर्साउने प्रयास हो । प्रश्न गरिस् भने खबरदार भन्ने सन्देश दिन खोजिएको हो’, उहाँले आरोप लगाउनुभयो । थापाले सरकारको गलत कामको कांग्रेसले आवश्यक ठाउँमा आलोचना गरिरहने पनि स्पष्ट पार्नुभयो ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया