काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ । पार्टीको आधिकारिकता र नेतृत्वसम्बन्धी विवाद समाधान हुन नसकिरहेका बेला संस्थापनइतर समूहले १५औँ महाधिवेशनका लागि आफ्नै कार्यतालिका प्रस्ताव गर्दै तयारीलाई तीव्रता दिएको हो । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को आयोजनामा बैठक सुरु भएको हो ।
बुधबार काठमाडौंको चुनदेवीस्थित संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशनको सम्भावित कार्यतालिकाबारे छलफल गरेको हो । बैठकमा आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव अघि सारिएको नेताहरूले बताएका छन् ।
प्रस्तावित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते तथा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने तयारी छ । त्यसैगरी, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव गरिएको छ । सबै तहका अधिवेशन सम्पन्न गरेपछि मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव इतर समूहमा छलफल भइरहेको छ ।
संस्थापन पक्षसँग समानान्तर तयारी
नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने मिति निर्धारण गर्दै आन्तरिक तयारी अघि बढाइरहेका बेला संस्थापनइतर समूहले भने त्यससँग अलग्गै कार्यतालिका अघि सारेको हो । यसले कांग्रेसभित्रको विभाजन थप गहिरिँदै गएको संकेत गरेको छ ।
पार्टीभित्र लामो समयदेखि देखिएको नेतृत्व, संगठन र आधिकारिकतासम्बन्धी विवाद समाधान हुन नसकेपछि कांग्रेसका दुवै पक्ष आ-आफ्नो ढंगले महाधिवेशनको तयारीमा जुटेका छन् । विशेषगरी गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टी व्यवहारतः दुई धारमा विभाजित भएको अवस्थामा छुट्टाछुट्टै महाधिवेशनको तयारीले विवादलाई नयाँ चरणमा पुर्याएको छ ।
संस्थापनइतर समूहले प्रस्ताव गरेको कार्यतालिका तत्काल अन्तिम निर्णय भने होइन । शीर्ष नेताहरूबीचको छलफलपछि कार्यतालिकालाई आवश्यक परिमार्जनसहित औपचारिक रूपमा अघि बढाउने तयारी रहेको बताइएको छ । अधिवेशनका विभिन्न तहमा प्रतिनिधित्व, संगठनको वैधानिकता तथा महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वलगायत विषयमा पनि थप छलफल आवश्यक रहेको नेताहरूको भनाइ छ ।
आधिकारिकता विवाद सर्वोच्चमा
नेपाली कांग्रेसको आधिकारिकता विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा विवाद निरूपण हुन बाँकी रहेकै अवस्थामा दुवै पक्षले आ-आफ्नो सांगठनिक गतिविधि अघि बढाउँदै महाधिवेशनको तयारी थालेका हुन् ।
विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको विवादले कांग्रेसको संगठनात्मक संरचनादेखि नेतृत्व चयनसम्म प्रभाव पारेको छ । विवाद समाधान गरेर एउटै महाधिवेशन गर्ने वातावरण बन्न नसके दुवै पक्षले छुट्टाछुट्टै अधिवेशन गर्नसक्ने अवस्था देखिएको छ ।
संस्थापनइतर समूहको पछिल्लो बैठकले यही सम्भावनालाई ध्यानमा राखेर आफ्नो सांगठनिक तयारीलाई संस्थागत रूपमै अघि बढाउने संकेत गरेको छ । प्रस्तावित मितिअनुसार अधिवेशनहरू अघि बढेमा असोजदेखि नै कांग्रेसभित्र तल्लो तहदेखि केन्द्रीय नेतृत्व चयनको प्रक्रिया समानान्तर रूपमा सञ्चालन हुनेछ ।
महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक बहसमा आएसँगै कांग्रेसभित्र भावी नेतृत्वलाई लिएरसमेत चासो बढेको छ । वडा तहदेखि केन्द्रसम्म हुने अधिवेशनले पार्टीको आगामी नेतृत्व र शक्ति सन्तुलन निर्धारण गर्ने भएकाले दुवै पक्षले आफ्नो संगठनलाई बलियो बनाउने प्रयास गरिरहेका छन् ।
तर, अदालतमा विचाराधीन आधिकारिकता विवाद, विशेष महाधिवेशनको वैधानिकता तथा दुवै पक्षबाट अघि बढाइएका समानान्तर सांगठनिक गतिविधिले आगामी महाधिवेशनको स्वरूप कस्तो हुने भन्ने विषय अझै अनिश्चित छ ।
संस्थापनइतर समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सार्नुले कांग्रेसभित्र विवाद समाधानभन्दा पनि आ-आफ्नै संगठनात्मक प्रक्रियाबाट अघि बढ्ने तयारी बलियो हुँदै गएको देखिएको छ । अब अदालतको फैसला, दुवै पक्षबीच हुने राजनीतिक संवाद र पार्टीभित्रको शक्ति समीकरणले कांग्रेसको महाधिवेशन एकीकृत रूपमा हुने वा छुट्टाछुट्टै हुने भन्ने टुंगो लगाउनेछ ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया