देवीघाट (नुवाकोट), भदौ २५ गते । नुवाकोटको त्रिशूली र तादी नदीको सङ्गमस्थल विदुर नगरपालिकाको निकै चहलपहल हुने देवीघाट बजार अहिले चकमन्न छ । त्यहाँ अहिले बजारनजिकै ढुङ्गामा कुँदिएको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक मात्रै सग्लो छ । यही भदौ १० गते आएको भोटेकोशी हिमबाढीले वितण्डा मच्चाएपछि देवीघाट बजार खण्डहरमा परिणत भएको छ । त्यहाँ भएका रुखसमेत सग्ला छैनन् ।
कल्पना नै नगरेको बाढीले अधिकांश घर पुरिएपछि तीन सयभन्दा बढी विस्थापित परिवारले नजिकैको होल्डिङ सेन्टरमा आश्रय लिएका छन् । लाखौँको सम्पत्ति रातारात रित्तिएपछि बाढीबाट बाँच्न सफल देवीघाट र ढुङ्गे बजारका बासिन्दा अब अर्कै ठाउँ सर्न चाहन्छन् । बर्सौं यहीँ जीवन बिताएकाको पनि मन अडिन सकेको छैन बगरमा बदलिएको बजारमा । फेरि पनि यस्तै विपत् आउन सक्ने भएकाले उनीहरू उचित ठाउँमा स्थानान्तरण हुन चाहन्छन् । होल्डिङ सेन्टरमा बसेको १५ औँ दिन पुग्दै गर्दा विस्थापित परिवार व्यवस्थित पुनस्र्थापनाको पर्खाइमा छन् ।
बर्सौंदेखि धार्मिक, पर्यटकीय र व्यापारिक केन्द्रका रूपमा स्थापित देवीघाट बगरमा परिणत भएपछि अन्त कतै पुनस्र्थापना हुने पखाईमा छ । देवीघाटमा टेलरिङ चलाएर घरखर्च चलाउँदै आएकी चमेली श्रेष्ठ नजिकै रहेको चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा एकसरो लुगामा बस्दै आउनुभएको छ । राहत सामग्री प्राप्त भएकाले तत्काल खान र बस्न समस्या नभए पनि दीर्घकालीन रूपमा छोराछोरी पढाउन र दैनिक जीवन कसरी चलाउने भन्ने कुराले उहाँलाई पिरोल्न थालेको छ । “मैले जग्गाजमिन बेचेको पैसा र जीवनभर कमाएको पैसाले अढाईतले घर बनाएँ । जीवन निर्वाह गर्न घरमा टेलरिङ चलाएँ । बाढीले घरसँगै सिलाउने मेसिन, लत्ताकपडा, पकाउने भाँडाकुँडा सबै बगायो । अब शरीरमा एकसरो लुगा मात्रै बाँकी छ,” गहभरि आँसुको बाढी बगाइरहेकी श्रेष्ठले भन्नुभयो, “अब छोराछोरी कसरी पढाउने ? कहाँ गएर ओत लाग्ने ? के गरेर जीवन चलाउने सोच्दासमेत रिँगटा चल्छ ।”
बाढीले सम्पूर्ण देवीघाट बजार नै बस्न अयोग्य बनाएपछि हिजोआज जोकोहीले देवीघाटबारे सोध्नेबित्तिकै उहाँ भक्कानी हाल्नुहुन्छ । अब राज्यले देवीघाटको नामनिसाना नदेखिने गरी अन्त कतै घर बनाएर पुनस्र्थापना गरिदियोस् भन्ने उहाँको चाहना छ ।
यस्तै पीडामा हुनुहुन्छ देवीघाटकै चारतले घरका मालिक राजाराम पुडासैनी पनि । उहाँको घरको तीन तलासम्म हिलो, माटो र गेग्य्रानले पुरिएको छ । “घरको सामान केही निकाल्न पाइएन । मैले स्टेसनरी चलाएर जीवन चलाउँथे । मेरो शरीरमा भएको लुगाबाहेक घरबाट केही निकाल्न पाइनँ । परिवारका सदस्य घरबाहिर भएकाले आफू स्कुटरमा भागेर ज्यान जोगाएँ,” उहाँले दुःखेसो
पोख्नुभयो, “स्टेसनरीमा भएका १०/१५ लाखका किताब, कापी सबै बगायो । घरको २५ तोला सुनसहित नगद सबै बगायो ।” उहाँलाई अब छोरीको नर्सिङ अध्ययन कसरी पूरा गराउने भन्ने विषयले पिरोल्न थालेको छ । भारतको बैङ्लुरुमा बिएससी पढाउन पहिलो किस्ताको भर्ना शुल्क बुझाएका पुडासैनी छोरीको पढाइलाई निरन्तरता दिन निकै कठिन छ ।
छोरीको पढाइ रोकिने चिन्ता भएपछि उहाँले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई मङ्गलबार भेटेर दुःखेसो सुनाउनुभयो । देवीघाटमा फेरि पनि दुःख आइपर्न सक्ने भएकाले अन्त कतै पुनस्र्थापना गरिनुपर्ने उहाँको पनि धारणा छ । वृद्धा कान्छी नेपालीका श्रीमान्ले दुःखजिलो गरेर एकतले घर बनाए पनि सबै बाढीले बगायो । उहाँले श्रीमान् नहुँदाको पीडा त्यसैमा घरसँगै सर्वस्व बगाएपछि मरेतुल्य जस्तै भएको सुनाउनुभयो । देवीघाट जस्तै खण्डहर भएको ढुङ्गे बजारका जनक अधिकारीको चारतले घर बाढीले बगायो । उहाँ बचेखुचेका भाँडाकुँडा खोजेर धारामा पखाल्दै हुनुहुन्थ्यो । बाढीले घरसहित जीवनभरको कमाइ बगाएपछि कसैसँग बोल्ने जाँगरसमेत नभएको भन्दै उहाँले पीडा सुनाएर के हुन्छ र भन्दै प्रतिप्रश्न गर्नुभयो ।
ढुङ्गे बजारका झन्डै दुई सय घरपरिवार विस्थापित भएपछि उहाँले काठमाडौँमा भाइको घरमा आश्रय लिइरहनुभएको छ । ढुङ्गे बजार व्यापारिक केन्द्र भए पनि फेरि बाढीले वितण्डा मच्चाउन सक्ने भएकाले राज्यले सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने उहाँको पनि मत छ ।
ढुङ्गे बजारकै रामहरि रिजालको पाँचतले घर तीन तलासम्म हिलैहिलोले भरिएर बस्नै नमिल्ने बनाएको छ । बाढीले दुई तलासम्म बस्न नमिल्ने बनाए पनि माथिल्लो तलामा बस्न मिल्छ कि भन्दै उहाँ सफाइ गर्दै हुनुहुन्थ्यो । बाढीले नसोचेको क्षति गरेकाले अब ढुङ्गे बजारलाई पुरानै स्वरूपमा फर्काउन नसकिने उहाँको भनाइ छ । देवीघाट र ढुङ्गे बजारका अधिकांश विस्थापित परिवारले राज्यले नै सुरक्षित ठाउँमा स्थानान्तरण गरेर राख्नुपर्ने धारणा राख्ने गरेका छन् । नुवाकोटका विद्यालयसहित सङ्घ संस्थाका विभिन्न २० होल्डिङ सेन्टरमा दुई हजार २० जनाले आश्रम लिएका छन् । जसमा एक हजार ४१ महिला र ९७९ पुरुष छन् । होल्डिङ सेन्टरमा चाउचाउ, बिस्कुट, दालमोट, पानी, दाल, चामललगायतका खाद्यान्न राज्य र समाजसेवीका तर्फबाट पुग्ने गरेको छ ।
नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बाढी प्रभावित व्यक्तिलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएकाले सबैको विवरण लिएपछि पुनस्र्थापनाको चरणमा प्रवेश गरिने बताउनुभयो । सङ्घीय सरकारको सहयोगमा प्रदेश र स्थानीय सरकारको समन्वयमा बाढी विस्थापित परिवारलाई स्थानान्तरण गरिने उहाँले बताउनुभयो । “हामीले बाढी विस्थापित परिवारको स्थानीय तहको वडाबाट डाटा लिइरहेका छौँ । कति परिवारका कति जना प्रभावित भए ? कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सवालमा अध्ययन हुने छ,” उहाँले भन्नुभयो, “स्थानान्तरण गर्ने परिवार कति हुन्छ, कतिलाई क्षतिपूर्ति दिने सबै अध्ययन भएपछि स्थानान्तरणका लागि स्पेस खोजिने छ ।” अब होल्डिङ सेन्टरबाट विस्तारै भाडामा राखेर व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया