काठमाडौं, भदौ १८ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–७, तुप्चेलगायतका क्षेत्रमा राहत सामग्री वितरण गर्न लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको टोली प्रभावित बस्तीमा पुगेको छ।
बाढीका कारण घर, सडक तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई सहयोग गर्ने उद्देश्यले डिस्ट्रिक्टको टोली आवश्यक राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको हो। क्षतिग्रस्त सडक, पहिरो तथा जोखिमपूर्ण बाटोको सामना गर्दै टोलीले करिब ९ घण्टाको कठिन यात्रा पूरा गरेर बाढी प्रभावित समुदायसम्म राहत पुर्याएको डिस्ट्रिक्टले जनाएको छ।
विपद्का कारण प्रभावित परिवारहरू कठिन परिस्थितिमा जीवनयापन गरिरहेका बेला उनीहरूको पीडामा साथ दिन राहत अभियान सञ्चालन गरिएको डिस्ट्रिक्टको भनाइ छ। तत्काल आवश्यक सामग्री उपलब्ध गराउनुका साथै प्रभावित नागरिकलाई विपद्को समयमा आफूहरू एक्लो नभएको अनुभूति दिलाउनु अभियानको मुख्य उद्देश्य रहेको जनाइएको छ।
डिस्ट्रिक्टले राहत वितरणलाई केवल राहत सामग्री हस्तान्तरण गर्ने कार्यका रूपमा मात्र नभई विपद्को समयमा प्रभावित नागरिकसँग ऐक्यबद्धता र मानवीय साथ प्रदर्शन गर्ने अभियानका रूपमा लिएको जनाएको छ।
प्रभावित परिवारको घरदैलोमै पुगेर उनीहरूको समस्या बुझ्ने र सम्भव भएसम्म आवश्यक सहयोग उपलब्ध गराउने लायन्सको मूल भावना रहेको डिस्ट्रिक्टले उल्लेख गरेको छ।
“हामीले उपलब्ध गराएको राहत सामग्रीले सबै समस्या समाधान गर्न नसक्ला, तर पीडित परिवारलाई उनीहरू एक्ला छैनन् भन्ने अनुभूति दिलाउने विश्वास लिएका छौँ,” डिस्ट्रिक्टले जनाएको छ।
बाढी तथा पहिरोका कारण सडक तथा यातायातका मार्गहरू क्षतिग्रस्त हुँदा प्रभावित बस्तीमा राहत सामग्री पुर्याउन समेत कठिनाइ भइरहेको अवस्थामा लायन्सको टोलीले जोखिमपूर्ण बाटो पार गर्दै राहत पुर्याएको हो।
डिस्ट्रिक्ट ३२५ के नेपालले विपद्को समयमा मानवता नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै राहत अभियान सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
राहत अभियानमा सहयोग गर्ने लायन लिडर, विभिन्न लायन्स क्लब परिवार, रञ्जना ट्रेड सेन्टरका व्यवसायी, सहयोगी संस्था तथा प्रत्यक्ष रूपमा राहत कार्यमा खटिएका स्वयंसेवकहरूप्रति डिस्ट्रिक्टले विशेष धन्यवाद व्यक्त गरेको छ।
विपद्का बेला प्रभावित समुदायको आवश्यकता पहिचान गरी तत्काल सहयोग पुर्याउन विभिन्न क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण हुने डिस्ट्रिक्टको भनाइ छ। राहत सामग्री संकलनदेखि प्रभावित बस्तीमा पुर्याउने र वितरण गर्ने कार्यमा संलग्न सबैको योगदानप्रति डिस्ट्रिक्टले प्रशंसा गरेको छ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले प्राकृतिक विपद् तथा मानवीय संकटका बेला आवश्यकतामा रहेका समुदायसम्म सेवा लिएर पुग्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
डिस्ट्रिक्टले राहत अभियानलाई आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार निरन्तरता दिने जनाएको छ। विपद्बाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा सामान्य जीवनयापनमा सहयोग पुर्याउन सामाजिक संघसंस्था, स्थानीय समुदाय तथा सहयोगी निकायबीच सहकार्य आवश्यक रहेकोमा समेत जोड दिइएको छ।
“हाम्रो यात्रा ९ घण्टाको थियो, तर सेवाको भावना अनन्त छ। जहाँ दुःख छ, त्यहाँ लायन्स पुग्छ।” डिस्ट्रिक्टले जारी गरेको सन्देशमा उल्लेख छ।
बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा अझै पनि राहत, पुनःस्थापना तथा आधारभूत सेवाको आवश्यकता रहेको अवस्थामा लायन्ससहित विभिन्न सामाजिक संस्था तथा स्वयंसेवी समूहहरूले राहत तथा मानवीय सेवाका गतिविधि सञ्चालन गरिरहेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया