काठमाणौं । नेपाली कांग्रेसले मुलुकमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल ग्यासको आयात दोब्बर बढाएर पर्याप्त भण्डारण सुनिश्चित गर्न माग गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकले सोमबार ग्यास आपूर्ति, ऊर्जा नीति, कृषि, महँगी तथा सुशासन लगायत विषयमा सरकारको आलोचना गर्दै विभिन्न निर्णय गरेको हो ।
कांग्रेसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली प्रभावित भएका बेला नेपालमा ग्यासको अभाव हुन नदिन सिलिण्डरमा ७.१ किलो ग्यास भरेर बजार सहजीकरण गरिएको स्मरण गर्दै हाल पर्याप्त अध्ययन र पूर्वतयारीबिना १४.२ केजी ग्यास भर्न निर्देशन दिइएको आरोप लगाएको छ । यस्तो निर्णयले बजारमा ग्यासको अभाव थप गम्भीर बनेको कांग्रेसको दाबी छ ।
कांग्रेसले सरकारलाई तत्काल कूटनीतिक पहल गरी ग्यास आयात दोब्बर बनाउन, पर्याप्त स्टक राख्न तथा आपूर्ति सञ्जाल व्यवस्थित र सहज बनाउन माग गरेको छ । तदर्थवादी निर्णय बन्द गरी खाना पकाउने ग्यासको सुलभ र निरन्तर उपलब्धता सुनिश्चित गर्न आग्रह गरेको छ ।
कांग्रेसले ग्यासको विकल्पका रूपमा विद्युत् खपत बढाउने दीर्घकालीन नीति आवश्यक रहेको जनाएको छ । विद्युत् खपतमा लगाइएका अतिरिक्त कर हटाउन तथा इन्डक्सन चुलोलगायत विद्युतीय उपकरणमा पुन: सहुलियत दिन सरकारसँग माग गरिएको छ ।
पार्टीले विगतका सरकारले आन्तरिक विद्युत् खपत बढाउँदै ग्यासको प्रयोग क्रमश: विस्थापन गर्ने नीति लिएको उल्लेख गर्दै स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने स्पष्ट ऊर्जा नीति तत्काल लागू गर्नुपर्ने जनाएको छ ।
कांग्रेसले कृषि क्षेत्रमा रासायनिक मलको अभाव, कालोबजारी र बिचौलियाको समस्या समाधान गर्न पनि सरकारसँग माग गरेको छ । मुख्य बाली लगाउने समयमा किसानले सहज रूपमा अनुदानको मल पाउन नसकेको भन्दै मलको आपूर्ति सुनिश्चित गर्न माग गरिएको छ ।
कालोबजारी र बिचौलियाको अन्त्य गर्दै साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने व्यवस्था गर्नुपर्ने कांग्रेसको माग छ । सीमावर्ती क्षेत्रका किसानले भोग्दै आएको समस्याको स्थायी समाधान खोज्न पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले ग्यास अभाव, विद्युत्मा कर वृद्धि र आपूर्ति व्यवस्थापन कमजोर हुँदा खाद्य सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको जनाएको छ । सरकारले सुशासन, मूल्य नियन्त्रण र नागरिकका समस्या समाधान गर्ने विषयमा दिएका आश्वासन कार्यान्वयन हुन नसकेको कांग्रेसको आरोप छ ।
पार्टीले दैनिक उपभोग्य वस्तुको अनियन्त्रित मूल्यवृद्धि रोक्न, आपूर्ति व्यवस्थालाई प्रभावकारी र पारदर्शी बनाउन तथा बजार अनुगमन तीव्र पार्न माग गरेको छ । आमनागरिक, किसान, मजदुर तथा विपन्न वर्गको जीविकोपार्जन सहज हुने गरी ठोस राहत कार्यक्रम ल्याउन पनि सरकारसँग आग्रह गरेको छ ।
बैठकमा सोमबार २२ जना केन्द्रीय सदस्यले विभिन्न विषयमा धारणा राखेका थिए । छलफल भने जारी रहेको कांग्रेसले जनाएको छ ।
बैठकमा राजीव कोइराला, भरतकुमार शाह, दिलकुमारी राई, शम्भुलाल श्रेष्ठ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमला, डा. केदारनरसिंह केसी, तीर्थजंग शाही, बजरंग नेपाली, उमा दाहाल, पवित्राकुमारी अर्याल, केशवराज शर्मा आचार्य, धर्मबहादुर दर्जी नेपाली, सूर्यबहादुर विक, दिनेश सुनार, उमा शिवाकोटी, बाला अधिकारी, सम्झना खत्री, रामरूपप्रसाद कुर्मी, नरेन्द्रप्रसाद भट्ट र केन्द्रीय सदस्य एवं मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले धारणा राखेका थिए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २६ गते मंगलबार बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुन: बस्ने जनाइएको छ ।


युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया