काठमाडौं । राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रबाट भट्टराईलाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता एसएसपी अनुपमसमशेर जबराका अनुसार नेपालबाट शरणार्थीलाई तेस्रो मुलुक जान अनुमति दिने प्रक्रियामा भट्टराईको प्रत्यक्ष संलग्नता देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित राहदानी तथा अध्यागमन प्रक्रियाको दुरुपयोग भएको आशंकामा विस्तृत अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेका भट्टराईमाथि राहदानीसम्बन्धी कसुर तथा अन्य सम्भावित कानुनी पक्षबारे पनि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
यो प्रकरणमा शरणार्थीलाई गैरकानुनी रूपमा तेस्रो मुलुक पठाउने कार्यमा सरकारी संयन्त्रको संलग्नता रहेको आशंकापछि अनुसन्धानलाई तीव्र बनाइएको छ। अनुसन्धानका क्रममा प्राप्त प्रमाणका आधारमा आवश्यक परे अन्य व्यक्तिमाथि पनि कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया