काठमाडौँ, साउन १४ गते । पाटेबाघ संरक्षणका लागि नेपाल अब्बल भूमि साबित भएको छ । पाटेबाघको सङ्ख्या फेरि बढेसँगै नेपाल पाटेबाघ संरक्षणका लागि अब्बल साबित भएको हो । नेपालमा पाटेबाघको सङ्ख्या वृद्धि हुँदै ४२९ पुगेको छ ।
सन् २०२२ को गणनामा नेपालमा ३५५ वटा पाटेबाघ थिए । बाघ बढेसँगै संरक्षण र व्यवस्थापन चुनौती पनि बढेको छ । गत वर्ष पुसदेखि छ महिनासम्म क्यामरा ट्र्यापिङ विधिबाट नेपालमा पाटेबाघ गणना भएको थियो । जस अनुसार चार वर्षको अन्तरालमा ७४ वटा बाघ थपिएको हो । विश्व बाघ दिवसका अवसर पारेर सरकारले गत वर्ष भएको बाघ गणनाको नतिजा बुधबार सार्वजनिक गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा भएको गणना अनुसार संरक्षण क्षेत्रमा बाघको वर्चस्व राम्रो रहेको पाइए पनि बाघको जनसङ्ख्या वृद्धिदर भने निकै कम देखिएको विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले बताउनुभयो । उहाँका अनुसार सन् २०२२ अर्थात् २०७८ सालमा ५१ प्रतिशत रहेको बाघको सङ्ख्या वृद्धिदर यस पटक घटेर २१ प्रतिशतमा झरेको हो ।
तथापि बाघ हस्तान्तरण गरिएका स्थानमा भने वृद्धिदर सन्तोषजनक देखिएको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १४५, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ फेला परेका छन् । विगतमा अन्यत्र बाघको सङ्ख्या बढाउनकै लागि चितवनबाट जोहीसहित बाँके र शुक्लाफाँटामा बाघ स्थानान्तरण गराइएको थियो । ढकालले भन्नुभयो, “जसले यस पटक ती क्षेत्र र कमजोर मानिएको पर्सामा समेत बाघ बढेको पाइएको हो ।”
किन घट्यो वृद्धिदर ?
बाघको वृद्धिदर घट्नुमा आहरा प्रजाति, बासस्थान, मानव अतिक्रमण बाघको उमेरजन्य अवस्था कारक रहेको अनुमान महानिर्देशक पौडेल गर्नु हुन्छ ।
उहाँले भन्नुभयो, “आहरा प्रजाति बढ्दा बाघको सङ्ख्या बढ्ने गर्छ भने अर्कोतर्फ घटेको आहराकै आँकडाले फेरि बाघको वृद्धि सङ्ख्या कमजोेर बनाउन सघाइरहेको हुन्छ, यो प्रकृतिको नियमै हो, जसलाई सन्तुलित पारिस्थितिक प्रणालीका रूपमा हेर्नु पर्छ ।” बाघ बढेका क्षेत्रमा प्रमुख संरक्षण क्षेत्रभन्दा बाहिर ३६ वटा बाघ विचरण गरिरहेको भेटिएको छ । जसले मध्यवर्ती क्षेत्रमा मानव र बाघबिचको द्वन्द्व भविष्यमा उच्च हुने सङ्केत पनि गरेको उहाँहरूले औँल्याउनुभयो । त्यसअघि २०७४ को गणनाले नेपालमा २३५ र २०७४ मा १९८ र त्यसअघि १२१ बाघ रहेको पाइएको थियो ।
अब बाघ व्यवस्थापनमा जोड दिऊँ
कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले अब बढेका बाघ व्यवस्थापन गर्नुपर्ने बेला आएको बताउनुभयो । विश्व बाघ दिवसका अवसरमा बाघ गणना नतिजा सार्वजनिक समारोहमा बुधबार बोल्दै मन्त्री चौधरीले भन्नुभयो, “हालको प्राथमिकता बाघको सङ्ख्या वृद्धि मात्र नभई यसको व्यवस्थापन पनि हो, बढ्दो बाघ सङ्ख्यासँगै मानव–बाघ द्वन्द्वका घटना बढेका छन् ।”
सरकारले समस्याग्रस्त बाघको उद्धार, नियन्त्रण र होल्डिङ सेन्टरमा व्यवस्थापन गर्दै, पीडित परिवारलाई राहत उपलब्ध गराउँदै आएको जानकारी दिँदै उहाँले दीर्घकालीन व्यवस्थापनका लागि चिडियाखाना र बाघ संरक्षण क्षेत्रलगायतका विकल्प अध्ययन भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले गणनाको नयाँ तथ्य अनुसार भविष्यको संरक्षणका लागि नीति र योजनाका लागि थप अध्ययन गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “संरक्षणलाई कसरी देशको आर्थिक वृद्धि र विकाससँग जोड्न सकिन्छ, त्यसतर्फ अघि बढ्ने बेला आएको छ ।”
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. चिरञ्जीवी पोखरेलले बाघ संरक्षणलाई बहुआयामिक पक्षबाट नियाल्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै अन्य संरक्षणकर्मीले बाघ बढेसँगै मानव–बाघ द्वन्द्वको सम्भावना बढेकाले न्यूनीकरणका लागि बेलैमा नयाँ उपाय खोजी गर्नुपर्नेमा जोड दिनुभएको थियो । गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया